भूकम्पपछि नेपाली भन्नै लाज लाग्छ, धिक्कार छ हामीलाई


शनिबारको भूकम्पले देश राष्ट्रिय शोकमा परेपछि प्रवासबाटै सहयोग गर्न मित्र पुष्प लामिछानेले आपतकालीन सहायता कोषको स्थापना गरेको जानकारी गराए । नेपाली हुँ नेपाल रहेर त आफूलाई नेपाली भनेर जहाँ गए पनि चिनाउने शौभाग्य मिलेको छ ।
यो प्राकृतिक विपतको अवस्थामा मेरी नेपाल आमा रोइरहेर आफ्ना सन्तानको वेदनामा मलम खोजिरहेकी छिन् । तर, आफूलाई शासक बताउनेहरु नेपाल आमाको चित्कार सुन्नै चाहँदैनन् । हिजो विकासका नाममा विरोध गर्न र कार्बाहीका नाममा ढाड खुस्काउनका लागि तयार पारेका वाइसिएल, युर्थफोर्स, तरुणदल दस्ता अहिले कता छन् ? अत्तोपत्तो छैन ।
हुन त म नेपाली हुँ, आफूलाई गर्व गर्छु । प्राकृतिक र हेतिहासिक सम्पदाले भरिपूर्ण मेरो देश नेपाल मेरो घर हो । संसारसामु आफूलाई चिनाउने सगरमाथा मेरो शिर हो । पर्यटकलाई लालायित गराउने अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरी, मकालुजस्ता हिमाल मेरा आँगन हुन् । पुरातात्विक सम्पदा घरको चिनारी हुन् । तैपनि आज म प्राकृतिक सम्पदाले भरिपूर्ण मेरो देश नेपालमा किन जन्मिए हुँला भनेर धिक्कार लाग्छ । अनि, जसलाई यही देशले जन्मायो, हुर्कायो, बढायो, उनै सन्तान कपुत भएको देख्दा छाती चिरिएर आउँछ ।
संविधान लेखनका नाममा गएको दश वर्षमा २३ अर्ब रुपैयाँभन्दा बढी स्वाहा पारिएको मेरो देश नेपाल सम्पत्ति नभएर गरिब भएको होइन, सच्चा नेतृत्व गर्ने नभएर गरिब भएको हो । प्राकृतिक विपत्तिको विषम परिस्थितिमा सहयोग गर्ने अभिप्रायले बेलायती अभिनेत्री जोअना लुम्लेले डिजास्टर इमर्जेन्सी कमिटीमार्फत तीन अर्ब संकलित गरिन् । तर, मेरो देश ३९ राष्ट्रबाट आएको नौ सय ६९ टन सहयोगलाई पीडितसम्म पुर्याउने हैसियत राख्दैन । जसले गर्दा नुवाकोट तुप्चेकी रमिला अधिकारी जस्ताले हामीलाई किन बचाइस् भूकम्प बरु मारेको भए हुन्थ्यो भन्दै काल सम्झिन्छन् ।
मेरो घर नेपाल भत्कियो भन्दै बार्सिलोनास्थित नेपाली कन्सुलर स्पेनिस नागरिक लुइस वेल्बिस रुन पुगे । लन्डनस्थित नेपाली दूतावासमा नेपाली जनतालाई परेको विपतबारे बुझन् र सहानुभूति दिन बेलायती राजकुमार विलियम पुग्न सके तर मेरो देशका शासक भूकम्प गएको पाँच दिनसम्म पनि उद्धारका लागि सिन्धुपाल्चोकको भोटेचौर गाविस पुग्न सक्दैनन् । घाइतेको उद्धारमा खटिनुपर्नेमा गोरखाका प्रमुख जिल्ला अधिकारी नेताको स्वागतमा तल्लीन हुन पुग्छन् ।
विश्व फुटबलका सुपरस्टारहरु लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, वायनी रोनी, डेबिड बेकह्यामले भूकम्प प्रभावित नेपाललाई सहयोग गर्न ट्विट गर्दछन् । तर, दुभाग्य भूकम्पले भत्काएको धरहराका ऐतिहासिक इँटा चोर्न पशु सेवा निर्देशनालयका उपमहानिर्देशक विजयकान्त झा आफ्ना सवारीचालक हरिकृष्ण लामालाई लगाउँछन् ।
विश्वकी प्रख्यात गल्फ खेलाडी १८ वर्षीय कोरियन नागरिक लिडिया कोलेले आफ्नो टुर्नामेन्टबाट कमाएको आम्दानी नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरिन् । युनिसेफकी सद्भावना दूत एवं अभिनेत्री सेलेना गोमेजले नेपालका भूकम्पपीडितलाई सहयोग गर्न अपिल गर्दछिन् ।
तर, नेपाली जनतालाई सलाम छ । एक बोतल पानी र एक पाकेट चाउचाउ दिन नसक्ने सरकारका मन्त्री भनाउँदालाई काठमाडौंको बानेश्वरमा लखेटे । भक्तपुरबाट निर्वाचित राष्ट्रिय पञ्चायतका सांसद कर्णप्रसाद हेजुलाई जनताले गरेको सफाया नेपाली नेतालाई थाहा छ कि छैन ? सिल्धुपाल्चोकको जलवीरेमा भूकम्पपीडितले प्रमुख जिल्ला अधिकारी, एलडियो, सेनाका प्रमुख, सभासदलाई रातभर नियन्त्रणमा लिए भने सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्याय कुटिए आखिर किन ?
सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकर बर्गले एक अर्ब २० करोड रुपैयाँ नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गर्दा सिल्धुपाल्चोकको बाँडेगाउँ गाविसमा सरकारको राहत पुगेरै होला स्थानीयले मरेका वस्तुभाउको मासु खाँदै गुजारा गरेका छन् ।
इन्डोनेसियाका धनाढ्य श्रीप्रकाश लोहियाले नेपालको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिरहँदा म नेपाली हुँ, मलाई नेपाली नागरिकता फेरि चाहियो भन्ने जिवा लामिछाने, उपेन्द्र महतो, आफूलाई अर्बपति बताउने विनोद चौधरी कहाँ गुमनाम छन् अहिले ? भूकम्पले क्षतविक्षत बनेको भन्दै हिसिलाको माइती घर देखाउने नेताजीले विवाह गरेको तीन दिनमै सिउँदो पुछिएकी १९ वर्षीय अनिता परियारको पीडा देखेनन् । तसर्थ म आफूलाई कसरी सम्हालेर भनुँ मलाई गर्व छ, नेपाली भएकोमा ।

सोर्स-रातो पाटी




प्रतिक्रिया दिनुहोस्...