गंगा नदी किनारमा सय बढी शव भेटिए
फोटो :एजेन्सी (गंगा नदी किनार भेटिएका शव)
कानपुर (भारत) : भारतको उत्तर प्रदेश राज्यस्थित कानपुर उन्नावमा गंगा नदीको किनारामा सय बढी शव पानीमा तैरिरहेको अवस्थामा भेटिएका छन् । ती शवहरु विषालु मादक पदार्थ सेवन गर्दा ज्यान गएकाहरुको हुन सक्ने बताइएको छ । कुकुर र चीलले खाँदै गरेको अवस्थामा ती शवहरु भेटिएपछि भारतीय सञ्चारमाध्यममा हंगामा भएको छ। नदीमा भेटिएकामध्ये अधिकांश शव बालबालिका र वृद्धवृद्धाका रहेका छन् । भारतीय सञ्चारमाध्यम आजतकले १०८ वटा शव गंगा नदी किनारमा तैरिरहेको भेटिएको जनाएको छ । अन्य केही सञ्चारमाध्यमले भने २ सय बढी शव बेवारिसे फेला परेको जनाएका छन् । शवहरु भेटिएको स्थानमा भारतीय सरकारका उच्च अधिकारीहरु पुगिसकेका छन् । सय बढी शवहरु भेटिएपछि तिनको ब्यवस्थापन गर्नेबारेमा समेत भारतीय दलहरु विभाजित भएका छन् । केही भारतीय सञ्चारमाध्यमले तीन महिनायता मात्रै २ सय बढी शव गंगा किनारमा भेटिइसकेको दाबी गरेका छन् केही दलले शवलार्इ नदीबाट निकालेर दाहसंस्कार गरिनुपर्ने बताएका छन् । भारतीय जनता पार्टीको उत्तर प्रदेशका अध्यक्ष लक्ष्मीकान्त बाजपेयीले भने ती शवको पोष्टमार्टम गरेर मात्र अन्तिम संस्कार गरिनुपर्ने अडान राखेका छन् । शवहरु भेटिएपछि भारतीय गृहमन्त्री राजनाथ सिंहले सरकारले छानबिन थाल्ने बताएका छन् । सय बढीको संख्यामा गंगा नदीमा कसरी शव फ्याकियो भन्ने अझै खुल्न सकेको छैन।