राधजानीबाट बाहिरिने यात्रुसंग बढी भाडा असुल्ने ५० गाडी कारवाहीमा


भूकम्पबाट प्रभावित भएकाहरु थप महामारी फैलिन सक्ने डरले राजधानीबाट बाहिरिनेको संख्या बढेको छ। तीमध्ये कलंकीबाट बाहिरिने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने केही गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौं, वैशाख १६ -  भूकम्पबाट प्रभावित भएकाहरु थप महामारी फैलिन सक्ने
 डरले राजधानीबाट बाहिरिनेको संख्या बढेको छ ।  तीमध्ये कलंकीबाट बाहिरिने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने केही गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

समस्याको बेला मौका छोपेर बढी फाइदा लिने ५० वटा गाडीलाई प्रहरीले जरिवाना तथा कारवाही गरेको हो । भूकम्पपछि घर जाने यात्रुको संख्या बढेकाले केही गाडीहरुले मनोमानी ढंगले यात्रुसँग बढी भाडा लिँदै आएका छन् ।

त्यसमध्ये ना ४ ख ६६४६,  बा १ ज ५७ ४९, ना ३ ख २८ ९४, ना ३ ख २८९४, ना ५ ख १४६८, बा २ ख ६८७ नम्बर लगायतका गाडीहरुलाई प्रहरीले कारबाही गरेको हो ।

ट्राफिक प्रहरीले यात्रुलाई बढी भाडा लिएर ठग्ने यातायात व्यावसायीलाई यात्रुको गुनासो र आफूले नै अनुगमन गरेर कारवाही गरिरहेको छ ।

अहिलेसम्म यात्रुसँग बढी भाडा असुलेर ठग्ने ५० वटा भन्दा धेरै गाडी र २५ जना भन्दा धेरै यातायात व्यावसायीलाई कारवाही गरिएको प्रहरीले जनाएको  छ ।

सरकारले ती यातायात व्यावसायीलाई एक रात थुनामा राख्ने, बढी लिएको पैसा फिर्ता गराउने र ५ हजार जरिवाना गरिने ट्राफिक प्रहरी प्रवक्ता पोषनाथ पोख्रेलले जानकारी दिए ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले अझै पनि यातायात व्यावसायीले बढी भाडा लिएमा तुरुन्त ट्राफिक प्रहरीको १०३ ,नेपाल प्रहरीको फोन नम्वर १००  र सडकमा खटिएका ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह समेत गरेको छ ।





प्रतिक्रिया दिनुहोस्...