आयो हाछेथुको कडा नियम, चालक मात्र होइन यात्रु पनि ट्राफिक प्रहरीको फन्दामा -
ललितपुर ट्राफिक प्रहरीले लगनखेलदेखि कुपण्डोलसम्म सञ्चालन हुने सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने चालक र सहचालकलाई गाडी रोक्न पाउने स्थानको जानकारी दिइएको कार्ड वितरण गरेको छ ।
गत सोमबारदेखि लगनखेलबाट कुपण्डोलसम्म चल्ने सार्वजनिक यातायातका साधनका लागि १० स्थान निर्धारण गरेको भएपनि चालकले जथाभावी गाडी रोक्ने र यात्रु चढाउने र ओराल्ने गरिआएकाले निर्धारित १० स्थान सहितको कार्ड चालक र सहचालकलाई वितरण गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा जावलाखेलका प्रमुख सीताराम हाछेँथुका अनुसार आज मात्रै ६६२ वटा कार्ड वितरण भएको छ ।
हाछेँथुले गाडी रोकी यात्रु चढाउन र ओराल्न लगनखेल, पाटन अस्पताल, कुमारीपाटी, मानभवन, जावलाखेल, दमकल मोड, पुलचोक, हरिहरभवन, इनार मोड र कुपण्डोललगायतका स्थान निर्धारण गरिएको छ ।
सोमबार पहिलो दिन निर्धारित स्थानविपरीत यातायातको साधन रोकेको भन्दै प्रहरीले १८ जना सवारी चालकलाई कारबाही गरेको छ ।
नयाँ व्यवस्था अनुसार तोकिएको स्थानभन्दा अन्यत्र गाडी रोके चालक र रोक्ने प्रयास गरे यात्रुसमेत कारबाहीमा पर्नेछन् । रासस