पारसलाई सहवाग र मुरलिधरनसँगै खेल्ने अवसर एमसीसीले रोज्यो पारसलाई


काठमाडौ, माघ ६ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले भारतका ब्याटिङ हस्ती वीरेन्द्र सहवाग र विश्व कीर्तिमानधारी बलर मुथैया मुरलिधरनसँगै एकै टोलीबाट खेल्ने भएका छन् । विश्वकै पुरानो मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले यो संयोग जुराइदिएको हो । मार्चमा यूएईमा हुने इमिरेट्स ट्वान्टी-ट्वान्टी प्रतियोगितामा खेल्न एमसीसीले पारसलाई लिएको हो । पारससँगै एमसीसीको टोलीमा सहवाग, मुरलिधरन र इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान साम रोबसनले खेल्नेछन् । एमसीसीसँगै प्रतियोगितामा लंकासायर, योर्कसायर र ससेक्सले सहभागिता जनाउँदै छन् । सन् १७८७ मा स्थापना भएको एमसीसी क्रिकेटको संस्थापक संस्था जस्तै थियो । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड -ईसीबी) को स्थापनाअघि एमसीसीले नै बेलायती क्रिकेटको नेतृत्व गथ्र्यो । क्रिकेटका नियम अहिले पनि एमसीसीले नै बनाउने गरेको छ । एमसीसी काउन्टी क्रिकेटमा आफैं खेल्ने टोली हो । विश्वप्रसिद्ध लर्ड्स क्रिकेटमा अवस्थित एमसीसीले हरेक वर्ष विश्वका सुपरस्टार छवि भएका खेलाडीलाई लिने गर्छ । गत वर्ष एमसीसीबाट भारतका सचिन तेन्दुलकर र वेस्ट-इन्डिजका महान् ब्याट्सम्यान ब्रायन लाराले खेलेका थिए । लर्ड्समा तेन्दुलकरले विश्व-११ विरुद्ध एमसीसीको कप्तानी गरेका थिए । एमसीसीबाट यसअघि एसोसिएट खेलाडीमा अफगानिस्तानका मोहम्मद नाबी र हमिद हसनले खेलेका थिए । सन् २००९ देखि नेपालको कप्तान रहँदै आएका पारसलाई उनको लोकप्रिय छविका कारण एमसीसीले टोलीमा समेटेको हो । पारसको कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा विश्व ट्वान्टी-ट्वान्टी खेलेको थियो । त्यहाँ हङकङ र अफगानिस्तानलाई पराजित गरेकाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको थियो ।

'एमसीसीमा छनोट भएर खेल्न पाउनु मेरा लागि ठूलो सम्मान हो, नेपाली क्रिकेट कहाँ छ भनेर देखाउने यो राम्रो अवसर हो र म यो क्षणको प्रतीक्षा गरिरहेको छु,' पारसले एमसीसीको विज्ञप्तिमा भनेका छन्, 'नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्न पाएको यो अवसरमा मलाई विश्वास छ, म आफ्नो उत्कृष्टता देखाउनेछु ।' लन्डनमा रहेका युवा व्यवसायी प्रशान्त कुँवरले पारसको एमसीसी यात्राको पहल गरेका हुन् । उनकै पहलमा ६ महिनाअघि पारस लन्डन गएर त्यहाँको स्थानीय क्लबसँग नेपाली क्रिकेटको विकासका लागि पहल गरेका थिए । नोभेम्बरमा एमसीसी नेपाल आउने एमसीसी नोभेम्बरमा दुई साताका लागि नेपाल आउने भएको छ । टोलीको यो तेस्रो नेपाल भ्रमण हुनेछ । एमसीसी यसअघि सन् २००३ र २००९ मा नेपाल आएको थियो । सन् २००९ मा पछिल्लोपटक नेपाल आउँदा एमसीसीको नेतृत्व इंग्ल्यान्डका पूर्वस्पिनर दीपक पटेलले गरेका थिए । यसवर्ष एमसीसी र नेपाल क्रिकेटको सम्बन्ध सुमधुर बनेको छ । नेपाली यू-१९ टोलीका कप्तान तथा विकेटकिपर राजु रिजाल र अलराउन्ड दीपेन्द्र ऐरी ५ महिना लामो प्रशिक्षणका लागि एमसीसीको युवा क्रिकेट कार्यक्रमका लागि प्रशिक्षण लिन लन्डन जाँदै छन् । एमसीसीका क्रिकेट प्रमुख जोन स्टेफनसनले भने, 'एमसीसीले क्रिकेटमा विकसित हुँदै गइरहेका राष्ट्रलाई नजर लगाइरहेको छ, जहाँ क्रिकेट लोकपि्रय भइरहेको छ । त्यो स्तरमा नेपाल योग्य छ । एमसीसीमा केही नेपालका खेलाडी छान्ने र हाम्रो टोली त्यहाँ पठाउने निर्णयले नेपालको क्रिकेट विकासमा अझ बल पुग्नेछ ।' स्टेफनसनले एमसीसीको विज्ञप्तिमा अगाडि भनेका छन्, 'नेपालले केही प्रतिभावान् खेलाडी उत्पादन गर्न थालिसकेको छ । हाम्रो युवा क्रिकेट कार्यक्रममा नेपालका दुई युवा खेलाडी आउँदै छन् । पारस खड्कालाई मार्चमा यूएईमा हुने ट्वान्टी-ट्वान्टी प्रतियोगितामा खेलाउन पाउँदा हामी निकै उत्साहित छौं । मलाई विश्वास छ, उनलाई समावेश गर्दा हाम्रो टोलीलाई फाइदा भएको छ । एमसीसीमा उनको समावेशले नेपालमा धेरै खेलाडीलाई प्रेरणा हुनेछ ।'




प्रतिक्रिया दिनुहोस्...