६ वर्षदेखि छोरीको यौनशोषण गर्ने बुवालाई १८ वर्ष कैदको फैसला
काठमाडौं, पुस २२ – लामो समयदेखि आफ्नै हजुरबुवा र बुवाबाट यौनशोषण खेप्दै आएकी काभ्रेकी एक किशोरीले आज न्याय पाएकी छिन् । काभ्रे जिल्ला अदालतले आज यौनशोषण गर्ने बुवालाई १८ वर्ष कैद सजाय तथा दुई लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । न्यायाधीस गोपाल बाँस्तोलाको एकल इजलासले आफ्नै छोरी रिता कार्की ( नाम परिवर्तन)लाई यौनशोषण गर्ने प्रकाश कार्कीविरुद्ध सो फैसला सुनाएको हो । कार्की हाल प्रहरीको न्यायीक हिरासतमा रहेका छन् भने पीडित युवतीलाई रक्षा नेपालले उद्दार गरेको छ । ९ वर्षको उमेरदेखि ती किशोरी हजुरबुवाबाट यौनशोषणमा पर्दै आएकी थिइन् । जब उनी ११ वर्षकी पुगिन् उनको बुवासमेतले उनलाई यौनशोषण गर्न थाले । यो घटना बाहिर आएपछि उनका हजुरबुवाले आत्महत्या गरे भने बुवालाई पक्राउ गरिएको थियो । २०७१ साल साउन ३० गते उनी अन्तिम पटक यौनशोषणमा परेकी थिइन् ।