जिउँदै जलाएर श्रीमतीको हत्या


आफूलार्इ नसोधी घर बाहिर गएको भन्दै एक व्यक्तिले पत्नीलार्इ जिउँदै जलाएर हत्या गरेका छन् । मानव सभ्यतालार्इ नै कलंकित पार्ने यो घटना पाकिस्तानको मुल्तानमा भएको हो ।पाकिस्तानको मुल्तानमा एक व्यक्तिले आफ्नो अनुमति नलिर्इ घरबाहिर गएको भन्दै जिउँदै जलाएर ज्यान लिएका हुन् । पाकिस्तानी पुलिसले यो मामिलामा पत्नी जलाउने पति मोहम्मद सिद्दीकी र उनका पितालार्इ पक्राउ गरेको छ ।
उनीहरुमाथि ३६ वर्षीया सबाना बिबीलार्इ जलाएर मारेको अभियोगमा गिरफ्तार गरी मुद्दा चलाउने तयारी गरिएको छ । सबाना पतिलार्इ नसोधी आफ्नी बहिनीको घरमा गएकी थिइन्।सबानासँगै उनका भाइ मोहम्मद आजम पनि गएका थिए ।पुलिसले सिद्दीकी र उनका पिताले  सबानाको शरीरमा पेट्रोल ख्नयाएर आगो लगाउँदा उनको ज्यान गएको विवरण प्राप्त भएको जानकारी दिएको छ ।

आगोले सबानाको शरीर करिब ८० प्रतिशत जलिसकेको थियो । चिकित्सकहरुले शनिबार सबानालार्इ मृत घोषित गरे । पुलिसले अभियुक्तलार्इ पक्रिसकेकाले उनीहरुमाथि कडा कारबाही अघि बढाउने जनाएको छ ।

श्रीमतीलाई जिउँदै जलाउने प्रयास

नेपालगन्ज- लगातारजसो महिलाहिंसाका घटना सार्वजनिक भइरहेको बाँकेमा बुधबार फेरि एक पुरुषले श्रीमतीलाई जिउँदै जलाउने प्रयास गरेका छन्। परस्पुर–७ निवासी अमृता वाल्मीकिलाई बुधबार उनकै पति मनोजले मट्टीतेल छर्केर आगो लगाउन खोजेका हुन्। मनोजले सलाई खोज्दै गर्दा छिमेकीले थाहा पाएर तत्काल उद्धार गरेका कारण ठूलो क्षति हुन पाएन।

