सडकमा रोकिएको बेवारिसे बलेरोबाट दुई क्वीन्टल चरेस बरामद


चितवन : जिल्ला प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान भारतीय नम्बर प्लेटको बलेरो जीपमा लुकाईछिपाई राखिएको दुई क्वीण्टलभन्दा बढी चरेस बरामद गरेको छ।
 
प्रहरीले भरतपुर उपमहानगरपालिका १, दियालोरोडमा बिहान पौने आठ बजेको समयमा सीजी १८ डी ५०३९ नम्बरको भारतीय नम्बर प्लेट भएको बलेरो जीपबाट उक्त परिमाणको अवैध लागूपदार्थ चरेस बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। 

 
प्रहरीले बरामद चरेस पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जीपको पछाडिका दुई सिटमुनि बनाइएको भ्वाङ (फल्स बटम) र छतमुनिको भागमा बनाइएको खाली भागमा लुकाइछिपाइ लैजान लागेको अवस्थामा दुई सय १४ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, धादिङबाट चितवन हुँदै भारततर्फ चोरीनिकासी गर्न लागिएको चरेस बरामद गरिएको हो। मुग्लिन हुँदै नारायणगढतर्फ तीब्र गतिमा आइरहेको बलेरो जीपलाई चितवनको नारायणगढ बजारनजिक दियालोरोडमा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो। 
 
'जीप चालक र अन्य व्यक्ति फरार भएपनि भन्सार निस्साको आधारमा जीपका मालिक पत्ता लागिसकेकोले अपराधि छिटै पक्राउ पर्ने प्रहरी उपरीक्षक थापाले दाबी गरे। प्रहरी निरीक्षक रुगमबहादुर कुँवरको नेतृत्वमा खटिएको टोलीले चरेस बरामद गरेको उपरीक्षक थापाले जानकारी दिए।
 
बरामद चरेस चारपाटे आकारमा प्लाष्टिकले बेरिएको छ। इँट आकारमा चरेसलाई जीपको सिटमुनिको फल्स बटम र छतमुनिको फल्स टपमा लुकाइएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। लागू औषध नियन्त्रण एेन २०३३ अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने र लागूऔषध ओसारपसारमा सम्लग्नको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए। उक्त एेनको दफा १४ (घ) को ५ नम्बरमा उल्लेख भए अनुसार, लागूऔषध ओसारपसारमा सम्लग्नलाई दुईदेखि दस वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना हुनेछ। 
 
नब्बे लाखको कछुवा 
 
यसैबीच, चितवन प्रहरीले शनिबार दिउँसो चार बजे रत्ननगर नगरपालिका १२ स्थित लखन दराईको घरमा लुकाएर राखी बिक्री गर्न लागिएको एउटा कछुवासहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३२ वर्षीय दराईसहित रत्ननगर ८ का ३६ वर्षीय रघुनाथ नेपाली, रत्ननगर १४ का ३३ वर्षीय गौतम महत र रुकुम, बाकीकोट गाविसका २२ वर्षीय समिर देवकोटा छन्। कछुवा किन्ने ग्राहक बनेर गएका प्रहरीलाई नब्बे लाख रुपैयाँमा कछुवा बेच्न मोलमोलाई गरेपछि प्रहरीले तत्कालै चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बरामद कछुवा दुर्लभ प्रजातिको भएको प्रहरीको दाबी छ। 






प्रतिक्रिया दिनुहोस्...