भीषणको हत्यामा संलग्न फरार दुई पक्राउ !!



धादिङ, २० माघ । दुई वर्षअघि धादिङको दार्खा गाविसको रातमाटेमा अपहरण गरेर भीषण सिंखडाको हत्या गरी फरार रहँदै आएका दुईजना अभियुक्त पक्राउ परेका छन् । 

दार्खा गाविस वडा नम्बर ७ का २७ वर्षीय सिंखडाको २०६९ मंसिर १८ गते दार्खा गाविस वडा नम्बर १ रातमाटेमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । सिंखडाको हत्यामा संलग्न भएको आरोपमा कर्तव्य ज्यान मुद्दा लागेपछि फरार रहेका बीरबहादुर भन्ने २८ वर्षीय कैलाश तामाङ र रामबहादुर भन्ने १९ वर्षका अदित तामाङलाई माघ १८ गते धादिङको रि गाविस वडा नं।

१ तावलमा लुकीछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दार्खा धादिङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । भीषणको हत्यामा संलग्न भएको आरोप लागेका दार्खाका श्याम तामाङ भने सोमबार तावलनजिकै भीरमा मृत अवस्थामा भेटिएका थिए ।

 सोमबार रि गाविसमा पक्राउ गरी सदरमुकाम ल्याइएका २ जनालाई प्रहरीले मंगलबार नै अदालतमा पेश गरेको छ । इलाका प्रहरी कार्यालय दार्खाका प्रहरी सहायक निरीक्षक रामसरोवर सिंहको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले दुई वर्षदेखि लुकीछिपी फरार रहँदै आएका दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।





प्रतिक्रिया दिनुहोस्...