जलाइएको आधा आकाश
काठमाडौं–राजधानीको वसन्तपुरमा छ दिनअघि भएको तेजाब हमलामा घाइते भएका संगीता पुलामी मगर र सीमा बस्नेत अनुसन्धान क्रममा भेट्न आएका प्रहरी अधिकारीसँग निरन्तर भनिरहेका छन्, ‘हाम्रो अनुहार डढाउनेलाई छिटो समात्नुस् सर! ता कि कुनै चेलीमाथि फेरि यस्तो हमला गर्ने साहस कसैलाई नहोस्!' ती प्रहरी अधिकारी ‘हुन्छ' भन्दै उनीहरूलाई आश्वस्त पारिरहेका छन्। प्रधानमन्त्री सुशील कोइरालाले नै बालुवाटार पुगेका अधिकारकर्मीसामु तेजाब हमलाको निन्दा गरे।
र, भने, ‘दोषीमाथि कडा कारबाही हुनेछ।' तर, देशका कार्यकारी प्रमुख र अनुसन्धान अधिकारीहरूको आश्वासनभन्दा व्यावहारिक यथार्थ फरक छ। cover story1 सायद वसन्तपुरमा तेजाबले जलाइएकी संगीता र सीमालाई थाहा छैन, देशभरि दसौं जना दिदी–बहिनी छन्, जसलाई उनीहरूलाई भन्दा अघि नै तेजाबले जलाइयो, आगोले पोलियो। संगीता र सीमालाई सायद यो पनि थाहा छैन, महिनौं बितिसक्दा पनि ती घटनाका अपराधी फेला परेका छैनन् वा फेला परेर पनि उचित दण्डबिनै छुटेका छन्।
... ‘उनीहरूलाई कुन अस्पताल भर्ना गरिएको छ?' उनले टेलिफोनमा कुराकानी सुरु हुनेबित्तिकै संगीता र सीमाका बारेमा सोधिन्। ‘संगीतालाई सिनामंगलको काठमाडौं मेडिकल कलेज र सीमालाई वीर अस्पताल,' मैले जवाफ दिएँ। ‘ए!' उनले भनिन्, ‘मलाई त स्किन केयरमा लगेको थियो।' ‘अनि कस्तो छ त?' उनले फेरि जिज्ञासा राखिन्। cover story3 ‘संगीता अलि गम्भीर छिन्, उनको निधार, छाती, मुख र आँखामा बढी जलेको घाउ छ,' मैले भनेँ, ‘सीमाको पनि निधार र गालामा चोट छ, तर त्यति गहिरो छैन।' ‘उफ् ...!'
उनले लामो सुस्केरा छाडिन्, ‘संगीताको घाउ मेरोभन्दा धेरै ठूलो रहेछ, मुखको चोटले त बढ्तै जलन हुन्छ नि! कति पीडा भयो होला है उनीहरूलाई! कस्ता पापी हुन्छन् मान्छेहरू!' धनगढीकी यी २१ वर्षीया युवतीले परिचय खुलाउन मानिनन्। ‘चोट लाग्नु लागिसक्यो, फेरि आफ्नो नाम छापेर परिवारको पीडामा थप पीडा थप्नु?' भनिन्, ‘हुन्न।' उनी संगीता र सीमाको जलन अरूभन्दा बढ्तै अनुभूत गर्न सक्छिन्। किनकि, वर्षदिनअघि ठ्याक्कै यही घाउ उनलाई पनि लागेको थियो। यो एक वर्षमा घाउ धेरै भरिइसक्यो, खाटो बाँकी छ। बाहिरी जलन कम भइसक्यो, भित्री व्यथा उस्तै छ। २४ मंसिर, २०७०। बिहान ७ बजेको समय। डम्म कुहिरो लागेको थियो। बाटो सुनसान।
