हिमानी ट्रस्टद्धारा धादिङका भूकम्पपीडितलाई तीन हजार जस्तापाता वितरण


धादिङ, जेठ  २ - पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाहद्धारा स्थापित हिमानी ट्रस्टले धादिङस्थित तसर्पू गाविसका ५०० भूकम्पपीडित परिवारलाई तीन हजार थान जस्तापाता वितरण गरेको छ । 

गएको वैशाख १२ गतेदेखि गएको भूकम्पका कारण धादिङको सो गाविस क्षेत्रका घर भत्किएर स्थानीय बस्न नपाएपछि उनीहरुलाई पुनःनिर्माणमा सहयोग गरिएको हिमानी ट्रस्टले जनाएको छ । 

उक्त गाविसमा करिब एक हजार २०० घरधुरी रहेका तथा ९ वडामध्ये ३, ४, ५ र ६ का स्थानीयलाई टहरा बनाई पुनर्वास गराउने उद्देश्यले कोषले ती सामग्री सहयोगस्वरुप प्रदान गरेको हो ।

ट्रस्टका अध्यक्ष समेत रहेकी पूर्वयुवराज पारसकी पत्नी हिमानी शाहले स्थानीयलाई सहयोग प्रदान गर्दै विनाशकारी भूकम्पका कारण राष्ट्रमा ठूलो धनजनको क्षति भएकोले यस्तो अवस्थामा समस्यामा परेकाहरुलाई कोषमार्फत मानवीय सहयोग गरिएको भनाई राखिन् ।




प्रतिक्रिया दिनुहोस्...