नारायणगढबाट घटना हुनुअगावै अपहरणका योजनाकार समूह पक्राउ
प्रहरीले निजहरुको साथबाट कटुवा पेस्तोल एक थान, ३०३ गोली राउन्ड एक थान, मुन्द्रा भएको डमी राउन्ड एक थान, फलामे चपर एक थान र ना१ज ३०७० नम्बरको ट्याक्सी नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पक्राउ परेकामध्ये रोक्का मगर र घर्तीमगरलाई वैदेशिक रोजगारमा दक्षिण अफ्रिका पठाएको र कानुन विपरीत भएकाले निजहरु त्यहाँ पक्राउ परी नेपाल फर्किएपछि पठाउने व्यक्तिलाई माने कागज गराउने नमाने गोली हानी हत्या गर्ने योजनाका साथ चितवनमा रहेको अवस्थामा सुराकीका आधारमा पक्राउ गरेको बताउनुभयो ।
निजहरुले सो योजना सफल नभएमा नारायणगढका एक जना व्यापारीलाई अपहरण गरी फिरौती असुल गर्ने र असुल नभएमा निजको समेत हत्या गर्ने योजना साथ ती व्यापारीसँग भेटघाट गरी कुराकानीसमेत गरेको प्रहरीले जनाएको छ । घटना हुनुभन्दा अगाडि नै दिउँसो ४ बजे नारायणी नदी किनारको चौरबाट निजहरुलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । अभियुक्तहरुलाई हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यस मुद्धामा तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय, रु ६० हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन्छ । हत्याको योजना बनाइएका म्यानपावरका सञ्चालक र व्यापारीको नाम भने प्रहरीले गोप्य राखेको छ ।
त्यसैगरी प्रतिबन्धित लागुऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाविस वडा नं १ लोथर बस्ने ४२ वर्षीय हीरालाल श्रेष्ठ रहेका छन् । निजको साथबाट प्रहरीले लागुऔषध अफिम ५३० ग्राम, चराको नलीखुट्टाजस्तो देखिने हड्डी एक थान, जनावरको जस्तो देखिने दात एक थान र जनावरको पुच्छरजस्तो देखिने रौँ बरामद भएको प्रहरीले जनाएको छ ।
निज श्रेष्ठलाई नारायणगढको नवदुर्गा लजबाट नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । अभियुक्तलाई लागुऔषधको हकमा लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत र हड्डी, दाँत र रौँको हकमा अनुसन्धानका लागि जिल्ला वन कार्यालय चितवनमा बुझाइने प्रहरीले जनाएको छ । लागुऔषध मुद्दामा १५ वर्षदेखि जन्मकैद र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुने प्रावधान छ । रासस