उनी पाँच मिनेट दुरीको कलेज पुग्न ६:५५ मा घरबाट निस्किइन्। हातमा किताब च्यापेकी थिइन्। चिसो छल्न दुवै हातले किताब अँठ्याएर ज्यान कक्रक्क पारिन्। अनि एक सुरले फटाफट हिँड्न थालिन्। घरको आँगनै नछेलिँदै पट्टी बाँधेर मुख ढाकेको एक युवक हुरीझैं सामुन्ने आइपुग्यो। अनुहार चिनिन्थेन, तर उसको नियत सफा देखिँदैनथ्यो। हातमा एउटा सिसी बोकेको थियो, जसमा केही तरल पदार्थ देखिन्थ्यो। उनको ज्यान मुटुसम्मै चिसो भएर आयो। जीउभरि काँडा उम्रिए। न फरक्क फर्केर भाग्ने विचार सुझ्यो न बाटो छलेर अगाडि बढ्ने आँटै गरिन्। मूर्तिझैं ठिङ्ग उभिइरहिन्। त्यो केटोले एक निमेष पनि ढिलो गरेन। हातमा बोकेको बोतलको बिर्को खोल्यो। र, त्यसमा रहेको तरल पदार्थ झ्याम्म उनको अनुहारतिर छ्याप्यो।
तेजाब रहेछ। Acid attacked classroom 02 निधारमा एक थोपा पर्नेबित्तिकै उनलाई जीउभरि एकसाथ करोडौं सुई रोपेजस्तो अथाह जलन हुन थालिहाल्यो। उनले किताब च्यापेको हातले अनुहार ढाकिन्। धन्न बाक्लो कपडा लगाएकी थिइन्। हातको सुरक्षाले अनुहार धेरै जल्न पाएन। निधारको दाहिने भाग र दाहिने आँखामा चोट लाग्यो। सुरक्षानिम्ति उठेका हात भने उनले जोगाउन सकिनन्। भसक्कै डढे। तेजाबको त्यो हमला ‘घरमा कसैले आगोको गोला फालेजस्तै' लाग्यो उनलाई। उनी जलन सहन नसकेर बेपत्ता च्याँठिइन्। नजिकै घरबाट दाइ र परिवारका अरू सदस्य दौडँदै आए। छरछिमेक पनि झुम्मिए।
सबैले वरपर गल्लीमा आक्रमणकारीको खोजी गर्न थाले। मंसिर मासको डम्म कुहिरोमा आक्रमणकारी अलप भइसकेको थियो। उपचाररत अवस्थामा अस्पतालको शय्याबाट उनी पनि संगीता र सीमाजस्तो बारम्बार एउटै कुरा दोहोर्याइरहन्थिन्, ‘मलाई एसिड छ्याप्ने आक्रमणकारीलाई जसरी पनि पक्राउ गर्नू, ता कि अर्को कुनै चेलीमाथि फेरि यस्तो हमला नहोस्!' प्रहरी अनुसन्धान सुरु भयो। cover story2 परिवारको शंका त्यही टोलको एउटा केटोमाथि थियो, जसले पहिले पनि बारम्बार डरधम्की देखाउने र तर्साउने गर्थ्यो। दिनभरि उनीहरूको पसलवरिपरि घुमेर मानसिक तनाब दिइरहन्थ्यो। उनको बिहेको कुरा छिनेपछि त त्यो केटा अलि बढी नै आक्रामक बन्न थालेको थियो। यहाँसम्म कि, कुरा छिनिएको केटाको घर छिरेर परिवारलाई तर्साउनधरी भ्याइसकेको थियो। पीडितको यही बयानका आधारमा प्रहरीले खोजी सुरु गर्यो।
