माइक भाँचेर केपी ओलीको छातीमा हान्ने सभासदको धम्की ‘हेर्दै जानुस् अब के–के भाँचिन्छ’


केपी ओलीसँग चुनाव लडेर धरौटी जफत गरिदिने चेतावनी
-उमेश यादव, एमाओवादी सभासद्, सप्तरी–३


सामाजिक सञ्जाल कत्तिको हेर्नुहुन्छ ?
समय मिलाएर हेर्छु ।
पछिल्लो समय फेसबुक खोलेर हेर्नुभएको छ ?
हेरेको छु ।
फेसबुक र ट्वीटरका भित्ता आफ्नो अराजक तस्वीरले भरिएको देख्दा कस्तो लाग्छ ?
मैले केही अराजक काम गरेको छैन । ०५२ सालतिर जनयुद्धमा हुँदा हामीलाई ‘राक्षस’ का रुपमा हेर्नेहरुले परिवर्तित समयमा पनि आफ्नो पुरानै कुण्ठा व्यक्त गरिरहेका छन् । परिवर्तनलाई आत्मसात नगर्ने हो भने तिनीहरुले तिनकै नजरमा झन् ठूल्ठूला अराजकता व्यहोर्नेछन् । मलाई थाहा छ ती सबैकाँग्रेस–एमालेका कार्यकर्ता हुन् । उनीहरुले हामीलाई कहिले राम्रो भनेका थिए र अहिले गाली गरे भनेर चित्त दुखाउनु ?
यो तपाईंको धम्की हो ?
हामीले कहिल्यै पनि कसैलाई धम्की दिएका छैनौं । प्रतिक्रियावादी राज्यसत्ता र तिनका दलालहरुले दिइरहेको धम्की तपाईंहरुले हेर्नुहुन्न ? पीडितले आफ्नो आक्रोश पोख्दा त्यसलाई उत्तेजित ढंगले उठाउने, तर ‘मधेसीहरु यूपी र बिहार जाऊ’, यहाँ मधेस नै छैन भन्ने ओलीसहितका शासकहरुको शब्दबाणबाट हामी घाइते भइरहेका छौं । त्यसलाई हेर्नुहुन्न ?
तपाईंको तर्कमा सत्यता होला तर प्रतिवाद पनि सभ्य तरिकाले गर्न सकिन्छ नि होइन र ?
सत्ताधारीहरुले बल प्रयोग र दम्भको प्रदर्शन गरिरहँदा त्यसलाई प्रतिवाद गर्ने हाम्रो शैली सभ्य नै हो । वर्गीय समाजमा आ–आफ्ना वर्ग दृष्टिकोणका आधारमा घटनाको व्याख्या हुन्छ । हाम्रो नजरबाट हेर्दा त्यो सभ्य हो । कसैलाई असभ्य लाग्ला ।
जनताले संविधान बनाउ भनेर भोट दिए, तर तपाईंहरु संविधानसभाभित्र असभ्यता प्रदर्शन गर्नुहुन्छ । कतिपयको भनाइ के छ भने तपाईंहरुजस्तै सभासदका कारण संविधानसभाबाट संविधान आउन ढिलाइ भएको हो ?
जनताले हामीलाई जनताले गरेको क्रान्ति, आन्दोलन र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धीको रक्षा र संस्थागत गर्न संविधानसभामा पठाएको हो । तर सत्तारुढ मोर्चाले संविधानसभालाई संसद बनाउन खोज्दा हामीले संविधानसभाकै रुपमा संविधानसभालाई राख्न कठिन संघर्ष गरिरहेका छौं । विगतमा संविधानसभा ल्याउन हामीले बलिदान गर्‍यौं । अहिले संविधानसभाको रक्षा गर्न र जनक्रान्तिका उपलब्धीहरुलाई संस्थागत गर्न प्रतिक्रियावादीहरुको हेर्डक्वाटरभित्रै जीवन मरणको संघर्ष गरिरहेका छौं । मलाई लाग्छ जनताले जित्छ । ०४७ साल फर्काउन खोज्नेहरुको हार हुन्छ । हामीले त आन्दोलनका सहयात्री काँग्रेस–एमालेलाई प्रतिक्रियावादमा जानबाट रोकिरहेका छौं । हिजो ज्ञानेन्द्रको लात्ती र नजरबन्दबाट बचाएकाहरुलाई बचाउन हामी फेरि अन्तिम प्रयास गरिरहेका छौं । काँग्रेस–एमालेभित्रका अग्रगामी सोच राख्ने मित्रहरु र तिनीसँग सम्वद्ध सबै पक्षले यो कुरा ध्यान दिन जरुरी छ । हाम्रो कारणले होइन, सत्तारुढ दलहरुको परिवर्तनविरोधी सोच र दुई तिहाईको अहंकारले संविधानसभाबाट संविधान आउन ढिलाइ भइरहेको कुरा घामजस्तै छर्लंग छ ।
मतदाताले तपाईंजस्ता सभासदलाई भोट हालेकामा पछुतो मोनिरहेको समाचार आएको छ, तपाईं चाहिं कसरी ठीक गरियो भन्न सक्नुहुन्छ ?
