कार्यकर्ताबाटै हुन थाल्यो बन्दको विरोध


फोटो : ललितबहादुर बुढा (बन्द सफल बनाउन भन्दै सडकमा उत्रिएका बैद्य माओवादीका कार्यकर्ता)

सुर्खेत: नयाँ संविधान घोषणा गर्ने पूर्व निर्धारित मिति माघ ८ गते आउनै लाग्दा विभिन्न राजनीतिक दलहरुले दिनहुँजसो बन्द र हड्ताल घोषणा गर्न थालेका छन् । आफ्ना माग पूरा गराउनका लागि भन्दै राजनीतिक दलको केन्द्रिय नेतृत्वले बन्द र हड्ताल घोषणा गरेको भएपनि तिनका कार्यकर्ता भने बन्दको विरोध गर्न थालेका छन् । आफ्नै कार्यकर्ताहरु बन्द र हड्तालको विरोध गर्न थालेपछि बन्द आव्हानकर्ता दलहरुलाई समेत नैतिक संकट उत्पन्न हुन थालेको छ । संविधान सभा विगठन गर्दै सर्वपक्षिय सभाको आयोजना गर्नुपर्ने लगायतका माग राख्दै मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले आइतबार भेरी र कर्णालीमा बन्द आव्हान गर्‍यो । तर, बन्द सफल बनाउन भन्दै यस क्षेत्रमा केही जिल्ला स्तरका नेताबाहेक कार्यकर्ताहरु भने सडकमा निस्किएनन् । बन्द र हड्तालले केवल जनतालाई सास्ती दिने र यसले कुनै निकास नदिने भन्दै कार्यकर्ताहरु सडकमा नआएपछि बन्दको पनि खासै प्रभाव परेन । सुर्खेतमा पनि आइतबारको बन्दमा माओवादीका केही जिल्ला स्तरका नेताहरुबाहेक कार्यकर्ताहरु बन्द गराउन भन्दै सडकमा आएनन् । अपेक्षा गरे अनुसार कार्यकर्ताहरु सडकमा नआएपछि माओवादीले आव्हान गरेको बन्दको प्रभाव त्यती पर्न सकेन । बन्द सफल पार्न भन्दै सडकमा निस्किएका केही कार्यकर्ताहरुले समेत आफूहरुलाई पार्टीले घोषणा गरेको बन्द मन नपरेको बताए । आफ्ना जिल्ला नेताहरुको साथमा सडकमा निस्किएका एक माओवादी कार्यकर्ताले आफू बन्द र हड्तालको विरोधी भएको बताए । आफू बाध्यताले गर्दा सडकमा निस्किएको भन्दै उनले कार्यकर्ताहरुले सुर्खेतमा बन्द नगर्न अन्तिम समयसम्म आग्रह गरेको भएपनि जिल्ला नेतृत्वले केन्द्रको निर्देशन भन्दै अस्वीकार गरेको बताए । उनले भने, ‘कार्यकर्ताले बन्द नगर्न आग्रह गर्दा समेत नेतृत्वले मानेन, आज सडकमा कार्यकर्ता नै आएनन् । बन्दको पनि खासै प्रभाव नै परेर, बन्दलाई कसैले नटेर्दा पार्टीको लाज मात्रै भयो ।’ साथै उनले अब विरोधका लागि बन्द र हड्तालको साटो अन्य विकल्पहरु खोज्नुपर्ने बताए । आफूलाई पार्टीले आव्हान गरेको बन्द पटक्कै मन नपरेको भन्दै उनले थपे, ‘बन्दले हामी सबैलाई सास्ती हुन्छ, एक दिन पसल बन्द गर्दा दिनमा २ हजारदेखि २५ सयसम्म घाटा लाग्छ’ उनले बन्दप्रति असन्तुष्टि पोखे, ‘यो बन्द त कसैले पनि नगरे हुन्थ्यो ।’ आफ्नो पनि पसल रहेको भन्दै उनले बन्दका कारण पसल खोल्न नपाउँदा व्यापारमा घाटा भएको, विद्यालय बन्द भएर छोराछोरीले पढ्न जान नपाएको गुनासो पोखे । यद्यपी उनी आफै बन्दकर्ता हुन् र पार्टीको निर्देशन मान्नकै लागि बन्द सफल बनाउन सडकमा निस्केका थिए । उनी मात्र होइन पछिल्लो समयमा गरिने बन्द र हड्तालको प्रायः सबै दलका कार्यकर्ताहरुले विरोध गर्न थालेका छन् । उनीहरु पार्टीले आयोजना गरेको बन्दमा समेत हिड्न छोडेका छन् । ‘बन्दमा जनताहरु आर्फै उर्लिनुपर्छ, त्यसको नेतृत्व मात्रै पार्टीहरुले गर्ने हो’ हातमा हँसिया हथौडा चिन्ह अंकित पार्टीको झण्डा बोकेर मंगलगढी चौकमा भेटिएका एक माओवादी कार्यकर्ताले भने, ‘तर पछिल्लो समय जसलाई मन लाग्यो उसैले जनतालाई कष्ट दिएर बन्द आह्वान गरिरहेका छन् ।’ उनको संकेत आफ्नै पार्टीप्रति पनि थियो । बन्दले अरु जनतालाई मात्र नभएर आफूहरुलाई पनि असर पारेको उनले बताए । केन्द्रमा पार्टीका नेताहरुले बन्दको निर्णय गरिदिँदा जिल्लास्थित कार्यकर्ताहरु भने त्यसलाई चुपचाप स्वीकार्न बाध्य हुन्छन् । उनीहरुलाई पार्टीको उक्त निर्णय मन नपरेको भएपनि त्यसको विरुद्धमा जान सक्दैनन् । यो बाध्यता आइतबार बन्द आह्वान गरेको नेकपा–माओवादीका कार्यकर्ताहरुको मात्र होइन अन्य पार्टीका कार्यकर्ताहरु पनि पटक पटक यस्तै बाध्यता झेल्दै आएका छन् । माग पुरा गराउने विकल्प बन्द नभई अन्य रचनात्मक क्रियाकलाप गर्नुपर्ने उनीहरु बताउँछन् । यसैबीच बैद्य माओवादीले आइतबार आव्हान गरेको भेरी र कर्णालीमा आशिंक प्रभाव परेको छ ।




प्रतिक्रिया दिनुहोस्...