भूकम्‍पपीडितलाई सहयोग गर्ने मनकारी सेलिब्रेटी


भूकम्पले निम्त्याएको विपत्तिपछि पीडितलाई सहयोग गर्न नेपालमा संसारभरबाट सहयोगी हातहरू बढिरहेका छन्। विपत्तिका बेला सहयोग गर्न चाहने सेलिब्रेटीहरूको कमी छैन। 
 
जोहाना लुम्लेजस्ता धेरै चर्चित सेलिब्रटी छन् जसले नेपालका भूकम्पपीडितलाई उल्लेखनीय सहयोग गरेका छन्। नेपाललाई सहयोग नगरे पनि विश्‍वका विभिन्न क्षेत्र र समयमा आइपुगेका विपत्तिमा सहयोग गर्ने मनकारी सेलिब्रेटीहरू पनि त्यतिकै छन्। समाजसेवाबाट चर्चा पाएका केही सेलिब्रेटीका बारेमा यहाँ चर्चा गरिएको छ।
 
जन्मदिनको खर्च सेवामा
जस्टिन विबर
जस्टिन विबर यस्ता विख्यात गायक हुन्, जसको नाम सामाजिक कार्यमा पनि त्यत्तिकै परिचित छ। सामाजिक कार्यमा कसरी सहभागी हुने भन्ने उनले राम्रोसँग बुझेका छन्। सामाजिक कार्यका लागि 'पेन्सिल अफ प्रमिस' उनको अभियान हो। 
 
यस अभियानबाट उनले लाखौ डलर जम्मा गरिसकेका छन्। उनी आफ्नो एल्बम बिक्रीको केही प्रतिशत र फ्यानको सहयोगमार्फत रकम जम्मा गर्ने गछन्। 
 
'सिटी अफ होप', 'मेक अबिस फाउन्डेसन', 'ब्बाइज एन्ड गल्ज क्लब अफ अमेरिका', 'ग्रामी फाउन्डेसन' लगायतका विभिन्न अभियानमार्फत सहयोग गरिसकेका जस्टिनले जम्मदिनमा गर्ने खर्च असहायलाई सहयोग गर्न सबैलाई आह्वान गरेका छन्।
 
वातावरण संरक्षणमा सम्बद्ध
लियोनार्दो डिकार्पिया
हलिउड अभिनेता लियोनार्दो डिकार्पियोको प्रतिष्ठा संसारमा निकै उच्च छ। लाखौं युवतीका प्रिय यी अभिनेता जति ह्यान्डसम छन् मनका पनि त्यत्तिकै धनी छन्। उनी लियोनार्दो डिकार्पियो फाउन्डेसनको माध्यमबाट समाजसेवामा पनि संलग्न हुँदै आएका छन्। 
 
यो फाउन्डेसनले विशेषगरी वातावरणसम्बन्धी चेतना फैलाउने गर्छ। यसका साथै उनले हाइटीका भूकम्पपीडितलाई एक मिलियन डलर सहयोग गरेका थिए। 
 
नेचुरल रिसोर्स डिफेन्स काउन्सिल, इन्टरनेसनल फन्ड फर एनिमल, ग्लोबल ग्रिन यूएसएजस्ता विश्वमै प्रतिष्ठित संस्थाका बोर्ड सदस्य पनि हुन्। बाघ संरक्षण अभियानका क्रममा केही वर्षपहिले उनी पनि नेपाल आएका थिए।
 
सक्दो सहयोग गरौं
म्याडोना
पपस्टार म्याडोनाले संसारभरका करोडौं फ्यान आफ्नो बसमा पारेकी छन् कारण हो उनको गायनकला र सुन्दरता। ५० वर्ष पार गरे पनि उनको हाउभाउ र बढी मेन्टेनका कारण जवान लाग्छिन्। 
 
उनको सुन्दरतामा लोभिनेको कमी छैन। विभिन्न विवादका कारण सधैं चर्चामा आउने गरेकी उनी सहयोगी मानिसको रूपमा पनि परिचित छन्। हाइटीका भूकम्पपीडितलाई उनले साढे दुई लाख डलर सहयोग गरी आफूमा सबैलाई सक्दो सहयोग गर्ने चाहना रहेको जानकारी दिँदै आफ्नालाई पनि सक्दो सहयोग गर्न अपिल गरेकी थिइन्। 
 
विपद्को समयमा मानिस कस्तो पीडामा हुन्छन्, कति तड्पिएका हुन्छन् आफूले महसुस गरेको उनले भनेकी थिइन्। खासगरी म्याडोना विपद्मा परेकाका मानिसको लागि प्रार्थना गर्ने र सहयोगी भावना राख्ने गर्छिन्।
 
सधैं बालअधिकारका पक्षमा
सेलेना गोमेज
युनिसेफमा सबैभन्दा सानो उमेरमा सद्भावना दूत बन्ने अवसर पाएकी विश्वविख्यात गायिका हुन् सेलेना गोमेज। 
 
त्यसैगरी बलिउडमा प्रतिष्ठित मानिने 'रायन सेक्रेट फाउन्डेसन' को सद्भावना दूत बन्ने मौकासमेत पाएकी सेलेनाले सानै उमेरमा सामाजिक कार्यमा पनि परिचिन हुन सफल भइन्। 
 
यस फाउन्डेसनले मनोरञ्जन तथा शिक्षाको माध्यमबाट संसारभरका युवालाई सामाजिक कार्यमा उत्प्रेरित गर्ने गर्छ। सेलेनाले व्यक्तिगत रूपमा पनि लाखौं डलर सहयोग गरिसकेकी छन्। 
 
