पशुपति आर्यघाटमा शवको लस्कर
काठमाडौं: पशुपति आर्यघाटमा आइतबार दिनभर दर्जनौं शव थुप्रिरहे । आर्यघाटका दुवैतर्फ लाइनमा राखिएका शव जलाउने पालोका लागि मृतकका आफन्तले घन्टौंसम्म पर्खिनुपरेको छ।
बागमतीको वारिपारि दुवैतिर शव थुपारिएको छ। शव जलाउन बनाइएका ठाउँमा नअटेपछि खोला किनारा र बीचमा पनि चिता बनाइएका छन् ।
अन्नपूर्णकर्मीले केही घन्टा आर्यघाटमा बिताउँदा ५० भन्दा बढी शव आइपुगे । दायाँबायाँ कम्तीमा २० शव थुपारिएका थिए । एम्बुलेन्स तथा शववाहन आउने–जाने क्रम पनि रोकिएको थिएन।
अधिकांश शव हरियो बाँसमा ल्याइएका थिए भने केही स्टेचरमा । शव ल्याउने, चिता बनाउने र जलाउने क्रम शनिबारदेखि आइतबार रातिसम्मै जारी थियो ।
आर्यघाटको मूल पुलभन्दा माथि पनि शव जलिरहेका थिए । भुइँमा थुपारिएका धेरै लास वृद्ध, बालबालिका तथा महिलाका छन् ।
यहाँ ल्याइएका अधिकांश शव माटोले पुरेर बाहिर निकालिएको अवस्थाका छन् । ठाउँ अभावले चिता तिलगंगा पुल नजिकसम्म बनिरहेका छन् ।
शनिबारको बिनाशकारी भूकम्पमा परी ज्यान गुमाएका काठमाडौं, ललितपुर, भक्तपुर तथा आसपासबाट शव आर्यघाट ल्याइएका हुन् ।
आर्यघाट किनारमा मृतकका आफन्त र परिवारका सदस्यको रुवाबासी थियो । सानासाना समूहमा जम्मा भएका मृतकका आफन्त बेहोस हुने र अस्पताल लैजाने क्रम पनि चलिरहेको थियो ।
शव ल्याउने र जलाउन दाउरा ल्याउने काममा मृतकका आफन्तलाई केही स्थानीय बासिन्दाले सघाइरहेका थिए । दैनिक औसत १० शव जलाउने आर्यघाटले आइतबार दबाब खेप्न सकेको छैन ।
पशुपति आर्यघाटका कर्मचारी शम्भु पौडेलका अनुसार आइतबार साँझ सात बजेसम्म दुई सय ४० शव जलाइएका छन् । शनिबार रातभरिमा ५३ शव जलाइएका थिए । बाँंकी सबै आइतबार बिहानदेखि ल्याइएका हुन् ।
कतिपय शव विभिन्न अस्पताल तथा कतिपय पुरिएका घरबाट आफन्तले निकालेर सीधै आर्यघाट ल्याइएका पनि थिए । ६ महिनादेखि डेढ वर्षसम्मका बालबालिकाका १० भन्दा बढी शव श्लेषमान्तक वनमा पुरिएका छन् ।
घाटका कर्मचारी शवको संख्या देखेर अत्तालिरहेका थिए । ‘हामी त खोई के गर्ने हो केही पत्तो पाइरहेका छैनौं । जो जता खाली छ त्यतै लाँदै चिता बनाउँदैछौं’, शव जलाउने आर्यघाटका एक कर्मचारीले भने । उनी शनिबार रातिदेखि नै शव जलाउन खटिरहेका छन् ।
आर्यघाटमा शव लिएर आउने आफन्तको नाम दर्ता गरेर डिपोबाट काठ लैजाने प्रक्रिया चलिरहेको थियो । शव जलाउन दाउरा उपलब्ध गराउने द टिम्बर कर्पोरेसन अफ नेपाल पशुपति आर्यघाट डिपोले मात्रै करिब पाँच लाख किलोग्राम दाउरा वितरण गरिसकेको छ ।
डिपोका कर्मचारी सुरेश रिजालका अनुसार एउटा शवका लागि औसत दुई सय ५० किलो दाउरा दिइएको छ ।
शव जलाउने दाउरा वितरणका लागि टिम्बर कर्पोरेसनका कर्मचारी पनि २४ सै घन्टा खटिएका छन् । त्यहाँको डिपोमा राखिएको दाउरा सकिएपछि विभिन्न डिपोबाट ल्याउने क्रम पनि जारी छ । कर्पोरेसनले आइतबारका लागि भने निःशुल्क दाउरा वितरण गरेको छ ।
घाटबाट कर्मचारीले पठाएको चिटका आधारमा दाउरा दिइएको छ । सरकारले मृत शरीर लामो समय अस्पताल तथा खुला ठाउँमा राख्दा महामारी फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै सक्दो चाँंडो आर्यघाट पुर्याउने व्यवस्था मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।
बिजुलीको अभावमा विभिन्न डिपोमा राखिएका दाउरा चिर्न पाइएको छैन । दाउरा चिर्न नपाएपछि सिंगै रुखको मुडा प्रयोग भइरहेको छ । भुइँचालोका शक्ति समेत आएका छैनन् ।

