बलात्कार आरोपी भन्छन् : पुरुषले यो देशमा बाँच्न नपाउने ?
सिंगापुर पुलिस फोर्समा १८ वर्ष सेवा गरेपछि आफ्नै देशमा केही गरौं भनेर फर्किएँ । मेनपावर, सहकारीलगायतका व्यवसायमा हात हालेर दुई चार सयलाई रोजगारी दिएँ । तिनैमध्येकी एक थिइन् प्रविना मगर (नाम परिवर्तन) । डेढ दुई वर्षअघि केही समय काम गरेर उनी अचानक गायव भएकी थिइन् ।
कार्यालयमा चिया पकाउने पियन को आउँछ, को जान्छ, मलाई थाहा हुने कुरा पनि भएन । उनले पछि मेरी श्रीमतीलाई फोन गरेर श्रीमानले दुःख दियो, कुन दिन मार्छ थाहा छैन, सँगै बस्न नसक्ने भएँ, मेरो ज्यान पनि बचाइदिनुपरो, जागिर पनि चाहियो भनेर फोन गरिछन् । मैले मेरी श्रीमतीले उनीहरुको पारिवारिक कुरामा पर्नु हुँदैन, काम चाहिएको हो भने पहिले पनि गरेकी केटी हो, बोलाए हुन्छ भनेँ । एक डेढ महिनाअघि झोला कुम्लो नै बोकेर प्रविना हाम्रो घरमा आइपुगिछन् । श्रीमानसँग बस्न नसकेर आएकी भनिन् । मैले उनलाई भनेँ- ठिकै छ, तिमी काम गर राम्रोसँग । तर तिम्रो पारिवारिक मामिला हामीलाई नभन, यदि कानुनी सहयोग चाहिन्छ, डिभोर्स गर्ने हो भने सघाउँला भनें । त्यो राति मैले नियमितजस्तै एक दुई पेग ह्वीस्की पिएँ ।
प्रविनाले अनलाइनखबरमा मैले उसको हातबाट पेग थपेको भनेको छ, तर त्यो सरासर गलत हो । मैले आफ्नी श्रीमतीको हातबाट मात्रै पिउँछु जहिले पनि । राति साढे ९ बजेतिर हामी बच्चासहित सुत्न गयौं । भोलिपल्ट म ७ बजे उठ्दा मेरी श्रीमतीले भनिन् प्रबिना त छैन । उसको फोन सम्पर्क हुन सकेन । राति नै हिँडिसकेकी जस्तो लाग्यो । हामीले चासो राखेनौं । त्यो राति मेरी सासू पनि हाम्रै घरमा हुनुहुन्थ्यो । सासूलाई पुर्याउन साँगा गएँ । साँगाबाट गाडीमा फर्किंदै गर्दा मलाई महाराजगञ्ज प्रहरी चौकीमा मेरो बाइक पक्राउ परेको फोन आयो । बाइक ‘मोडिफाइ’ गरेर भाइले चलाएकाले प्रहरीले नियन्त्रणमा लिएको रहेछ । प्रहरी चौकीमा गएर सबैसँग गफगाफ भयो । उहाँहरुले एकपटकलाई छाड्छौं, तर तपाई मोडिफाइ हटाउनुपर्यो भने । मैले हुन्छ भनेर निस्केँ । छेउको युनिभर्सल क्याफेमा कफी खायौं । कफी खाएर निस्कँदै गर्दा फेरि खबर आयो, चौकीभित्र बोलाएको छ भनेर । चौकीतिर जाँदै थिएँ, त्यहा अगाडि प्रविना एउटा केटासँग देखिइन् ।
मैले उनलाई सोधेँ- तिमी किन घरबाट अस्ति राति नै भागेको ? केही समस्या छ भने भन है । तर, ऊ घोसेमुन्टो लगाएर बसी, केही पनि छैन भनेपछि म चौकीतिर अघि बढेँ । चौकीभित्र जाँदा डीएसपी सानुराम भट्टराईले, सर तपाईमाथि बलात्कारको अभियोगमा उजुरी परेको छ भन्दा म त छाँगाबाट खसेँ । बलात्कारको अभियोग तिनै प्रविनाले लगाएकी रहछिन् । मैले ठिकै छ, यस्तो अभियोग हो भने अब मलाई थुन्नुस् भनें । उहाँहरुरुले हत्कडी लगाउनुभयो, मैले मेरी श्रीमतीलाई बोलाएँ । श्रीमती आएपछि प्रविनालाई पनि बोलाउनुस् भनेँ । मेरी श्रीमतीले धेरैपटक सोधिन् । तर, उनी घोसेमुन्टो लगाएर बसिन् । अघि नै भनिसकेँ भन्दै केही बोल्दै बोलिनन् । त्यसपछि मेरो जिन्दगी अन्धकार बन्यो ।
२७ दिनसम्म बिना अपराध हत्कडी लगाएर राखियो । म सत्य थिएँ, त्यसैले न्याय पाउँछु भन्नेमा ढुक्क भएर बसेँ । मैले उनलाई बलात्कार त के, छोएको पनि छैन आजसम्म । मलाई लाग्छ पैसाका लागि यो सबै भएको हो । उनका श्रीमान होटलमा फसेर धेरै पैसा ऋणमा परेको र श्रीमतीसँग अलग थियो रे । पछि निकै ठूलो साजिस रचेर मसँगै पैसा असुल्न यस्तो गरेको हो जस्तो लाग्छ । यसमा अलिकति राजनीति पनि मिसिएको छ, यो कुरा पनि पछि खुलाउनेछु । मैले अदालतबाट शुरुवाती न्याय पाएँ । मेडिकल रिपोर्ट, प्रविनाको बयान लगायतका धेरै कुराले गर्दा पनि म निर्दोष सावित भएँ । प्रविनाले पटक-पटक बयान फेरेकी छन् । उनले कतै बलात्कार भयो भनेकी छन्, कतै शरीरमा समातेको भनेकी छन् ।
बलात्कारको आरोप कतैबाट पनि पुष्टि हुँदैन । तर, उनीहरुले मिडियाबाट मलाई सिध्याउन खोजे । मिडिया प्रयोग गरेर न्यायाधीशलाई समेत संकटमा पारे । अनलाइनखबरमा प्रविनाको वयान आएपछि मैले अब आफ्नो भनाइ सार्वजनिक गर्नैपर्छ भन्ने लाग्यो । यो देशमा पुरुषले बाँच्न नपाउने हो कि जस्तो लाग्यो । महिलाले जे भने पनि कानुनले उनको भनाइलाई आधार मान्ने, मिडियाले पनि महिलालाई मात्रै पीडित देख्ने हो भने पुरुषका लागि कानुन छैन त ?

