सभासदको एकछिनको उपद्रोले राज्यको ३० लाख क्षति...कसरी बन्ला त संबिधान ?


Nepal-Ca-todfood-1
६ माघ, काठमाडौं । बिहान ११ बजे अनलाइनखबरको टोली संविधानसभा भवनको बैठक कक्षभित्र पुग्दा, त्यहाँको दृश्य खण्डहर जस्तै थियो ।
भाँचिएका टेबुल कुर्सी र माइकहरु भग्नावशेषमा परिणत भएका थिए । एमाओवादी नेतृत्वको मोर्चाका सभासदहरुले आफैं बस्ने कुर्सी, आफ्नो टेबुल र आफूले बोल्ने माइक भाँचेपछिको दृश्य हो यो ।
सभासदबाट कुटाइ खाएका मर्यादापालकहरु निरीह भएर भग्नावशेषको मुचुल्का उठाउँदै थिए भने कर्मचारीहरु ‘अब माननीयज्यहरु कहाँ बस्छन् ?’ भनेर प्रश्न गर्दै थिए ।
ढलिरहेको टेबल र कुर्सी प्रतिपक्षी दल एमाओवादीका शीर्ष नेताहरुको हो भने रातो घेरामा प्रधानमन्त्रीको कुर्सी छ
ढलिरहेको टेबल र कुर्सी प्रतिपक्षी दल एमाओवादीका शीर्ष नेताहरुको हो भने रातो घेरामा प्रधानमन्त्रीको कुर्सी छ
मंगलबार दिउँसो १ बजेका लागि संविधानसभा बैठक डाकिए पनि यो भग्नावशेषमा एमाओवादी र मधेसी मोर्चाका सभासदहरु कहाँ बस्छन् ? अहिलेसम्म टुंगो लागेको छैन । तत्कालै मर्मत गर्न सकिने स्थिति पनि छैन ।
राति साढे १ बजेदेखि करीव आधाघण्टा चलेको तोडफोड र आक्रमणका सिलसिलामा कम्तिमा तीन दर्जन कुर्सी तोडफोड भएका छन् । तोडफोडबाट करिब ३० लाख क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रचण्ड बाबुरामदेखि कमल थापासम्म असर
संविधानसभाका १६ वटा कुर्सी बस्नै नमिल्ने गरी भाँचिएका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईलगायत बस्ने अघिल्लो लहरको कुर्सी, टेबुल र माइक कामै नलाग्ने गरी भाँचिएका छन् ।
एमाओवादी सभासदहरु बस्ने तीनवटा लहरका १८ वटा कुर्सी तोडफोड भएका छन् । टेबुल र माइक काम लाग्ने अवस्थामा छैनन् ।
Nepal-Ca-todfood-4
त्यस्तै राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र फोरम नेपालका सभासद बस्ने अघिल्लो तीन लहरका कुर्सी टेबुल तथा माइक तोडफोड भएका छन् ।
एमाओवादी र मधेसी मोर्चाका सभासदहरुले आफू बस्ने कुर्सीहरु तोडफोड गरे पनि सत्ता पक्षका सभासदहरु बस्ने कुर्सी टेबुल भने सकुशल छन् ।
संसद सचिवालयका अनुसार क्षतिको पूर्ण विवरण आधिकारिक रुपमा आँकलन गरिएको छैन । ‘एउटा टेबुल र कुर्सीको कम्तिमा ३० हजारले हिसाब गर्दा सोझो हिसाबमा पनि करीव १२/१५ लाखको क्षति भएको छ’ स्रोतले भन्यो ।
माइक र लामो टेबुल अनि सभासद अगाडिका स्त्रिन टिभीहरु समेतको क्षति जोड्दा ३० लाख जति अनुमान गरिएको स्रोतले जनाएको छ । टेबुल कुर्सीको मूल्य ३० हजार भन्दा माथि पर्ने स्रोतले जनाएको छ ।
तोडफोड भएका कुर्सी र टेबुल हटाएर नयाँ राख्न मंगलबारै सम्भव नभएकाले भग्नावशेषमै बैठक बोलाउनुपर्ने अवस्था रहेको एक अधिकारीले बताए ।
अघिल्लो संविधानसभामा व्यवस्थापिका संसद बैठकमा सभासद सञ्जयकुमार साहले ३ वटा माइक तोड्दा ९० हजार जरिवाना तोकिएको थियोे ।
तर, सर्वोच्च अदालतको आदेशका कारण उनले जरिवाना भने तिर्नु परेको थिएन । उनले त्यसबापत ३ दिन सभासदबाट निलम्बित हुनुपरेको थियो ।
Nepal-Ca-todfood
नेम्वाङ र गौतमले अवलोकन गरे
यसैबीच संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले एमाओवादी मोर्चाका सभासदबाट भएको तोडफोड र क्षतिको स्थगलत अवलोकन गरेका छन् ।
संविधानसभामा अकल्पनीय घटना भएपछि नेपाल प्रहरीले मंगलवारबाटै थप ५ सय मर्यादापालक थपेको छ । तिनीहरु तालिमप्राप्त प्रहरीकर्मी हुन् ।onlinekhabar






प्रतिक्रिया दिनुहोस्...