सशस्त्र प्रहरी औद्योगिक तथा राजस्व सुरक्षा गण कारकाँदोकाका परिचर मनोजले मदिरामा लट्ठिएर घरायसी झगडामा पत्नीलाई निर्घात पिट्नुका साथै मट्टीतेल छर्केर जलाउन खोजेका थिए। मट्टीतेलले शरीर पूरै भेटाएर अचेत भएकी अमृतालाई तत्काल भेरी अञ्चल अस्पताल पुर्यााइएको थियो। मनोजलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरी हिरासतमा राखेको छ। ‘अनुसन्धान गर्दा भाइले साइकल बेचेको निहुँमा मनोजले पत्नीलाई पिटेर शरीरमा मट्टीतेल खन्याएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक रमेश श्रेष्ठले भने।
अघिल्लो दिन आगो लगाएर मार्न खोजेको बयान दिएकी अमृताले भोलिपल्ट पतिलाई कारबाही गर्न नहुने भन्दै अनुसन्धानमा असहयोग गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए। उनले भने, ‘पीडित महिला र उनको परिवारले कारबाहीका लागि अहिलेसम्म निवेदन दिएका छैनन्। प्रहरी प्रतिवेदनअनुसार नै दोषीलाई ‘आगो लगाई ज्यान मार्ने उद्योग’ अन्तर्गत मुद्दा चलाएका छौ।’ मनोजलाई सशस्त्र प्रहरी परिचरबाट निलम्बन गरी हिरासतमा राखिएको कोइरालाले बताए।
नेपालगन्जमै यसअघि दाजुसँगको सम्पत्ति विवादमा जयसपुर–१ का सद्दाम सल्मानी (नाउ) ले जेठ ६ गते भाउजु २५ वर्षीया चाँदनी सल्मानीसहित उनका पाँच वर्षीया छोरी मर्यम, छोराहरू तीन वर्षीय रियाजुल र एक वर्षीय रिहानको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। शरीरको आधा भाग जलेका रियाजुल र मर्यमको काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। चाँदनी र रिहानको अहिले पनि काठमाडौंमा उपचार भइरहेको छ। आगो लगाएको अभियोगमा पक्राउ परेका सद्दाम र उनका बाबु मेराज तथा आमा नुरजहाँविरुद्ध प्रहरीले कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाएको छ।
दाइजो नल्याएको निहुँमा बाँकेको राप्तीपारि लक्ष्मणपुर–८ की २५ वर्षीया रिहाना शेख ढपालीलाई मट्टीतेल छर्केर पति फरिद शेखले चैत ३ गते आगो लगाएका थिए। परिवारको दबाबमा गुपचुप पारिएको उक्त घटना वैशाख २१ गते सार्वजनिक भयो। रिहानाको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न पति फरिद र घटना गराउन प्रेरित गरेको आरोप लागेका सासू–ससुरा फरार छन्। प्रहरीले उनीहरूविरुद्ध ज्यान मार्ने अभियोगअन्तर्गत मुद्दा चलाए पनि पक्राउ गर्न सकेको छैन।
महिला हिंसाविरुद्ध सरकारी तथा गैरसकारी निकायले आवाज उठाए पनि हिंसाका घटना भने बढिरहेका छन्। महिलाको आर्थिक मोलमोलाइ नरोकिँदा जघन्य हिंसा बढेको राष्ट्रिय महिला आयोगकी पूर्वसदस्य मोना अन्सारी बताउँछिन्। आर्थिक मोलमोलाइका साथै महिलामाथिको अविश्वास हिंसाको मूल कारण रहेको उनको ठहर छ। ‘मुस्लिम र मधेसी समुदायमा यस्ता घटना बढी भएका छन्?' अन्सारी भन्छिन्, ‘यी समुदायमा पुरुषवादी सोच बढी छ। पुरुषले जे गरे पनि हुन्छ भन्ने सोचाइले महिला हिंसामा पर्ने गरेका छन्।’ हिंसाका घटना दोहोरिएपछि केही दिनअघि बाँके आएकी तत्कालीन महिला आयोग सदस्य अन्सारीले घटनामा ‘प्रहरी अनुसन्धान फितलो’ भएको बताइन्।
जिल्लामा भएका महिला हिंसाका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घटना हुनुको मुख्य कारण गरिबी भएको ठहर गरेको छ। प्रहरी उपरीक्षक कोइरालाले गरिबीका कारण मधेसी र मुस्लिम समुदायले शिक्षा पाउन नसकेको र चेतना पनि नबढेको बताए। ‘परिवारमा सबैभन्दा कमजोर व्यक्ति महिलालाई नै ठान्ने पुरुषले जघन्य हिंसा गर्छ,’ उनले भने।
जिल्लामा अहिलेसम्म जिउँदै जलाउन खोजिएका घटना सार्वजनिक भएकामध्ये अधिकांश आर्थिक पक्षसँग जोडिएको महिला तथा बालबालिका कार्यालय बाँकेले जनाएको छ।
महिला तथा बालबालिका कार्यालय प्रमुख प्रभा श्रेष्ठ ओलीले जनचेतना नपुगेकाले अशिक्षित व्यक्ति ‘क्रूर’ भएको बताइन्। ‘सबै समुदायका महिलाहरू शोषित र पीडित छन्, मुस्लिम समुदायमा अलि बढी भएको कुरा अहिलेसम्मको घटनाबाट देखिन्छ,’ उनले भनिन्।
पूर्वसभासद मोहम्मद सिद्धिकीले यस्ता क्रूर घटना एउटा समुदायमा मात्रै नहुने बताउँदै बढी महत्वाकांक्षी स्वभाव भएका जुनसुकै समुदायका व्यक्तिले पनि घटना गराउने बताइन्। समुदायमा गरिबी, अशिक्षा र चेतनाको कमीका कारण महिलामाथि हिंसा बढेको उनको बुझाइ छ।source:taja khabar 




प्रतिक्रिया दिनुहोस्...