फ्रान्सको साथमा मानवसागर चार्ली हेब्डो आक्रमण


पेरिस (बीबीसी), पुस २८ - तीन दिनको आक्रमणका क्रममा १७ जनाको ज्यान गएपछि राजधानी पेरिसमा आयोजित एकता र्‍यालीमा जनसमुदाय र विश्वका ४० मुलुकका नेताहरू भेला भएका छन् । दस लाखभन्दा बढी प्रदर्शनकारीले त्यहाँका गल्ली भरिएका छन् । फ्रान्सभर यस्तै स-साना भेलाको आयोजना भएको छ । 'पेरिस आज विश्वको राजधानी भएको छ,' फ्रान्सेली नेता फ्रान्स्वाँ ओलान्डले भने, 'पूरा मुलुक

जाग्ने छ ।' पीडितको सम्झनामा निस्कने उक्त जुलुसमा आमनिर्वाचनभन्दा बढी सहभागिता छ । ती घटनाहरूमा ज्यान गुमाएका पीडित आफन्तको नेतृत्वमा प्लेस दे ला रिपब्लिक चोकबाट यसको सुरुवात भएको थियो । सुरक्षाका कारण प्रदर्शनलाई दुई मार्गमा विभाजित गरिएको छ । एकै थलोबाट सुरु भए पनि पेरिसको प्लेस डे ला नेसनमा यसको समापन हुनेछ । सहभागीले 'लिबर्टी -स्वतन्त्रता)' र 'आई एम चार्ली' नारा लगाइरहेका छन् । मुलुकको दक्षिणस्थित मासीमा हजारौंले हिंसाको विरोधमा सडक प्रदर्शन गरेका छन् । यो भनेको फ्रान्सको सबैभन्दा ठूलो मुस्लिम बहुल सहर हो । उनीहरूले सह-अस्तित्व र सहिष्णुताका लागि र्‍याली गरेको बताएका छन् । पेरिसको गणतन्त्र स्मारकबाट समेत स्वतन्त्रता, समानता र बन्धुत्वको नारा लागिरहेको छ । विश्वका नेता र नागरिक सुरक्षाका लागि भवनका छानाहरूमा कुशल निशानाबाजसहित राजधानीमा करिब दुई हजार प्रहरी अधिकृत र एक हजार तीन सय ५० सैनिक तैनाथ छन् । त्यहाँको यहुदी समुदायका नेताहरूले आइतबार राष्ट्रपति ओलान्डसँग सुरक्षा विषयलाई लिएर भेटेका छन् । राष्ट्रपतिले दुई दिनभित्र सम्पूर्ण यहुदी संस्थाहरूमा नयाँ सुरक्षा प्रबन्ध गरिने जानकारी दिएको उनीहरूले बताए । 'हामी हाम्रो यहुदी धर्मलाई जोगाउन प्रतिबद्ध छौं र हामी निरन्तर सामान्य जीवन बिताउन चाहन्छौं, हिंसामा होमिन सक्देनौं,' रोजर कुकिमानले भने । उनी यहुदी संस्थाहरूको जनप्रतिनिधित्व परिषद्का अध्यक्ष हुन् । गृहमन्त्री बनार्ड काजनेभले आउँदा केही सातासम्म मुलुक उच्च सुरक्षा सतर्कतामा रहने जानकारी दिए । आतंकवादीद्वारा उत्पन्न खतराबारे उनले आइतबार बिहान बेलायतका टेरेसा मेलगायत युरोपभरिका समकक्षी मन्त्रीहरूसँग छलफल गरेका छन् । बहुराष्ट्रिय र्‍यालीका क्रममा आइतबार घरको छतहरूमा सादा पोसाकमा सुरक्षाकर्मी तैनाथ गरिनुसाथै असाधारण उपायहरू अवलम्बन गरिएको उनले बताए । बेलायत, जर्मनी, प्यालेस्टाइन र इजरायललगायतका मुलुकका प्रमुख नेताहरू र्‍यालीमा सहभागी छन् । पीडितका आफन्तद्वारा नेतृत्व गरिएको र्‍याली स्थानीय