युवा भारततिर लागेपछि मलामी समेत अन्तबाट


रोजगारीका लागि भन्दै कञ्चनपुरको दैजी– ४ स्थित बैतोडा सार्की टोलका युवा गाउँ नै खाली गरेर भारततर्फ लागेपछि गाउँमा बूढापाका, महिला र बालबालिका मात्रै बस्दै आएका छन् । रोजगारीका लागि गाउँका तीन दर्जनभन्दा बढी युवा भारततर्फ लागेका हुन् ।

गाउँ नजिकै भएर बग्ने स्थानीय खोलाले दुई वर्षअघि जग्गा बगाएपछि यहाँका २३ परिवारले वर्षभरिको लुगाफाटो र खाद्यान्नको जोहो गर्नका लागि युवालाई भारततर्फ पठाउने गरेका छन् । जग्गा खोलाले बगाएपछि सार्की परिवार गाउँका अन्यको जग्गामा विसं २०५९ देखि छाप्रा हालेर बस्दै आएका छन् । विद्यालय जाने उमेरका युवालाई भारतमा मजदुरीका लागि पठाउने गरेको र छ महिना गाउँकै कृषकको अधियाँमा खेतमा काम गर्दैआएको ७० वर्षीय कृष्ण सार्कीले बताउनुभयो । “छ महिना भारतमा कुल्ली र दरवान भएर काम गरेबापत ल्याउने रकमले वर्षभरिको काम चलाउनुपरेको छ, ” उहाँले भन्नुभयो, “दश वर्षदेखि ३० वर्षसम्मका युवा सबै भारतमा काम गर्दैआएका छन् ।” जिल्ला विकास समितिले गाउँमै रोजगार दिनका लागि बनाइदिएको छाला प्रशोधन केन्द्र खोलामा आएको बाढीले बगाएर लगेपछि रोजगारविहीन भएका छौं, उत्तरे भुलले भन्नुभयो, “रहरले नभएर बाध्यताले भारतमा मजदुरी गर्दै आएका छौं ।” छालाको काम गरेर एक वर्षसम्म राम्रै आम्दानी भएको थियो, त्यो पनि एक वर्ष नपुग्दै खोलाले बगाएपछि रोजगारविहीन बनेको प्रताप सार्कीले बताउनुभयो । आर्थिक अवस्था निकै दयनीय भएकाले सार्कीटोलका बासिन्दाले बालबालिकालाई विद्यालयसम्म पु¥याउन नसकेको बताएका छन् । युवाजति भारततर्फ लागेपछि गाउँमा पर्ने बिरामीको उपचार गर्न र मलामी जानका लागि अन्य गाउँका व्यक्तिलाई खोजेर ल्याउनुपर्ने बाध्यता छ । यहाँ बस्दै आएका सार्की परिवारले पुनःस्थापना र रोजगारीको व्यवस्था भए सहज जीवनयापन गर्न सकिने बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्...