ट्याक्सीमा छुटेको २२ तोला सुन फिर्ता


फोटो : अन्नपूर्ण

काठमाडौं : चालक सवारी हाँक्न जति पोख्त हुनुपर्छ, उति नै इमानदार पनि हुनुपर्छ भन्ने भनाइ चरितार्थ गरेका छन् काभ्रेका चूडामणि प्रधानले। यात्रुले आफ्नो ट्याक्सीमा छुटाएको बहुमूल्य गरगहना बिनाहिचकिचाहट प्रधानले फिर्ता गरेका छन्। उनको त्यो इमानदारीमाथि सामानधनी बागबजारकी निशा श्रेष्ठले सलाम गरिन्। शनिबार अपराह्न १२ बजे भृकुटीमण्डपस्थित फनपार्कअगाडिबाट बा१ज ८२३५ नम्बरको ट्याक्सीमा चढेर दाजुको घर रानीबारी हुइँकिएकी श्रेष्ठले १३ लाख रुपैयाँ बराबरको २२ तोला सुनका गरगहनासहितको झोला ट्याक्सीमा छुटाइन्। दाजुभाउजूको गहना फिर्ता गर्न उनी रानीबारी गएकी थिइन्। उनले ट्याक्सीबाट झरेको केहीबेरपछि मात्रै झोला ट्याक्सीमा छुटेको थाहा पाइन्। उनलाई ट्याक्सी नम्बरसमेत थाहा थिएन। हुट नभएको ट्याक्सी भने हेक्का राखेकी थिइन्। सुरुमा हस्याङफस्याङ भृकुटीमण्डपमै ट्याक्सी ल्याउँछ कि भनेर दर्गुर्दै पुगिन्। ट्याक्सी नआएपछि श्रेष्ठ परिवारले घटनाबारे प्रहरीको कन्ट्रोल नम्बर १०० र ट्राफिक प्रहरीको कन्ट्रोल नम्बर १०३ मा जानकारी गराई महानगरीय ट्राफिक प्रहरी महाशाखामा पुगिन्। ट्याक्सीलाई सीसीटीभीमा मनिटरिङ गर्नपर्ने भएपछि श्रेष्ठलाई महानगरीय प्रहरी आयुक्त कार्यालयमा जान सूचित गरियो। आयुक्त कार्यालयमा पुगेर सीसीटीभी हेरे पनि प्रहरीले शंकास्पद १२ वटा ट्याक्सी पहिचान गर्‍यो। हुट नभएका दुईवटा ट्याक्सीलाई ट्राफि क प्रहरीले महाशाखा बोलायो। तीमध्ये बा१ज ८२३५ नम्बरका ट्याक्सी चालक प्रधानले आफ्नो ट्याक्सीमा छुटाएको झोला फिर्ता ल्याइदिन लागेको जानकारी ट्राफिक प्रहरीलाई गराए। यसअघि ट्राफिक नियम तोडेको आरोपमा ट्राफिक प्रहरीले कारबाही गर्न प्रधानको लाइसेन्ससमेत लिइसकेको थियो। झोला फिर्ता ल्याइदिएपछि उनले झोलाभित्र रहेको श्रेष्ठको सामान चलाए/नचलाएको बारे प्रहरी र श्रेष्ठ भएर अनुसन्धान गर्दा प्रधानले झोला नखोलेको पाइयो। आइतबार अपराह्न महाशाखामा चालक प्रधानलाई श्रेष्ठले २० हजार र ट्राफिक प्रहरीमार्फत पाँच हजार गरी २५ हजार नगदले सम्मान गरियो। श्रेष्ठले भनिन्, 'मैले आस मारिसकेको सामान २४ घन्टा नपुग्दै फिर्ता पाएँ, सबै चालक प्रधानजस्तै छैनन् होला, उनले मेरो झोला खोलेका रहेनछन्, उनलाई मेरो धन्यवाद र सलाम छ, प्रधानबाट अरू चालकले पनि पाठ सिकूना्।' चोरेर मलाई पुग्दैन : चूडामणि प्रधान
प्रधान : सुरुमा त मलाई ट्याक्सीमा झोला थियो भन्ने जानकारी थिएन। राति ट्याक्सी ग्यारेजमा राख्ने बेलामा केही छुटेको छ कि भनेर हेर्दा पो झोला देखें। कसको हो भन्ने लाग्यो। के गरौं के भयो। क्षेत्रपाटीमा पुगेपछि जसको भए पनि भोलि ट्राफिक महाशाखामा बुझाइदिन्छु भनेर सोचें। आइतबार बिहान प्रहरी कार्यालयबाट फोन आयो। ट्राफिक नियम मिचेकाले ट्राफिक सँग मेरो लाइसेन्स थियो, त्यो लिन पनि महाशाखा जानुपर्ने थियो। त्यही बहानामा झोला पनि बुझाउने सुर गरेको थिएँ। मलाई चोरेर खान पुग्दैन। चोरेर खान पनि नपरोस्। मलाई भाग्यमा विश्वास छ। म जे कमाउँछु, भगवानले जे जति दिन्छन्, त्यति हात थाप्छु र खान्छु। अर्काको सम्पत्तिमा लोभ गर्नुहुँदैन। मेरो मनमा अपराध पलाएको थियो भने पक्कै पनि त्यो झोला खोलेर हेर्थें होला। तर मेरो ध्यान त्यता गएन। समान हराउने मानिसलाई कति पीडा भएको होला भन्ने तर्फ सोच गयो। राति मात्रै थाहा पाएकाले कहिले बुझाउने जस्तो भयो। बिहान प्रहरीको फोन आएपछि ढुक्क भएँ, बुझाउन पाउने भएँ भनेर। (चालक प्रधानसँग कुराकानीमा आधारित)




प्रतिक्रिया दिनुहोस्...