केही महिनाअघि नेपाल आएकी सेलेनाले कंगोमा 'होप फर कंगो' नामक अभियानका साथ पुगेकी थिइन्। मानवीय सहयोगसँगै उनी अपराधविरुद्ध, मानवअधिकारजस्ता विषयमा सल्लाह सुझाव दिने पनि गर्छिन्।
 
एचआईभी अभियानमा केन्द्रित
ओपरा विन्फ्रे
ओपरा विन्फ्रे विश्वमै प्रभावशाली नारीमा गनिएकी छन्। 'ओपराज एन्जल नेटवर्क सपोर्ट' नामक ग्लोबल च्यारिटीमार्फत संसारभर आपत्मा परेकालाई उनी सहयोग गर्दै आएकी छन्। यस च्यारिटीमार्फत उनले क्याटरिना आँधीबेहरीबाट पीडितलाई सहयोग गरेकी छन्। 
 
उनले विशेषगरी अफ्रिकन मुलुकमा सचेतनामूलक कार्यक्रम पनि गर्दै आएकी छन्। ओपराको नेतृत्वमा अन्य अभियान पनि सञ्चालन भएका छन् जसमा वातावरण, एचआईभी आदि क्षेत्र परेका छन्। 
 
उनको च्यारिटीमार्फत संसारभरका एचआईभी प्रभावित विभिन्न मुलुकका महिला तथा बालबालिकालाई सहयोग दिइँदै आएको छ। यस्ता विभिन्न प्रकारका सामाजिक कार्यकै कारण उनी ओस्कार अवार्डबाट पनि सम्मानित भएकी छन्।
 
स्विट हार्ट अफ अमेरिका
सान्द्रा बुलक
हलिउड सेलिबेटी सान्द्रा बुलकको सहयोगी मनलाई जापानिज नागरिकले निकै स्वागत गरेका थिए। सन् २०११ मा ९ रेक्टर स्केलको भूकम्पले जापान तहसनहस भएको समयमा सान्द्राले एक मिलियन डलर सहयोग गरेर गुन गरेकी थिइन्। 
 
'स्विट हार्ट अफ अमेरिका' का रूपमा चिनिने ओस्कार विजेता सान्द्राले अमेरिकन रेडक्रसको सहयोगमा यो रकम हस्तान्तरण गरेकी थिइन्। त्यसैगरी सन् २०१० मा हाइटीमा भूकम्पपीडितलाई पनि एक मिलियन डलर सहयोग दिएकी थिइन्। 
 
पिपुल म्गागजिनको अनुसार सन् २०१५ मा संसारकी सर्वाधिक सुन्दर महिलाको रूपमा चिनिएकी सान्द्रा यस प्रकारका मानवीय सहयोगको कारण चर्चामा आउने गरेकी छन्।
 
 
क्यान्सरपीडितका लागि मल्हम
माइली साइरस
चमत्कारी गायन प्रस्तुतिका कारण विश्वमा आफ्नै पहिचान बनाएकी पपगायिका माइली साइरसका फ्यानहरू लाखौं छन्। गायनबाट आर्जेको रकमको केही प्रतिशत उनी सामाजिक काममा प्रयोग गर्ने गर्छिन्। 
 
सामाजिक कार्यमा सधैं सक्रिय उनले क्यान्सरको उपचार तथा रोकथामका लागि 'गेट योर गुड अन' नामक अभियान चलाउँदै आएकी छन्। 
 
यस अभियानले क्यान्सरपीडितको लागि निकै ठूलो राहत मिलेको छ। सामाजिक कार्यका लागि यस अभियानबाट हालसम्म लाखौं डलर जम्मा गरिसकेकी छन् भने संसारभरका युवालाई सामाजिक काम गर्ने मौका पनि मिलेको छ। 
 
'वेस्ट अफ बोथ वर्ल्‍ड टुर' भ्रमणमा बिक्री भएका प्रतिटिकट एक डलर सहयोग दिने वचन दिएकी छन्।
 
रूपजस्तै मनकी राम्री
एन्जेलिना जोली
संसारमै सुन्दर अभिनेत्रीका रूपमा परिचित एन्जेलिना जोलीको नाम हलिउडमा मात्रै नभएर समाजसेवा तथा समाज सशक्तीकरणमा पनि त्यत्तिकै परिचित छ। 
 
सन् २०१० मा हाइटीमा गएको विनाशकारी भूकम्पमा जोलीले वान मिलियन अमेरिकी डलर सहयोग गरेकी थिइन्। बालबालिकाको लागि उचित परामर्शदाता जोलीले पीडितको भय र त्रास हटाउन परामर्श पनि दिएकी थिइन्। 
 
यूएनएचसीआरको सद्भावना दूतसमेत बनिसकेकी जोली र उनको श्रीमान्ले 'जोलीपिट फाउन्डेसन स्थापना गरेका छन्। यस फाउन्डेसनले बालबालिकाको सुरक्षा, अधिकार, स्वास्थ्यका लागि काम गर्ने गरेको छ। 
 
जोली हलिउडकी पहिलो सेलिब्रेटी हुन् जसले धर्मपुत्र राख्न सुरु गरिन्। अहिले दर्जनौं हलिउड सेलिब्रेटीले असहाय बालबालिकाको उद्धार गर्ने गरेका छन्।






प्रतिक्रिया दिनुहोस्...