मिठाई ठानेर विष खाँदा बालकको मृत्यु


५ माघ, पाँचथर । मुसा मार्नका लागि प्रयोग गरिने विषलाई मिठाई भनेर खाँदा पाँचथरमा एक बालकको मृत्यु भएको छ । अर्का एक बालक गम्भीर विरामी परेका छन् ।
विष सेवनबाट फिदिम १ का देबी लकान्द्रीका तीन वर्षीय छोरा युसनको मृत्यु भएको हो । उनका साथी मिराक केरुङ सिकिस्त विरामी परेको निरीक्षक रबिराज थपलियाले जानकारी दिए ।
युसनको स्कूल ब्यागमा अभिभावकले असावधानीबस मुसामार्ने विष राखेका थिए । सोही विषलाई युसन र मिराकले बाँडेर खाएका थिए । त्यसलगत्तै विरामी परेका युसनको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । मिराकको सोही अस्पतालमा उपचार जारी छ ।
युसन र मिराक सेतो गुराँस नमुना बाल विकास केन्द्रका विद्यार्थी हुन् । विद्यालय जाँदा बाटोमा मिठाई ठानेर विष खाएका उनीहरु विद्यालय पुगेलगत्तै विरामी परेका थिए । लगातार बान्ता गर्न थालेपछि उनीहरुलाई जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको थियो । चिकित्सकहरुले मुसा मार्न प्रयोग हुने विष खाएको पुष्टि गरेका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धरानमा रिफर गरिएको थियो ।
-नरेन्द्र रिमालबाट






प्रतिक्रिया दिनुहोस्...