यो सरासर झुठ कुरा हो । जनताले राम्रो काम गर्‍यो भनेका छन् । जनताले बधाई र उत्साह थपिरहेका छन् । संविधानसभा निर्वाचन निर्वाचन जितेका बेलाभन्दा अहिले धेरै बधाईको ओइरो लागिरहेको छ । फोन उठाएर फुसर्द छैन । मधेसबाट मात्र होइन, पहाड र हिमालबाट पनि मलाई बधाई दिनेहरु धेरै छन् ।
मेरो जिल्ला सप्तरीको एमालेले जितेकै क्षेत्रमा ओलीले रोजुन्, त्यसको विरुद्धमा म उम्मेदवारी दिन्छु । उनलाई मेरो खुला चुनौती छ । उनले जितेर देखाउन् । जनताले पछुतो मानिरहेका छन् कि मलाई भोट दिएर आफूले सही निर्णय गरेकामा खुसीयाली मनाइरहेका छन्, त्यही बेला थाहा हुन्छ । जुनजुन शक्तिले सपोर्ट गरोस् आफूलाई लोकप्रिय र जनताको भाषा बोलेको दाबी गर्ने केपी ओलीको धरौटी जफत गरेर देखाइदिन्छु ।
हो, यसरी चुनावमा उठेर हराइदिए त हुन्थ्यो नि, तर संसदमै माइकले हिर्काउन चाहिं हुँदैन भनेको के ?
हामीले व्यक्तिगत रुपमा कसैलाई लक्षित गरेर हिर्काएकै छैनौं । हाम्रा एजेण्डा कमजोर बनाउन बाहिर गलत हल्ला भइरहेको छ । संविधानसभा बैठकमा मंगलबार बिहान जे भयो, नेपालका अधिकांश टेलिजिभनले प्रत्यक्षप्रसारण गरेका थिए । संसद सचिवालयले पनि त्यसको भिडियो खिचेर राखेको छ । केपी ओली, विद्या भण्डारी, रामहरि खतिवडा कसैलाई पनि हानेको दृश्य सार्वजनिक गर्न चुनौती दिन्छु । बरु उहाँहरु देशको सम्मानित नेता हुनुको नाताले हामी सम्मान प्रकट गर्दछौं ।
संविधानसभा अध्यक्षलाई कुट्न पटकपटक मञ्चमा उक्लन तपाईंले प्रयास गरेको तस्वीर त छ्याप्छ्प्ती छ नि ?
बलमिच्याईंको प्रस्तावलाई रोक्न संविधानसभालाई संसद हुनबाट जोगाउन तथा संविधानसभालाई दुई कित्तामा विभाजन गर्ने सत्तारुढ दलहरुको प्रयासलाई विफल पार्न त्यसो गरिएको हो । सम्मानित सभाध्यक्षलाई हाम्रो निरन्तर सम्मान छ । नभएका घटनाहरुलाई उत्तेजित ढंगले काठमाण्डु केन्द्रित ठूला सञ्चार माध्यमले सुनियोजित तरिकाले भ्रम छर्दैछन् । ती मिडियाहरु जसको सबभन्दा बढी आम्दानीको श्रोत मधेस नै हो । तर पनि उसले मधेस हेर्न सकेको छैन । त्यस्ताहरुको प्रचारबाजीबाट हामी डराउनेवाला छैनौं । नेपालमा कुनै पनि ठूला मिडिया स्वतन्त्र छैनन् । दलाल तथा नोकरशाही पुँजीपतिहरुको लगानीमा चलेका मिडिया द्वन्द्व निम्त्याउन उद्दत हुनु स्वभाविक हो । मिडियामा काम गर्नेहरु अधिकांशलाई म चिन्छु । बाहिर जतिसुकै व्यवसायिक र स्वतन्त्र भने पनि उनीहरु कोही सानेपा, कोही बल्खुबाट सञ्चालित छन् । पार्टीको योजनामा काम गर्छन् । कतिपय सम्पादक यस्ता छन् जो खुलेआम भनिरहेका छन् कि १२ बुँदे समझदारीयताका सबै उपलब्धी खारेज गर, ज्ञानेन्द्रलाई नारायणहिटीमा फर्काएर राख । यही हो स्वतन्त्र मिडियाले गर्ने काम ? अनि त्यस्ताहरुले हामीले परिवर्तन र जनताका लागि गरेका कामलाई राम्रो भयो कसरी भन्न सक्छन् ?
आफू उदण्ड व्यवहार गर्ने अनि दोष चाहिं मिडियालाई दिएर पानीमाथिको ओभाने बन्न खोज्ने ? तपाईंले कुर्सी नभाँचेको भए कसले फोटो छाप्थ्यो र ?
