काठमाडौं, पौष ८ । काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।
पाँच टिमले सहभागिता जनाएको राउन्ड रबिनका आधारमा भएको प्रतियोगितामा अपराजित रहँदै भारतले उपाधि जितेको हो । भारतले अन्तिम खेलमा मंगलबार बंगलादेशलाई २५–१३, २५–६ र २५–९ को सोझो सेटमा हरायो ।
यता, अन्तिम खेलमाश्रीलंकामाथि संघर्षपूर्ण जित हासिल गर्दै नेपाल उपविजेता बनेको छ । सुरुआतका दुई सेट जिते पनि त्यसपछिका दुई सेट हारेको नेपालले ‘बेस्ट अफ फाइभ’को खेलमा अन्तिम सेट १५–१० ले जितेर खेल आफ्नो पक्षमा पारेको हो ।
यसअघि सुरुका दुई सेट २५–२३ र २५–२२ ले जितेको नेपालले त्यसपछिका दुई सेट १९–२५ र १४–२५ ले गुमाएको थियो । नेपालले भारतबाहेक सबै टिमलाई हराएर उपविजेता भएको हो ।
विजेताले दुई हजार तथा उपविजेताले एक हजार अमेरिकी डलर जितेको छ । प्रतियोगिताको दोस्रो संस्करण अर्को वर्ष भारतमा हुने भएको छ ।
श्रीलंकालाई हराउँदै नेपाल बन्यो उपविजेता