नभन्दै त्यही केटो रहेछ। पुस दोस्रो सातातिर पक्राउ परेको उसले आफ्नो अपराध कबुल गर्न ढिलो गरेन। आक्रमणकारी समातिएपछि उनी ढुक्क भइन्। त्रसित मन अलि हल्का भयो। कम्तीमा आफ्नो ज्यान लिन खोज्ने व्यक्ति सजाय भोगिरहेको छ भन्ने विचारले उनी मनलाई सान्त्वना दिन्थिन्। त्यो सान्त्वना महिनादिन पनि टिकेन। अदालतले ५० हजार रुपैयाँ धरौटीमा उसलाई रिहा गरिदियो। पहिल्यैदेखि आपराधिक गतिविधिमा प्रेरित ऊ यो दण्डहीनतापछि झनै सुरियो। पैसा भएपछि कानुनधरी किन्न सकिन्छ भन्नेमा ढुक्क भएको अपराधीलाई लगाम लगाउने को? उसको डरधम्की र दुर्व्यवहार हलक्कै बढ्यो। दिनको दसचोटि घर ओहोरदोहोर गर्न थाल्यो। यही डरले घरबाहिर हिँडडुल गर्नै छाडिन् उनले।
भित्र बस्दा पनि ढोकामा चुकुल टुट्थेन। पर्दा कहिल्यै खुला राखिनन्। मंसिरमा तेजाब हमला भएपछि कलेज जान त बन्दै गरिन्। पछि प्राइभेट फारम भरेर प्लस टु पास गरिन्। त्यो घटना उनको जीवनको खड्गो बनेर तेर्सिएको थियो। कुरा छिनिसकेको बिहे टुट्यो। त्यो केटा र उसको परिवार यति डरायो, बिहेको कुरा अघि बढाउनै चाहेन। उनी र उनको परिवारले जोरजबर्जस्ती गर्नु पनि भएन। एकातिर आफूमाथिको भौतिक आक्रमण, अर्कातिर बिहे टुट्दाको मानसिक पीडा– उनी लामो समय विक्षिप्तझैं भइन्। कति पल त जिन्दगी नै व्यर्थझैं लाग्यो। ‘रुमीदिदी (बिभिएस–नेपालकी सामाजिक कार्यकर्ता रुमी राजभण्डारी) ले आडभर नदिनुभएको म आज यसरी तपाईंसँग कुरा गर्न पनि सक्दिनथेँ
,' उनले भनिन्, ‘मलाई खासमा तपाईंसँग बोल्ने मनै थिएन, आफ्नो व्यथा यसरी सुनाएर के काम! रुमी दिदीले भन्नुभएर मात्र। उहाँको कुरा टार्न सक्दिनँ। काठमाडौंमा छँदा एक महिना सँगसँगै रह्यौं हामी, खुब देखभाल गर्नुभयो मेरो। मलाई त उहाँ आफ्नै दिदीजस्तो लाग्छ।' चार–पाँच महिना मात्र भयो, त्यो आक्रमणकारी केटो देखिन छाडेको। उनको आत्मविश्वास बिस्तारै पलाउन थालेको छ। घरनजिकै कलेजमा बिए भर्ना भएकी छन्। सन्तोषको सास फेर्न थालेकी छन्। यसको ठूलो श्रेय रुमीलाई नै दिन्छिन् उनी। तैपनि डर मरिसकेको छैन। एक्लै कतै जानुपरे अहिले पनि खुट्टा भारी भएर आउँछ। आफू वरपर हिँडिरहेका अपरिचित अनुहारमा पट्टी बाँधिएझैं लाग्छ उनलाई। हातमा सिसी पनि देख्छिन्। कसैसँग ठेस लागे वा कोही फ्याट्टै सामुन्ने आइहाले त एकदमै कहालिन्छिन्। सिसी खोलेर झ्याम्मै त्यही तरल पदार्थ खन्याइदिएको अनुभूतिले जीउभरि काँडा उम्रन्छन्। त्यही तरल पदार्थ, तेजाब, जसले उनको जिन्दगीको दिशा बदलिदियो।
