काठमाडौँबाट बाहिरिनेको घुईंचो, निशु:ल्क बसका लागि कहाँ सम्पर्क गर्ने ?


शनिबार र आइतबार गएको महाभूकम्पको त्रासले काठमाडौँबाट बाहिर जानेको घुईंचो लागेको छ।
काठमाडौँ, १६ वैशाख - शनिबार र आइतबार गएको महाभूकम्पको त्रासले काठमाडौँबाट बाहिर जानेको घुईंचो लागेको छ।

मंगलबारसम्म साँझ ६ः०० बजेसम्म उपत्यकाका फर्पिङ, भक्तपुर र नागढुङ्गा नाकाबाट एक लाख ३२ हजार बढी मानिस बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिए।

यसैबीच सरकारले घर फर्कने यात्रुका लागि निःशुल्क बसको व्यवस्था गरेको छ । सरकारले उच्च माध्यामिक विद्यालय संघ, प्याब्सन र एनप्याब्सनले ५ सयवटा बसको व्यवस्था गरेको हो । काठमाडौंबाट इटहरी र बुटवलसम्म जानेका लागि बस तीनकुने माइतीघर सडक खण्डबाट छुट्ने र गन्तव्यस्थलसम्म निःशुल्क पुर्‍याइने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।

यस्तै धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समिति बागलुङले बुधबार र बिहीबारका लागि निःशुल्क बस चलाउँदैछ। काठमाडौंको गोंगबुमा रहेको ३२ र ४० नम्बरको टिकट काउन्टरमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ।

यस्तै गोरखा रामेछाप, कास्की र स्याङजा जानका लागि पनि बुधबार निःशुल्क बसको व्यवस्था मिलाइएको छ। त्यस क्षेत्रमा जानेले बसका लागि ९८५१०२७२९७ मा सम्पर्क गर्न सक्ने यातायात व्यवसायीले बताएका छन्।

काठमाडौंमा रहेका झापाका बासिन्दालाई लैजान दमक नगरपालिकाले ३५ वटा बस काठमाडौं पठाइएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले कलंकी र बसपार्कमा निःशुल्क बस सेवा लेखिएको व्यानर सहित ५० वटा गाडी सेवाका लागि राखिएको जनाएको छ।

सरकारले निःशुल्क बसको व्यवस्था गरेपछि यात्रुले केही राहत महसुस गरेका छन्। यसैबीच धेरैजसो चालक भूकम्प प्रभावित जिल्लाका भएकाले अहिले चालकको समस्या भएको महासंघले जनाएको छ।

महासंघका अनुसार प्रभावित क्षेत्रका चालक गाउँ गएकाले गाडी भएपनि त्यहि अनुसार चालक छैनन्। तर यात्रुलाई सेवा दिनको लागि आवश्यक व्यवस्था मिलाइएको महासंघले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्...