भारत अमेरिकाको स्वभाविक सहयोगी : ओबामा


अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारत र अमेरिका स्वभाविक सहयोगी भएको बताएका छन् ।

तीनदिने भारत भ्रमणमा रहेका ओबामाले द्धिपक्षीय वार्तापछि नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई मुलुकबीच व्यापारिक लगानी बृद्धि गरिने बताए ।

अमेरिका भारतसँग परमाणु सम्झौताका लागि अघि बढ्न तयार रहेको भन्दै ओबामाले भारतसँगकोसम्बन्धबाट अफगानिस्तानको स्थिति राम्रो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले रुसले युक्रेनमा गरिरहेको व्यवहारले आतंकवाद फैलाउने कार्य गरेको आरोप समेत लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओबामासँगको कुराकानीमा दुई मुलुकबीच व्यापार, उर्जा, रक्षा, प्रविधिलगायतका विषयमा छलफल भएको बताए । मोदीले विश्व शान्ति र आतंकवादविरुद्ध मिलेर संघर्ष गर्ने स्पष्ट पारे ।

ओबामा भारतको गणतन्त्र दिवसको प्रमुख आतिथ्यता ग्रहण गर्न नयाँ दिल्ली आइपुगेका हुन् । विशेष विमानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लदा उनलाई स्वागत गर्न नरेन्द्र मोदी आफैं पुगेका थिए । त्यसलगत्तै राष्ट्रपति भवन पुगेर उनी महात्मा गान्धीप्रति श्रद्धासुमन अर्पण गर्न राजघाट पुगेका थिए ।

जनवरी २६ अर्थात् सोमबार आयोजना गरिएको गणतन्त्र दिवसको समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्न ओबामा भारत आएका हुन् । ओबामाको भ्रमणलाई ध्यानमा राखी भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

इतिहासमै सबैभन्दा उच्च सुरक्षा व्यवस्था गर्न हजारौं सुरक्षा बल तैनाथ गरिएको छ भने १५ हजार सीसीटिभीले निगरानी राख्नेछ । सातपत्रे सुरक्षा घेराका लागि ५० हजार सुरक्षाकर्मी खटाइएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

ओबामाको सुरक्षाका लागि अमेरिकाबाटै ५ सय गोप्य सुरक्षाकर्मी भारत आइपुगेका छन् । गणतन्त्र समारोहस्थल नयाँ दिल्लीलाई उडान निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षा गस्ती बढाइनुका साथै ठूल्ठूला भवनमा ‘स्नाइपर’ हतियारयुक्त विशेष दस्ता तैनाथ गरिएको छ ।

तीनदिने भ्रमणका लागि आउनु भएका ओबामा र अमेरिकी प्रतिनिधिमन्डलका लागि दिल्लीको मौर्य सेराटन होटलका ४ सय ३८ कोठा पूरै ‘बुक’ गरिएको छ । ओबामा चढ्ने कार अमेरिकाबाटै झिकाइएको छ भने ओबामा रहने र हिँड्ने ४ सय किलोमिटर क्षेत्रमा हवाई उडानमा रोक लगाइएको छ ।

अमेरिकाबाट ल्याइएका दुई दर्जन बढी विशेष तालिमप्राप्त कुकुर पनि भ्रमण अवधिभर भारतमै रहनेछन् । (एजेन्सी)





प्रतिक्रिया दिनुहोस्...