‘संगीता र सीमाका अपराधी पनि के फेला पर्लान् र खै, फेला परे पनि धेरै दिन थुन्न सक्ने होइनन्,' उनले निराशा व्यक्त गरिन्, ‘यसरी अर्काको ज्यानै लिने गरी तेजाब फ्याल्ने वा आगो लगाइदिनेलाई कडाभन्दा कडा सजाय दिन मिल्दैन?' ‘मलाई एकचोटि संगीता र सीमालाई प्रत्यक्ष भेटेर उनीहरूको घाउ सुम्सुम्याउन मन छ,' उनले भनिन्। ... महिला हिंसाकै रूप हो, तेजाब हमला cover story4 कुनै पनि अपराधमा संख्याले प्रवृत्ति झल्काउँछ। अपराधशास्त्रीहरूको यो भनाइलाई मान्ने हो भने नेपालमा अझै पनि तेजाब हमला प्रवृत्तिकै रूपमा विकास भइसकेको वा मानवीय हिंसाको निम्ति प्रमुख हतियारकै रूपमा प्रयोग हुन थालिसकेको पाइँदैन।
तेजाब हमलाका मुद्दा कुनै सार्वजनिक अपराधअन्तर्गत दर्ता हुने, कुनै ज्यान मार्ने महलमा पारिने र कति त सार्वजनिक जानकारीमै नआउने हुँदा वर्षको ठ्याक्कै यति घटना हुन्छ भनी ठोकुवा गर्न सकिँदैन। ‘तेजाब हमला हाम्रो समाजमा नयाँ प्रवृत्ति हो, सात–आठ वर्षअघिसम्म यस्तो घटना सुनिँदैनथ्यो,' प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले शुक्रबार नागरिकसँग भने, ‘त्यसयता भने ठाउँठाउँमा यस्ता घटना नोटिसमा आउन थालेका छन्।' उनको अनुमानमा पछिल्लो समय वर्षको दुइटाजति तेजाब हमला भएका छन्। cover story5 धनगढीकी २१ वर्षीया युवतीमाथि तेजाब छ्यापिएकै वर्ष झापामा समेत यस्तै घटना भयो। साढे दुई वर्षअघि हेटौंडा र तीन वर्षअघि काठमाडौंमा तेजाब हमलाबाट एक–एक युवती घाइते भएको रेकर्ड छ। झापामा तेजाब हमलामा परेकी १६ वर्षीया किशोरीले यसकारण तेजाबको सिकार हुनुपर्योर, किनकि उनले एक जना केटाको प्रेम प्रस्ताव अस्वीकार गरेकी थिइन्।
प्रस्ताव नमानेपछि त्यही केटाले ‘भ्यालेन्टाइन्स डे' को अघिल्लो दिन उनको शरीरमा झन्डै एक लिटर तेजाब खन्याइदिएको थियो। जीउ नै भतक्कै भिज्ने गरी तेजाब परेपछि उनी पीडाले बेस्कन चिच्याइन्। वरपरका मान्छे तुरुन्तै जम्मा भए। उनलाई धरानको बिपी कोइराला अस्पताल लगियो। उनको शरीर ४० प्रतिशत जलेको थियो। खासगरी अनुहार, घाँटी र कम्मर। काठमाडौंमा भएको घटना अनुसन्धानमा भने घरायसी रिसइबीका कारण आफ्नै आमाजू र जेठाजुबाट तेजाब आक्रमण भएको खुल्यो। प्रहरी प्रवक्ता खनालका अनुसार यस्ता प्रकृतिका घटनामा कारक र पीडितको उमेर समूहका आधारमा हेर्दा पारिवारिक झैंझगडा, प्रेममा प्रतिशोध, आपसी रिसिइबीको भावनाले परिचितबाटै हमला भएको देखिन्छ। संगठित आपराधिक गिरोहबाट भन्दा व्यक्तिगत झगडामा तत्कालको आवेगका कारण तेजाब छ्यापिने गरेको उनले बताए। ‘
अहिलेसम्म यो आपराधिक प्रवृत्तिका रूपमा देखा परिसकेको छैन, तर हामी सबैलाई गम्भीर हुनुपर्ने अवस्थामा भने ल्याएको छ,' उनले भने, ‘यो महिलामाथि हुने हिंसाको अर्को भयावह रूप हो, जसलाई नियन्त्रण गर्न सबैको ध्यान पुग्नु जरुरी छ।'