समयअनुसार ३ बजे सुरु भएको थियो । यसले मुलुकलाई हिंसाविरुद्ध एक हुन सहयोग गर्ने आयोजकहरूले आशा व्यक्त गरेका छन् । अहिले आक्रमणको सिकार भएका निहत्था नागरिकले कसरी बन्दुकधारीको सामना गरे भन्नेबारेका कथाहरू पनि सार्वजनिक हुन थालेको छ । त्यस्तो परिस्थितिमा समेत धैर्य नगुमाई उनीहरूले सुरक्षाकर्मीको साथ दिएका थिए । हिंसालाई ध्यानमा राखेर परिवारका सदस्यहरूसहित हत्यासँग सम्बन्धितहरू पक्राउ गर्‍यो । चेरिफ कोचीका सालो मुराद हामिदले स्वयं प्रहरीसमक्ष समर्पण गरेका थिए । उनलाई बिनाआरोप मुक्त गरियो । उनले पनि आइतबारको घटनाको निन्दा गरेका छन् । 'यो भीषण थियो, यो एक त्रासदीपूर्ण अपराध हो,' उनले एएफपीसँग भने । चार्ली हेब्डो पत्रिकाको काटुर्नहरू प्रकाशित गर्ने एक जर्मनी समाचारपत्र हामबर्गर मर्जनपोस्टमा आइतबार बिहानै आक्रमण भएको छ । त्यहाँ भएको आगजनीमा कोही हताहत हुन पाएन । दुईजना पक्राउ परेका छन् । व्यंग्य पत्रिका चार्ली हेब्डो र कोचर सुपर मार्केटको आक्रमणमा संलग्न बन्दुकधारीका सहयोगीहरूलाई प्रहरीले खोजिरहेको छ । र्‍यालीअघि जारी एक भिडियोमा उक्त मार्केट हिंसामा संलग्न अमेडी कुलीबालीलाई लडाकु समूह इस्लामिक स्टेट (आईएस) प्रति निष्ठा प्रकट गरिरहेको देखाइएको छ । उनले त्यो भिडियोमा चाली हेब्डोका आक्रमणकारीहरूसँग काम गरिरहेको खुलासा गरेका छन् । 'हाम्रो कारबाहीको प्रभावलाई बढाउन दुई टिम बनायौं,' उनले भनेका छन् । सुरक्षा फौजको आक्रमणमा शुक्रबार हेब्डो घटनामा संलग्न सयद र चेरिफ कोची मारिएका थिए । उनीहरूले बुधबार उक्त पत्रिकाको कार्यालयमा ११ र नजिकैको गल्लीमा एक प्रहरीको हत्या गरेका थिए । प्रहरीको गोली लागि ज्यान गुमाउनुअघि कुलीबालीले हायपर काचर सुपर मार्केटमा शुक्रबार चार बन्धकलाई मारेका थिए । उनले बिहीबार मन्टोगमा एक महिला प्रहरीको हत्या गरेका थिए । अहिले आएर उनले दक्षिण पेरिसको फोनटेनाय लेस रोज पार्कमा बुधबार एक ३२ वर्षीय जोगरमाथि आक्रमण गरेको पनि खुलासा भएको छ । उनका साथी हायात बुमेदिनको प्रहरीले अझै खोज गरिरहेको छ । सुपर मार्केटका प्रत्यक्षदर्शीले बुमेदिनलाई कुलीबालीसँग देखेको जानकारी दिए पनि उनी गत साता नै प|mान्सबाट फरार भइसकेको जानकारी आएको छ । प्रहरीले सुपर मार्केटमा बन्धकहरूलाई उद्धार गर्ने क्रममा हुलमुलको फाइदा उठाएर उनी भागेको भनिएको थियो । अहिले अधिकारीहरूले उनी टर्की मार्ग भएर सिरिया पुगेको बताउँछन् । कोचर सुपर मार्केटमा मारिएका चारजनाको मंगलबार इजरायलमा अन्त्येष्टि हुनेछ ।




प्रतिक्रिया दिनुहोस्...