खुमबहादुरले गैरहिन्दुको हात काट्ने
झापा, मंसीर २८ – भ्रष्टाचार अभियोगमा एक बर्षअघिमात्रै जेल जीवन भोगेर छुटेका कांग्रेस नेता खुमबहादुर खड्काले हिन्दु राष्ट्रको बिरोध गर्ने जो कोहीको पनि हात टुक्रा–टुक्रा पारिदिने चेतावनी दिएका छन् । सनातन हिन्दुराष्ट्र पुनस्थापना महाअभियानका संयोजकसमेत रहेका खड्काले हिन्दु राष्ट्र अभियानमा लागिपरेका कुनै पनि व्यक्तिमाथि आक्रमण गर्ने व्यक्तिको हात काटिदिने भन्दै यसको सामना गर्ने ताकत आफूसँग रहेको बताए । शनिबार झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच उनले सो धम्की दिएका हुन् । कार्यक्रममा उपस्थित सबैजनालाई उनले आफ्नो अभियानमा लाग्नसमेत आग्रह गरेका छन् । खड्काले अभियानमा आउन उर्दी जारी गरेपछि अर्का कांग्रेस नेता एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले खड्काको कार्यक्रममा नजान र भाग नलिन झापा कांग्रेसका कार्यकर्ताहरुलाई ह्विप जारी गरेको झापाका हाम्रा संवाददाताले बताए । खुल्ला कार्यक्रममा सिटौलाका बारेमा खड्काले सार्वजनिक अभिव्यक्ति नदिएपनि आफ्ना कार्यकर्ताहरुलाई छुट्टै भेटमा ‘सिटौलाई घिउ नपचेकोले आफुले देखाईदिने’ बताएका थिए । केही महिना अघि मात्रै बालुवाटारको प्रधानमन्त्री निवास नजिकैको एक घरमा खड्काकै संयोजकत्वमा गठन भएको सनातन हिन्दुराष्ट्र पुर्नस्थापना महाअभियानमा कांग्रेसकै अर्का नेता तथा पूर्व मन्त्री लक्ष्मण घिमिरे सहसंयोजक छन् भने कुमार रेग्मी सदस्य सचिव रहेका छन् । खड्काको हिन्दु अभियानमा कांग्रेसकै अर्का नेता शेर बहादुर देउवाको भित्रि समर्थन रहेको बुझिन आएको छ भने दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई पराजित गरेका कांग्रेस नेता राजन केसी, उनकै दाजु कृष्णबहादुर केसीलगायत दर्जन बढी कांग्रेस नेताको समर्थन रहेको छ । राप्रपा अध्यक्ष कमल थापाले खुलेआम सहयोग गर्न धारणा सार्वजनिक गरिसकेका छन् । झापाको कार्यक्रमलगत्तै आज आइतबार खड्काले विराटनगरका कांग्रेस तथा राप्रपाका कार्यकर्ता राखेर छलफल चलाइरहेको हाम्रा संवाददाताले बताए । उनको छलफलको स्थान र सहभागिता भने खुल्न सकेको छैन । हामीलाई काठमाडौं स्रोतले बताएअनुसार केही दिन अघि मात्रै कांग्रेसका प्रभावशाली नेता मार्शलजुलुम शाक्यलाई खड्काले फोन गरेर आफ्नो अभियानमा सहयोग गर्न भनेका थिए । जवाफमा शाक्यले आफु ‘पच्चायतकालदेखि नैै धर्मनिरपेक्ष मुलुकको पक्षमा वकालत गरिरहेको तपाईलाई थाहा छैन’ भन्दै प्रतिप्रश्न गरेका थिए । खड्का राष्ट्रव्यापी अभियान अन्तर्गत देशका विभिन्न स्थानमा पुगिरहेका छन् ।