मैले सबै मिडियालाई भनेको होइन । दलाल तथा नोकरशाही पुँजीपति वर्गको निर्देशनमा चलेकाहरुलाई मात्र भनेको हुँ । संविधानसभाका असहमतिका कुराहरु मिल्दै गर्दा त्यसलाई भाँडेर देशलाई गृहयुद्धमा धकेल्नेहरुका बारेमा एक शब्द नलेख्ने, अनि गृहयुद्ध रोक्न अन्तिम प्रयास गरिरहेकाहरुलाई कुरुप रुपमा प्रस्तुत गर्ने ? संविधानसभाको एजेण्डालाई स्थापित गर्न हामीले बलिदान गरेर आएका छौं । हजारौं सहिद, बेपत्ता र घाइते/अपांगहरुको सपना पुरा गर्न हिजो बन्दुक उठाइयो । त्यसलाई रक्षा गर्न हामीले अहिले कुर्सी मात्र उठाएका छौं । हामीलाई राम्ररी थाहा छ कि काँग्रेस नेता राचन्द्र पौडेल सभामुख भएका बेला तत्कालिन एमाले सांसद गोल्छे सार्कीले संसदमै जुत्ता हानेको कुरालाई एमालेले गर्वका साथ प्रचार गरेको थियो । गोल्छेलाई रोलमोडलका रुपमा प्रस्तुत गरेर एमालेले काँग्रेसविरोधी जनमत आफूतिर तान्न खोजेको थियो । आज त्यही एमाले हामीले गरेको सामान्य विरोधलाई क्रुर, अमानवीय, जंगली र बाँदरे प्रवृत्ति भनिरहेको छ । हामीले त कसैमाथि जुत्ता हानेका थिएनौं । हामीलाई जंगली भन्ने हो भने जुत्ता हान्ने एमालेहरु महाजंगली हुन् ।
तर, तपाईंकै नेताहरुले गल्ती भयो भनेर माफी मागेको अवस्था छ नि त ?
हाम्रा नेताहरु केपी ओलीजस्तो गैरजिम्मेवार ढंगले मनलाग्दी बोल्दैनन् । असहमति र असमझदारी बढाउन चाहँदैनन् । आफ्नै टाउकाका मोल तोक्नेहरुलाई माफी दिने हाम्रा नेताहरुको छाती फराकिलो छ । संविधानसभालाई जोगाउन हामीले गरेको कार्य गर्व गर्न लायक छ ।
तपाईंहरुबाट संविधानसभामा भएको तोडफोडको क्षतिपूर्ति भराउने तयारी भइरहेको छ, के गर्नुहुन्छ ?
हाम्रो सम्मानित सभाध्यक्ष धेरै गम्भीर र सुझबुझ भएका व्यक्तित्व हुनुहुन्छ । संविधानसभा ल्याउन भएको बलिदान र त्यसलाई दमन गर्न राज्यले खर्चिएको रकमबारे अनभिज्ञ हुनुहुन्न । दुई/दुईचोटि संविधानसभा निर्वाचनमा भएको खर्चलाई जोगाउन र संविधानसभालाई संविधानसभाकै रुपमा स्थापित गराउन सत्तारुढ दलहरुको बलमिच्याईंलाई रोक्न गरिएको प्रयत्नलाई दाँज्ने हो भने त्यो क्षति केही होइन । सम्मानित सभाध्यक्षले त्यसो गर्नुहुन्न भन्ने हामीलाई पूर्णविश्वास छ ।
सत्तापक्षले बहुमतका आधारमा प्रश्नावली समिति बनायो भने फेरि कुर्सी भाँच्नुहुन्छ ?
सत्तापक्षले जबर्जस्ती प्रश्नावली समिति बनायो भने कुर्सी मात्र होइन, के–के भाँचिन्छ, के–के हुन्छ अहिले नै भन्न सकिन्न । उनीहरुको क्रियाका आधारमा हामीले प्रतिक्रिया जनाउने हो । हामी अघिल्लो संविधानसभामा दुई तिहाईको बहुमतमा हुँदा बलमिच्याईं गरेनौं ।
अहिले उहाँहरुले बलमिच्याईं गरेर मुलुकलाई मुठभेडमा लैजान खोज्नुभएको छ । त्यसको प्रतिवाद कसरी गर्नुपर्छ हामीलाई राम्ररी थाहा छ । अझै पनि सहमति र समझदारीको सम्भावना र समय दुवै छ । सबैले त्यता ध्यान केन्द्रित गरौं ।
आफैं बस्ने कुर्सी भाँचेपछि कहाँ बस्ने भन्ने सोच्नुभएन ?
मुक्ति या मृत्यु भनेर हिंडेको मान्छेले उपलब्धी जोगाउनका लागि बस्ने, सुत्ने, खाने, चिन्ता गर्दैन । घटनापछि केपी ओलीसँग भेट भयो ? बुधबारको बैठकमा देखादेख भयो । मैले उहाँलाई सम्मानपूर्वक दुई हात जोडेर प्रणाम गरें । उहाँ मुसुमुसु हाँस्नुभयो । मैले उहाँको हँसाईलाई आशिर्वादका रुपमा लिएको छु । रामहरि खतिवडा दाईले अंकमाल गर्नु भो । हाम्रो बीचमा गहिरो भातृत्व छ । केही मिडियाले उल्टो भड्काउने कोसिस मात्रै गरेका हुन् ।




प्रतिक्रिया दिनुहोस्...