बजाज मोटरसाइकल नेपालमै बन्ने


काठमाडौं, पुस १८ - सबैभन्दा बढी बिक्री हुने बजाज मोटरसाइकल अब नेपालमै उत्पादन हुने भएको छ । बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द गोल्छा समूहले देशमै उत्पादन गर्ने भएको हो ।

नेपालमा मोटारसाइकल प्रयोग र बिक्री बर्षेनी बढ्दै गएको छ । गएको बर्ष मात्रै १ लाख ७५ हजार ३ सय वटा बिक्री भयो, जसमा बजाज कम्पनीका मोटरसाइकलको संख्या करिब ५० हजार थियो । गोल्छा समूहले वार्षिक १८ हजार मोटरसाइकल उत्पादन गर्ने गरी उद्योग विभागमा गत असोज ८ गते हुलास अटोक्राफ्ट प्रालl दर्ता गरेको हो । विभागको वेबसाइटमा उपलब्ध विवरण अनुसार २४ करोड रुपैयाँ लगानी गरिने उक्त उद्योग नवलपरासीको रामग्राममा रहनेछ । बर्षेनी १२५ सिसिका ८ हजार वटा र १५० सिसिका १० हजार वटा बाइक उत्पादन गर्ने लक्ष्य राखिएको छ । तर बजाजको कुन कुन मोडल उत्पादन गर्ने भन्ने खुलाइएको छैन । देशमै उत्पादन हुने भएकाले केही सस्तो हुने अनुमान गरिए पनि यसबारे कम्पनीले आधिकारिक रुपमा प्रष्ट पारेको छैन् । मुलुकमा निजी क्षेत्रबाट सबैभन्दा धेरै (१६ हजार जना) लाई रोजगार दिने गोल्छा अर्गनाइजेनले बिराटनगरमा मोटर उत्पादन गर्दै आएको छ । गोल्छाद्वारा उत्पादित मुस्ताङ म्याक्स गाडी पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले चढेपछि निक्कै चर्चा भएको थियो । जुट, खाद्यान्न र इलेक्ट्रोनिक्स उत्पादनमा पनि गोल्छा अर्गनाइजेसन संलग्न छ । मोटरसाकइल उत्पादनका लागि दर्ता भएको उद्योगका प्रवर्द्धकमा शेखर गोल्छा छन् । उनी उद्योगबाणिज्य महासंघका उपाध्यक्ष हुन । गोल्छा अर्गनाइजेसन करिब १५ बर्षदेखि नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेताका रुपमा छ । मोटरसाइकल उद्योगमा ६६ जनाले काम पाउने विभागको तथ्यांकमा उल्लेख भए पनि काम शुरु हुने वित्तिकै ३ सयले प्रत्यक्ष रोजगारी पाउने कम्पनी स्रोतले बतायो । नेपालमा लोकप्रिय बाइकहरुमध्ये बजाजका पल्सर र डिस्कभर पनि हुन् । यसअघि नेपालमै कस्मिक र लिफानले मोटरसाइकल उत्पादन थालेका थिए । ती हिजोआज बजारमा छैनन् ।




प्रतिक्रिया दिनुहोस्...