बिनाकसुर ११ बर्ष कतारी जेलमा बसेर फर्किए एक नेपाली 'मृत्युदण्ड जितेर आएँ’
सिरहा, बेल्हा-७, लक्ष्मीनियाका ४७ वर्षीय यादवलाई कतारमा एक इन्डोनेसियन युवती हत्याको आरोपमा त्यहाँको तल्लो र पुनरावेदन अदालतले मृत्युदण्ड दिने फैसला गरेको थियो। पुनरावेदनले ४ पटक सदर गरेको फैसलालाई पछि सर्वोच्चले २०१० डिसेम्बरमा १५ वर्षे जेल सजायमा झारेको थियो।
कतारको राष्ट्रिय दिवसका अवसरमा यही डिसेम्बर १८ मा ३ वर्ष सजाय मिनाहा पाएर उनी रिहा भए। छुटेपछि घरफिर्ती केन्द्रमा बसेर ट्राभल डकुमेन्ट बनाई उनी स्वदेश आएका हुन्। त्रिभुवन विमानस्थलबाट साढे ९ बजे राति बाहिर निस्केका उनलाई लिन साला हरिनारायण यादव र भतिज रामशरण यादव पुगेका थिए। 'उहाँ बाँचेर फर्किनुहुन्छ भन्ने आसै थिएन, भेटदा खुसीको सीमै छैन,' हरिनारायणले भने, 'पहिलाभन्दा अलि बूढो र हिँडाइ थोरै सुस्त भएछ, अरू खासै केही फरक छैन।'
चन्द्रशेखरलाई मृत्युदण्डको सजायको फैसला सुनाएपछि नेपाली दूतावासले कतारी वकिल मोना अब्दुल रहमानमार्फत जीवन रक्षाको पहल गरेको थियो। मुद्दा लड्न नेपाली समुदाय, नेपाल सरकार, उनका परिवार र आफन्तले सहयोग जुटाएका थिए। उनीसँगै मृत्युदण्डको फैसला सुनाइएका भारतीय नागरिक श्रीधरण मणिकान्तन र उनिकृष्णन माधव आजीवन कारावासको सजायमा छन्।
विमानस्थलबाट बिस्तारै हिँडेर बाहिर निस्केका चन्द्रशेखरले सबैभन्दा ठूलो पीडा आफू अन्यायमा परेको बताए। 'गर्दै नगरेको गल्ती, कुटाइ खाएर हो भन्नुपर्यो,' उनले भने, 'कुन हुन् त हामीले मारेको भनिएकी ती इन्डोनेसियन? तिनको नामसमेत भनेनन्।'
कतारले मृतक इन्डोनेसियन देखाउन सकेको भए आफूहरूले ब्लड मनी -मुद्दा फिर्ता लिने सर्तमा मृतकका परिवारलाई दिइने रकम) को पहल गर्ने थियौं भन्दै उनले अब नेपाल सरकार र राष्ट्रिय मानवअधिकार आयोगमार्फत अन्यायविरुद्ध लड्ने बताए। 'जुन युवती मारियो भनियो, इन्डोनेसिया स्वयंले त्यस्तो नामको कोही मरेको छैन भनेको छ भने कतारले कसरी आरोप लगायो?' उनले भने, 'म मात्र एक्लो छैन, यस्ता झूटा मुद्दामा अरू नेपाली पनि फसेका छन्, सरकारले खोज्नुपर्यो।'
उनले अब पहिला घर जाने र त्यसपछि न्यायका लागि लड्ने बताएका छन्। सन् १९९६ जनवरी १५ मा आल्मुनियम फिटिङ काममा कतार गएका उनी इन्डोनेसियन कामदार महिलाको हत्या गरेको आरोपमा २००३ डिसेम्बर ७ देखि कारागारमा थिए। लामो जेलजीवनबाट मुक्त भएर र्फकंदा उनको स्वास्थ्य अवस्था सामान्य छ।
कतारका लागि तत्कालीन नेपाली राजदूत सूर्यनाथ मिश्रले 'जबसम्म सास रहन्छ, तबसम्म आस हुन्छ' भन्दै जीवन रक्षाको अभियान चलाएका थिए। अन्ततः बाँचेर उनी फर्किएकामा मिश्रले खुसी व्यक्त गरे। 'कतार सरकारको मानवीय निर्णय स्वागतयोग्य छ, ३ वर्षपहिले नै छाडिदियो,' उनले कान्तिपुरसँग भने, 'प्रयास गरे सफल हुन्छ भन्ने यो एउटा उदाहरण हो।'
परिवारमा खुसियाली
मृत्युदण्डको सजायबाट जोगिएर फर्केका पति चन्द्रशेखर यादव नेपाल आएको खबरले घरमा श्रीमतीले हर्षका आँसु बर्साइन्। मंगलबार काठमाडौंस्थित सालाको डेरामा बसेका चन्द्रशेखर बुधबार घर जाँदै छन्। 'उहाँको अनुहार नदेखेको वर्षौं भइसक्यो तर अब देखिने निश्चित भयो,' रुँदै श्रीमती रामदुलारीले भनिन्, 'यहाँको कमाइले घरव्यवहार धान्न र छोराछोरीको पढाइलेखाइ चलाउन गाह्रो परेकाले उहाँ विदेश जानुभएको थियो। तर केही हुन सकेन। दैवको इच्छा जे थियो, भयो। अब पतिपत्नी मिलेर आफ्नै घर खेतमा सुखदुःख गरेर जीवन गुजारा गर्न पाइने भयो।'
उनले पति कुनै युवतीको हत्या आरोपमा पक्राउ परेको खबर सुनेको दिनदेखि कष्टपूर्ण जीवन गुजार्न बाध्य भएको बताइन्। 'पतिको मृत्युदण्डको सजायले त आफू पनि मरेतुल्य नै भएको थिएँ,' उनले भनिन्, 'परिवार र गाउँलेको आशा भारोसापूर्ण वचनले
मरिहाल्न पनि सकिनँ। वियोगमा जीवन बिताउन निकै कठिनाइ झेल्नुपर्यो।'
एक्ली उनलाई दुई छोरी र दुई छोराको लालनपालन पनि उस्तै समस्या बन्यो। त्यसमाथि मृत्युदण्डको खबरले छोराछोरीको पढाइलेखाइसमेत बिगि्रयो। जेठो छोरा अनुजकुमारले ६/७ कक्षा पढेर छाडे। छोरीहरूको पढाइ पनि बीचैमा रोकियो। 'उहाँलाई पक्राउ गरेदेखि पैसा पठाउनुपर्ने र घरसमेत चलाउनुपर्ने अवस्था थियो,' उनले भनिन्, 'मृत्युदण्ड माफी भएको फैसला सुनेपछि मुटुमाथि ढुंगा राखेर घरको खर्च चलाउन जेठो छोरालाई ऋण काढेर वैदेशिक रोजगारमा साउदी पठाएँ।'
गर्दै नगरेको गल्ती कुटाइ खाएर हो भन्नुपर्यो। को हुन् त हामीले मारेको भनिएकी ती इन्डोनेसियन? तिनको नामसमेत भनेनन्।
....................
जुन युवती मारियो भनियो, इन्डोनेसिया स्वयंले त्यस्तो नामको कोही मरेको छैन भनेको छ भने कतारले कसरी आरोप लगायो?
....................
म मात्र एक्लो छैन, यस्ता झूटा मुद्दामा अरू नेपाली पनि फसेका छन्, नेपाल सरकारले खोज्नुपर्यो।