ट्वान्टी-२० सिरिज खेल्न पाकिस्तानद्वारा नेपाललाई निमन्त्रणा


अप्रिल ११ देखि पाकिस्तानमा सुरु हुने पन्जाव फेस्टिवल ट्वान्टी–२० क्रिकेट सिरिजमा भाग लिन पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी) ले नेपाली क्रिकेट टोलीलाई सिरिज खेल्न निम्तो दिएको छ | नेपाल क्रिकेट संघ (क्यान) क कार्यवाहक महासचिव उत्तम कर्माचार्यले दिएको जानकारी अनुसार पाकिस्तानले क्यानलाई आइतबार निमन्त्रणा प्राप्त भएको बताए | यसका साथै उनले उक्त प्रतियोगितामा अफगानिस्तान र युएईलाई पनि आमन्त्रण गरेको बताए | कर्माचार्यले पिसिबीको निमन्त्रणा नेपालको लागि फाइदाजनक भएको र यो नेपाली क्रिकेट विकासको लागि राम्रो र महत्वपुर्ण अवसर भएको बताए। तर, नेपाली टोली पाकिस्तान जाने कि नजाने भन्नेमा निर्णय भईनसकेको महासचिवले जानकारी दिए | सन् २०१४ मा बंगलादेशमा आयोजना भएको ट्वान्टी -२० विश्वकपमा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीले आँउदो जुलाईमा आयरल्यान्ड र स्कटल्यान्डमा हुने ट्वान्टी–२० विश्व कप क्रिकेटको छनोटको खेलमा सहभागिता जनाउने छ। ट्वान्टी-२० छनोट खेल अघिको पाकिस्तान भ्रमण नेपालको लागि तयारी स्वरूप निकै फाइदाजनक हुने कर्माचार्यले बताए | सुरक्षाको बारेमा पूर्णरुपमा सन्तुष्ट भएपछि नेपाली टोलीलाई पाकिस्तान पठाउन सकिने क्यानले बताएको छ। पिसिबीका अध्यक्ष शहरयार खानले अन्तराष्ट्रिय सञ्चार माध्यमलाई नेपालसँगै नेदरल्यान्ड र नामिबियालाई पनि पाकिस्तान भ्रमणको लागि निमन्त्रणा दिएको बताएका छन्। पाकिस्तानको भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोली चढेको बसलाई सन् २००९ मा आतंककारी हमला भएपछि लामो समय कुनै पनि राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानको भंमण गरेनन्। गत वर्ष मात्रै केन्याले विश्व क्रिकेट लिग डिभिजन–२ को तयारीका लागि पाकिस्तानी टोली ‘ए’ सँग पाँच म्याचको वान-डे सिरिज खेलेको थियो |




प्रतिक्रिया दिनुहोस्...