गृहमन्त्री र आइजीपीलाई संसद्को प्रश्न, एसिड हान्नेलाई किन पक्राउ गर्न सकिएन?
काठमाडौं : राजधानीको केन्द्रमा ट्युसन पढ्दै गरेका छात्रामाथि भएको एसिड आक्रमणको घटनाका बारेमा राज्यव्यवस्था समिति र सामाजिक न्याय तथा मानवअधिकार समितिले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम तथा सुरक्षा प्रमुखहरुलाई बोलाएर सोधेको छ।
दुवै समितिको बैठकमा एसिड आक्रणको घटनाको निन्दा गर्दै सभासद्हरुले दिउँसै एसिड हानेर भाग्नेलाई पनि प्रहरीले समाउन नसक्ने भन्दै गृह प्रशासन तथा सुरक्षा संयन्त्रको आलोचना गरेका थिए। यस्तो घटनाले समाजका लागि ठूलो त्रास भएकोले दोषीलाई जतिसक्दो चाँडो पक्राउ गरी हदैसम्मको सजाय हुनुपर्ने सभासद्को भनाइ थियो । उनीहरुले राजधानीमै यस्तो अपराध हुनुले सर्वसाधारणमा असुरक्षाको मनोविज्ञान पैदा भएको बताएका थिए।
गत फागुन १० गते बशन्तपुर नजिकै ट्युसन सेन्टरमा रहेका दुईजना छात्रालाई एसिड प्रहार गरी फरार भएका थिए।दुवैजनाको अहिले उपचार भइरहेको छ। अहिलेसम्म प्रहरीले एसिड हान्ने अपराधीलाई पक्राउ गर्न सकेको छैन। सामाजिक न्याय समितिको सोमबार बिहानको बैठकमा मानव तस्करी नियन्त्रणका लागि सरकारको कार्ययोजनाबारे पनि गृहमन्त्री तथा सुरक्षा प्रमुखहरुसँग सोधिएको थियो ।