ओबामा भारतमा


काठमाडौं, माघ ११ । भारतको गणतन्त्र दिवसको प्रमुख आतिथ्यता ग्रहण गर्न अमेरिकी राष्ट्रपति बराक ओबामा आइतबार (आज) नयाँ दिल्ली आइपुगेका छन् ।

ओबामाको विशेष विमान ‘एअरफोर्स वान’ नयाँ दिल्लीको पालम विमानस्थलमा स्थानीय समयअनुसार करिब साढे ९ बजेतिर अवतरण गरेको हो । वासिंगटनको एन्ड्रिउज विमानस्थलबाट शनिबार साँझ उडान भरेका ओबामा झन्डै१६ घन्टा लामो यात्रा तय गर्दै नयाँ दिल्ली आइपुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओबामालाई विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

मोदीको आमन्त्रणमा भारत आएका ओबामा जनवरी २६ अर्थात् सोमबार हुने गणतन्त्र दिवस समारोहमा विशिष्ट अतिथि बन्ने छन् । ओबामाको भ्रमणलाई ध्यानमा राखी भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ । हजारौं सुरक्षा बल तैनाथ गरिएको छ भने १५ हजार सीसीटिभीले निगरानी राख्नेछ ।

ओबामाको सुरक्षाका लागि अमेरिकाबाटै ५ सय गोप्य सुरक्षाकर्मी भारत आइपुगेका छन् । गणतन्त्र समारोहस्थल नयाँ दिल्लीलाई उडान निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा गस्ती बढाइनुका साथै ठूल्ठूला भवनमा ‘स्नाइपर’ हतियारयुक्त विशेष दस्ता तैनाथ गरिएको छ ।

दिल्ली ओर्लिएलगत्तै ओबामालाई त्यहाँको राष्ट्रपति भवनमा भव्य स्वागत गरिँदैछ । त्यसपछि ओबामाले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गर्नेछन् । ओबामाले आइतबारै हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

तीनदिने भारत भ्रमण सकाएर ओबामा मंगलवार अमेरिका फर्किने छन् ।





प्रतिक्रिया दिनुहोस्...