ट्राफिक प्रहरीले पाँचहजार सम्म जरिमाना लिन पाउनुपर्छ: डिआइजी जय बहादुर चन्द
भर्खरै ट्राफिक प्रहरी महासाखाको प्रमुख भएर आउनुभएको छ,उपत्यकाको ट्राफिक व्यवस्थापन र बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्नको लागि तपाईको नया कार्यक्रमहरु/कार्ययोजनाहरु के-के छन ?
पक्कैपनी नया योजनाहरु त हुन्छ नै, नया मान्छेहरु आएपछि नया योजनाहरु आओस भन्ने जनताको अपेक्षा पनी हुन्छ । यो संगसंगै संगठनकापुरानै योजना र कार्यक्रमहरु रहेका छन तिनलाई पनी प्रभावकारी रुपमा अगाडि बढाउने योजना मेरो छ ।
म इनफोर्समेन्ट र शिक्षामा बिश्वास गर्छु । यि दुबैलाई संगसंगै अगाडि लगेर जानुपर्छ । इनफोर्समेन्ट मा हाम्रो ट्राफिक प्रहरीले राम्रो काम गरेको छ यो संगै शिक्षाको पाटोलाई भुल्न हुदैन । जनचेतना जगाउन सकेमा नागरिक सचेत हुन्छन, ट्राफिक प्रहरी र नागरिकको संबन्ध सुमधुर र राम्रो हुनजान्छ ।
ट्राफिक प्रहरीको व्यवहार राम्रो भएन भनेर समय समयमा गुनासोहरु आइरहेका हुन्छन् नि ?
ट्राफिक प्रहरीको व्यवहार राम्रो भएन भनेर समय समयमा गुनासोहरु आइरहेका हुन्छन् नि ?
हो,त्यहि हुनाले मैले भनेको इनफोर्समेन्ट र शिक्षालाई संगै लैजानुपर्छ । यो भएमा समस्याको समाधान हुन्छ । यध्यपी गल्ति गरेरपनी डिउटीमा रहेका जवान कन्स्टेबलसंग बाद-बिबाद गर्नुचाँहि मुर्खता हो ।
उपत्यकामा दिनानुदिन जसो दुर्घटनाका खबरहरु आइरहेका हुन्छन्,यो दुर्घटना न्युनिकरण गर्नको लागी यहाँको योजना के छ ?
संसारमा दुर्घटना नहुने ठाउँ कतै छैन, तर दुर्घटनालाई न्युनिकरण गर्न सकिन्छ । जहाँ ट्राफिक व्यवस्थापन कमजोर छ, इनफोर्समेन्ट र शिक्षाको पाटो कमजोर छ ।
त्यहां दुर्घटना बढ्ने संभावना अत्याधिक रहन्छ । सोच्दै नसोचेको ठाउँमा समेत दुर्घटना हुन जानु यसैको एउटा उदाहरण हो । यदि यस्ता दुर्घटनाहरु हुन्छन् भने त्यसको नैतिक जिम्मेवारी हामी ट्राफिक प्रहरीले लिनुपर्छ ।
म ट्राफिक प्रहरी महाशाखामा आएको भर्खरैमात्र हो, त्यसैले अहिले हामी आन्तरिक छलफलमा छौं, संगठणका पुराना प्रभावकारी योजनाहरुलाई निरन्तरता दिदै दुर्घटना न्युनिकरणको लागि नया कार्यक्रम ल्याउने तरखरमा छौ ।
ट्राफिक प्रहरीले धुलो धुवाँमा बसेर काम गर्नुपर्छ, उनिहरुको स्वास्थ्यको कुरा आउछ,उनिहरुको स्वास्थ्यको लागी केहि सोच्नुभएको छ ?
अहिले हामीले सबैभन्दा पहिला ट्राफिक प्रहरीको डिउटी आवर कसरी घटाउने त्यसको लागी गृहकार्य गर्न मैले सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छु । अहिले ट्राफिक प्रहरीले १२ देखी १६ घन्टासम्म काम गरीरहेको अवस्था छ । अन्तरास्ट्रीय मापदन्ड हेर्नेहो भने डिउटी आवर ८ घन्टा हो ।
तर हामी अन्तरास्ट्रीय मापदन्डमा जान सक्दैनौ किन भने हामी तेस्रो बिश्वका प्रहरी हौं । त्यसैले कम्तिमा १० देखी १२ घन्टा सम्मलाई मानक समय मानेर डिउटी गर्दा हामीलाई कति मान्छे थप चाहिने हो त्यसको पनि गृहकार्य गर्दै छौ ।
त्यति थप ट्राफिक जनशक्तिकोलागी मैले हाम्रो हाम्रो संगठन प्रमुखसंग अनुरोध गरेको छु । अहिले हामीले बाहिर धुलो धुवाँमा काम गर्दा मास्क लगाईरहेका छौ र अब उनीहरुलाई हामी ब्यायाम गर्ने व्यवस्था पनि गर्दै छौं ।
ट्राफिक प्रहरीलाई प्रयाप्त मात्रामा अधिकार प्रत्यायोजन गरिएको छैन भनेर बेला-बेलामा आवाजहरु उठिरहेका हुन्छन नि, यहाँलाई कस्तो लाग्छ ?
मैले अघिनै भने इनफोर्समेन्टको पाटो कमजोर छ । अपराध गरेपछि वा ट्राफिक नियमको उल्लङ्घन गरेपछि मलाई दन्ड र जरिवाना हुन्छ भन्ने मानिसमा डर अथवा चेतना भएमा मात्र सवारी तथा सडक दुर्घटनाहरु धेरैमात्रामा न्युनिकरण हुनसक्छ ।
त्यसकालागी ट्राफिक प्रहरीलाई अलिक धेरै अधिकार प्रत्यायोजित हुनुपर्यो । अहिले हामिलाई एक हजार रुपैया भन्दा धेरै जरिवाना गर्नसक्ने अधिकारनै छैन । त्यसैले हामीलाई कम्तिमा पाँच हजारसम्म जरिवाना गर्नसक्ने अधिकार हुनुपर्यो ।
नियमावलीमा, ऐनमा भएका व्यवस्थाहरु जो निष्क्रिय भएर बसेका छन तिनलाई सक्रिय गर्नुपर्यो । किताबमा मात्र भएर हुन्न । त्यसलाई सक्रिय गर्नको लागी ट्राफिक प्रहरीलाई अधिकार प्रत्यायोजित हुनुपर्यो । हामी त्यसकालागी पहल गरिरहेका छौ ।
कम्तिमा पाँच हजार सम्मको जरिवाना गर्नसक्ने अधिकार यातायात व्यवस्था बिभागले हामीलाई प्रत्यायोजित गरोस भन्ने हामिले माग गरीरहेका छौ ।