प्रक्रियामा अघि बढे झन कडा प्रतिवाद : प्रचण्ड


फोटो :फाइल फोटो
काठमाडाैं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलले संविधान निर्माणप्रक्रियालार्इ जबरजस्ती प्रक्रियामा लगे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

दलहरुवीचको सम्वादहीनता अन्त्य गर्दै सहमतिबाट संविधान निर्माण प्रक्रिया अघि बढाउन दवाव दिने उद्देश्यले शनिबार रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले सभाध्यक्ष सुवास नेम्वाङ्गले भोलिको बैठकमा जवरजस्ती प्रश्नावली समिति घोषणा गरे सशक्त प्रतिवाद गर्ने बताए । 

'हामी अहिले पनि सहमतिकै पक्षमा छौं । सहमतिबाटै संविधान जारी गरेमा मात्र देशले स्थायित्व पाउँछ', अध्यक्ष प्रचण्डले भने,  'जनाधिकार ल्याउन आन्दोलन गरेका दलहरुलार्इ पाखा लगाएर संविधान ल्याउन खोजेमा देशमा ध्रुबीकरण बढेर देश दुर्घटनामा जान्छ ।'

आफूहरु अहिले पनि वार्तामा बस्न तयार रहेको बताउँदै अध्यक्ष प्रचण्डले अझै केही समय सहमतिको प्रयास गरिनुपर्नेमा जोड दिए । उनले सहमति नजुटेका विषयलार्इ थाती राखेर संविधान ल्याउन सकिने बताउँदै नमिलेका विषय पछि मिलाउँदै जान आफूहरु तयार रहेको उल्लेख गरे । 
 
‘१२ बुँदे सम्झौता, जनआन्दोलन र शान्ति प्रक्रियाका शक्तिहरुलाई छोडेर अघि बढे मुलुक नराम्रोसँग द्धन्द्धमा फस्छ’, प्रचण्डले भने, ‘मुलुक नराम्रोसँग ध्रुवीकरणमा जान्छ, संविधानसभाभित्र मात्रै होइन सिंगै नेपाली समाजमा कित्ताकाट हुन्छ ।’ 
 
संविधानसभाका अध्यक्षलाई सहमतिको विकल्प नभएको बताएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राप्रपाका नेता सुर्यबहादुर थापा र कांग्रेसका एक नेतासँग पनि सहमतिको लागि पहल गर्न आग्रह गरेको बताए । 






प्रतिक्रिया दिनुहोस्...