कुनै हालतमा जातीय राज्य हुँदैन: अध्यक्ष ओली


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष ओलीले बहुजाति, बहुभाषी रहेको  कुनै हालतमा जातीय राज्य बनाउन नसकिने बताएका छन् ।
 
'बहुजाति, बहुभाषी रहेको मुलुकमा जातीय राज्य बनाउँदा सबै जातिलाई सहभागी गराउन सकिन्न', प्रगतिशील प्राध्यापक सङ्घको नवौँ राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले भने, 'जातीय राज्यले देशमा थप समस्या ल्याउने भएकाले एमालेले जातीय राज्य कुनै हालतमा हुनु हुँदैन भन्ने अडान लिएको हो ।'
 
अध्यक्ष ओलीले संविधान लेखनको प्रक्रियासँगै एमाओवादीसहितका विपक्षी दलहरुसँग सहमतिको प्रयास पनि जारी रहने बताए । 'हरेक दिन सहमतिको प्रयास गर्दा पनि सहमति हुन सकेन,' अध्यक्ष ओलीले भने, 'त्यही कारण प्रक्रिया अगाडि बढाउनु परेको हो । प्रक्रिया अघि बढे पनि सहमति प्रयास भइरहने छ।'
 
अध्यक्ष ओलीले सहमतिका नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै जनताको मत र राष्ट्रको भलाइका लागि संविधान लेख्नुपर्नेमा जोड दिए  ।
 
संविधान एउटा पार्टीकोमात्र कार्यसूची नभएको भन्दै ‌ओलीले मुलुकको उन्नति, समृद्धि र जनताको हकअधिकारका लागि चाहिएको हुनाले कसैले पनि विरोध गर्न नहुने बताए ।
 
कार्यक्रममा नेकपा (माले)का महासचिव सिपी मैनालीले निर्धारित मितिमा संविधान लेखनको कार्य पूरा गर्न नसके पनि जतिसक्दो छिट्टै सर्वमान्य संविधान जारी गर्नुपर्ने बताए ।
 
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालजस्तो सानो मुलुकमा सङ्घीयता चाहिन्न भ भनेर आफ्नो पार्टीले उठाएको कुरा वास्ता नगर्दा शीर्ष दलहरु समस्यामा फसेको बताए । उनले  प्रक्रियाबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
 
सङ्घका अध्यक्ष विजयबहादुर सिलवालले सङ्घमा प्रगतिशील विचार राख्ने प्राध्यापकहरुले पेशागत हकहितका लागि निरन्तर आवाज उठाइरहेको बताए । सङ्घको सम्मेलनमा देशभरबाट आठ सय प्रतिनिधि सहभागी छन् । सम्मेलनले शनिबार नयाँ कार्यसमिति चयन गर्ने छ। रासस






प्रतिक्रिया दिनुहोस्...