पक्राउ परेको २४ घण्टा नवित्दै छुटे सिके राउत, घरैमा पुगेर प्रहरीले लगायो परिवारलाई जिम्मा
सप्तरी, जेठ १३ - मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भन्दै हिड्ने सिके राउत मंगलबार दिउसोँ टेलिभिजन अन्तर्वाता दिन गइरहेका बेला इटहरीबाट पक्राउ परेका भएपनि त्यसको २४ घण्टा नवित्दै प्रहरी आफैले घरमै लिएर छोडेको छ ।
बुधबार बिहानै ४ बजे प्रहरीले सुरक्षा घेरामै राखेर राजविराजस्थित उनको परिवारको जिम्मा लगाइएको सगरमाथा अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी रमेश भट्टराइले बताए ।
अन्तरवार्ताका लागी टेलिभिजनको कार्यालय नजिकै पुगेका राउतलाई परिसरबाटै इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी विनोद कुमार शर्माको आदेशमा पक्राउ गरिएको थियो ।
डा. राउतलाई पक्रेको २४ घण्टा पनि नवित्दै प्रहरी आफैले घरमा लिएर छोडेको हो । राउतका विषयमा भने प्रहरीकै भनाई फरक फरक आइरहेका बेला सगरमाथा अञ्चल प्रहरीका प्रमुख एसएसपी रमेश भट्टराइले उनलाई बिहान घरैमा लिएर छोडिएको बताए ।
यसअघि इटहरीका डिएसपी विनोद शर्माले सप्तरीस्थित प्रहरी कार्यालयमा मुद्दा रहेको कारण उतै जिम्मा लगाएको भन्दै आएका थिए ।
राज्य विप्लवको मुद्धा लागेका राउतलाई यसअघि पनि प्रहरीले पक्राउ गरेर छाडेको थियो । उनलाई पक्रेर राज्यविप्लवको मुद्धा लगाउने प्रहरीले दाबी गरिरहेका बेला केही राजनीतिक नेताहरुले उनलाई पक्रेर हिरो बनाइएको पनि आरोप लाग्दै आएको छ ।
मधेसलाई नेपालबाट अलग गराउनुपर्छ भन्दै आएका डा. राउतले पछिल्लो समय पहाडका भूकम्पपीडितलाई तराईमा स्थान्तरण गर्न दिइन्न भन्ने कडा टिप्पणीले चर्चामा आएका थिए भने त्यसको सामाजिक सञ्चालमा कडा आलोचना समेत हुदै आएको थियो ।
फेरी एकाएक पक्राउ परेका उनलाई प्रहरीले घरमै लिएर छोडेको समाचार बाहिर आएपछि स्थानीयहरु प्रहरीप्रति आक्रोशित बनेका छन् ।