News
»
राहत माग्दा प्रहरीको हातपात गाउँलेद्धारा प्रहरीचौकी घेराउ
राहत माग्दा प्रहरीको हातपात गाउँलेद्धारा प्रहरीचौकी घेराउ
नुवाकोट, जेठ १–राहत वितरणको विषयमा बुझ्न गएका स्थानीयबासीमाथि प्रहरीले हस्तक्षेप गर्दा बागेश्वरी गाविसमा तीन जना घाइते भएका छन् ।
बिहिबार राती बागेश्वरी गाविसमा राहत लिएर गएको विषयमा वडा नं. ७ र ९ मा राहतको विषयमा कुरा गर्न गएका स्थानीयबासीहरुमाथि बागेश्वरी प्रहरी चौकीका जवानले आफूहरुमाथि कुटपिट गरेको पीडितहरुले बताएका छन् । प्रहरीको कुटाइबाट बागेश्वरी गाविस वडा नंं ७ का सहदेव सापकोटाको दाँत भाँचिएर ओठमा टाँका लगाउनुपर्ने गरी घाइते भएका छन् । यस्तै जीतबहादुर खलेको आँखामा चोट लागेको छ भने भरत तामाङको दाइने खुट्टामा चोट लागेको छ । स्थानीय एक नेपाली कांग्रेसको नेतृत्व तहमा रहेका व्यक्तिको निर्देशनमा प्रहरीले आफूहरुमाथि दमन र अत्याचार गरेको पीडित सहदेव सापकोटाले जानकारी दिए । राहतको विषयमा एक कांग्रेसका जिल्लास्तरीय कार्यकर्तासहितको प्रहरी टोलीसँग सोधपुछ गर्ने क्रममा प्रहरीले सर्वसाधारणमाथि अत्याचार गरेको स्थानीयबासीहरुले बताएका छन् । सो विषयमा शुक्रवार रातभर बागेश्वरी प्रहरी चौकी क्षेत्रमा तनाव भएको थियो । प्रहरीको अत्याचारपछि स्थानीय गाउँलेहरुले प्रहरी चौकी घेराउ गरी घाइतेहरुको उपचार र दोषीमाथि कारवाहीको माग गर्दै रातभर नाराबाजी गरेका थिए । यसैवीच, एकीकृत नेकपा माओवादीका जिल्ला सचिव पुष्ण लामिछानेले जिल्लाभर राहत वितरण कार्यक्रम पारदर्शी र न्यायोचित बनाउन स्थानीय प्रशासनसँग माग गरेका छन् । जिल्लाका कतिपय स्थानहरुमा राहत वितरणमा पहुँचवाला र गुण्डागर्दी शैली देखिएकाले यसलाई सच्याएर सबै प्रभावित व्यक्तिको घरसम्म राहत पु¥याउन आग्रह गरेका छन् । उनले जिल्लाका अधिकांश स्थानमा राहत वितरणमा केही टाठापाठा व्यक्तिहरुको पहुँचको आधारमा कतै खातैखात र कतै एक पटक पनि राहत पुग्न नसकेको जनाउँदै वास्तविक पीडितसमक्ष राहत पुग्नुपर्ने बताए । उनले बागेश्वरी गाविसको वडा नं. ७ र ९ मा अहिलेसम्म कुनै पनि राहतका कार्यक्रम पुग्न नसकेको बताउँदै राहतको विषयमा बुझ्न आएका सर्वसाधारणमाथि केही टाठाबाठाको निर्देशनमा प्रहरी टोली नै परिचालन भएर घटाइएको अमानवीय व्यवहारले पार्टीलाई स्तब्ध बनाएको बताए ।
प्रतिक्रिया दिनुहोस्...