ब्रिटिश फुटबल कप्तानले भने–गोर्खाली सुरक्षागार्ड राखेपछि ढुक्क
फोटो :फाइल फोटो
काठमाडौं : सन् १९८२ मा फक्ल्यान्ड टापुका लागि युद्ध गरेका इङ्ल्यान्ड र अर्जेन्टिनाबीच सो टापुलाई लिएर अहिले पनि विवाद छ । गोर्खाली सेनाको साथ पाएको इङ्ल्यान्डले फक्ल्यान्डको टापुका लागि भएको युद्ध अर्जेन्टिनालाई घुँडा टेकाएको थियो ।
अर्जेन्टिनाका महान फुटबलर डियगो म्याराडोनाले १९८६ को विश्वकपमा इङ्ल्यान्डलाई पराजित गरेपछि दिएको प्रतिक्रिया अहिले पनि उत्तिकै चर्चामा छ । ‘हामीले इंग्ल्याण्डलाई हरायौं, किनकि त्यहाँ गोर्खाहरु थिएनन्', उनले भनेका थिए ।
पहिलो र दोस्रो विश्वयुद्धमा बेलायतको तर्फबाट लडेका गोर्खाली सेनाहरुको बहादुरीको अहिले पनि संसारभर प्रशंसा हुन्छ । राजनेतादेखि सर्वसाधरणलेसम्म गोर्खाली सेनाको बहादुरीको सम्मान गर्छन् ।
गोरखाली सेनाले पहिलो र दोस्रो विश्वयुद्धमा मात्र होइन अहिले पनि पनि आफ्नो बहादुरी देखाइ नै रहेका छन् । त्यो कोसोभाको लडाइँ, भारतको कारगिलको लडाइँमा होस् या अफगानिस्तानमा तालिवानसँगको लडाइँमा ।
खुकुरीको भरमा विश्व थर्काएका गोर्खाली सेनाले अफगानिस्तानमा देखाएको बहादुरीको बेलायतका युवराज ह्यारीसमेत गर्न भ्याएका थिए । उनले अफगानिस्तानको लडाइँमा सहभागी गोर्खाली सेनाको प्रशंसा गर्दै 'जब तपाईंलाई म गोर्खाहरुको साथमा छु भन्ने हेक्का हुन्छ, त्यहाँ जस्तो सुरक्षित ठाउँ अन्यत्र कहीँ पनि हुन्न ।' भनेका थिए ।
पछिल्लो पटक गोर्खाली सेनाको प्रशंसा इङ्ल्यान्डकै एक चर्चित फुटबलरले गरेपछि गोर्खाली सेनाहरुप्रति अझ विश्वास बढेको छ ।
गोर्खाली सेनाको अगाडि फक्ल्यान्डको टापुमा सन् १९८२ मा घुँडा टेकेको म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका अर्जेन्टिाइन फुटबलर एन्जेल डि मारियाको बेलायतस्थित निवासमा हतियारधारीले तोडफोड गरेपछि गोरखालीहरुको पुनः चर्चा भएको हो ।
घर तोडफोड र चोरी भएपछि होटलमा बस्न बाध्य अर्जेन्टाइन फुटबलर डि मारियालाई इङ्ल्यान्ड तथा म्यानचेस्टर युनाईटेडका क्याप्टेन वाइने रुनीले गोर्खालीलाई सुरक्षागार्ड राख्न सुझाव दिएका हुन् ।
सन् २०१० बाट गोर्खालीलाई सुरक्षागार्ड राख्दै आएका रुनीले आफूलाई गोरखालीप्रति धेरै विश्वास रहेको जनाउँदै अर्जेन्टाइन डि मारियालाई पनि गोर्खालीबाट सुरक्षा लिएर ढुक्क हुन सुझाव दिएको खबर को अनलाइन संस्करणमा उल्लेख छ ।
चेसियरस्थित घर चोरले घर फोडेपछि डि मारियाकी पत्नी जोर्जेलिन आतंकित बनेकाले पुनः घर फर्कन नमानिरहेका बेला रुनीले डि मारियालाई गोर्खाली गार्डबाट सुरक्षा लिन सुझाव दिएको इङ्ल्यान्डको मिरर पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ।
‘मेरो घर र मेरो बसोबास रहेको क्षेत्र वेस ब्राउनको सुरक्षाको जिम्मा समेत गोरखालीले लिएका छन’, रुनीले भनेका छन्, ‘सुरक्षाक्षेत्रमा गोर्खालीको ठूलो आर्कषण छ । उनीहरुले सुरक्षाको जिम्मा लिएको क्षेत्रमा जो कोही मानिस छेउसमेत पर्दैनन् ।’
यसै सिजनमा स्पेनिस क्लब रियाल मड्रिडबाट म्यानचेस्टर युनाइटेड आएका डि मारिया घरमा तोडफोड र चोरी भएपछि तनावमा छन् । २७ वर्षीय उनले युनाईटेडका लागि सुरुवातमा राम्रो प्रदर्शन गरेपनि पछिल्लो चरणमा उनको खेल खस्केकोमा आलोचना भइरहेको छ ।
सन् १९८२ मा भएको इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको लडाइँमा ६ सय ५५ अर्जेन्टिनी सेनाको ज्यान गएको थियो । सो क्रममा २ सय ५५ जना वेलायती सैनिक पनि मारिएका थिए । सो लडाइँमा बेलायती सेनाको तर्फबाट गोर्खाली सेनाले बहादुरी देखाएपछि अर्जेन्टिनाले घुँडा टेकेर बेलायतले फोक्ल्यान्ड टापु कब्जा गरेको थियो ।
अहिले पनि सो टापुबारे दुर्इ देशबीच विवाद जारी छ । पछिल्लो पटक अर्जेन्टाइन फुटबल टिमले फोक्ल्यान्ड टापु आफूहरुको भएको सन्देशसहितको झण्डा प्रदर्शन गरेपछि विश्व फुटबलमा नयाँ राजनीतिक विवाद शुरु भएको थियो ।