सोलुखुम्बुमा ६ फिट हिउँ पर्दा ७० भन्दा बढी पर्यटक समस्यामा
, २८ मङ्सिर - सोलुखुम्बुको खुम्जुङस्थित गोक्यो उपत्यकामा करिब ७० जना पर्यटक ६ फिट बाक्लो हिमपातमा फसेका छन्। भ्रमणका लागि गोक्यो आसपास पुगेका पर्यटहरु हिजो नै फर्कन लागेको भए पनि बाक्लो हिमपातका कारण फर्कन नसकेको त्यहाँ रहेको पथप्रदर्शक सार्के तामाङले जानकारी दिनुभयो।
तामाङका अनुसार अहिले त्यहाँ ६ फिटभन्दा बाक्लो हिमपात भएका कारण कोही पनि घरबाट बाहिर निस्कन नसक्ने अवस्था छ । आज बिहान फर्कने पहल भएको भए पनि बाटोमा अत्याधिक हिमपातका कारण बाटोसमेत पुरिएकाले असम्भव भएको हो।
पर्यटकहरु गोक्यो ताल आसपासमा रहेका होटलहरुमा रहेकाले ज्यानको खतरा नभएको भए पनि अत्यधिक चिसोका कारण उनीहरु समस्यामा छन् । हिमपात अत्याधिक भएकाले अझै केही दिन बाटो खुल्ने सम्भावना नभएको कारण पर्यटकहरु त्यहीँ फसेको पथप्रर्दशक तामाङको भनाइ छ।
गोक्यो भ्यालीमा करिब ७० जना पर्यटक हिजोदेखि नै अलपत्रमा परेको जानकारी आए पनि प्रहरी त्यहाँ पुग्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो।
भोलि मौसम सफा भएमा त्यहाँ प्रहरी टोली पठाउने पनि प्रहरी निरीक्षक खड्काले बताउनुभयो । मौसम धुम्मिएको कारण हिजो र आज त्यहाँ हेलिकोप्टरसमेत जान सकेको छैन। प्रहरी निरीक्षक खड्काका अनुसार नाम्चेमा नै करिब दुई फिट हिउँ परेका कारण बाहिर निस्कन सक्ने अवस्था छैन भने खुम्जुङमा करिब चार फिट हिउँ परेको छ। रासस