तीन वर्षभित्र लामो दूरीमा सबै डिलक्स बस


पोखरा—पृथ्वी राजमार्ग बस सञ्चालक समितिले तीन वर्षभित्र लामो दूरीमा चल्ने सबै डिलक्स बस सञ्चालन गर्ने भएको छ। यात्रुलाई स्तरीय र गुणस्तरीय सेवा दिने उद्देश्यले उक्त योजना ल्याएको समितिका अध्यक्ष ऐनकुमार साहीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

लामो दूरीमा चल्ने अहिले ७०० भन्दा बढी सवारी साधन रहेकामा ३०० वटालाई डिलक्स बस बनाइएको छ। समितिले तीन वर्षअघि पहिलोपटक २९ वटा डिलक्स बस सञ्चालन गरेको र अब क्रमशः पुराना गाडी विस्थापित गरी नयाँ सञ्चालनमा ल्याउने क्रम बढेको अध्यक्ष शाहीले बताए। लामो दूरीअन्तर्गत पोखरा–महेन्द्रनगर र पोखरा–काँकडभिट्टासम्म बस सञ्चालनमा रहेका र समितिले १५ वर्षभन्दा अगाडिका सबै बस विस्थापित गरिसकेको छ। समितिले पहिलो चरणमा बुधबारबाट रात्रि सेवामा डिलक्स बस सञ्चालन गर्ने भएको छ। रात्रि बसमा पहिलोपटक वाइफाइ, एसी सेवासहित पर्यटकस्तरको सुविधा सम्पन्न बस सञ्चालन गर्न लागेको र एउटा बसमा रु ६० लाखभन्दा बढी लगानी हुने बताइएको छ। २० वटा डिलक्स बस सञ्चालनमा ल्याउँदा करिब रु १२ करोड लगानी थप हुनेछ। समितिले निकट भविष्यमा पोखराबाट वीरगन्ज, महेन्द्रनगर, दाङ, धनगढी, नेपालगन्जका लागि सञ्चालन भएका बसलाई पनि डिलक्स बनाइने छ। पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत अहिले देशभर एक हजार २०० भन्दा बढी बस सञ्चालनमा रहेका छन्। रासस




प्रतिक्रिया दिनुहोस्...