भूकम्पको एउटा तस्बिर, जसले संसारभर चर्चा पायो
अमुल थापा
वैशाख १२ गते महाभूकम्प जाँदा म आफू काम गर्ने समाचार संस्था काठमाण्डुटुडे डटकमको नयाँ बानेश्वरस्थित कार्यालयमा थिएँ । सात तले घरको दोश्रो तलामा रहेको कार्यालयमा कम्युटरमा बसेर फोटो सम्पादन गरिरहेका बेला एक्कासि भूकपको झड्का महसुस भएको थियो । हामी ४/५ जना थियौं । सबै घोप्टो परेर बस्यौं । भूकम्पको पहिलो धक्का रोकिएपछि सुरक्षितसँग बाहिर निस्कियौं । हामी सबै एकछिन आत्तियौं । के गर्ने, कसो गर्ने सोच्नै सकिएन । आफ्नो पेशाको धर्मअनुसार काम गर्नैपथ्र्यो । मानिसहरु भूकम्पबाट आत्तिएर भागाभाग गरिरहेको केही तस्वीर लिएँ । धरहरा ढलेको र वसन्तपुर दरबार क्षेत्र ध्वस्त भएको खबर पाएपछि मन चिसो भयो । बुद्धनगरतिर ठूलो आँधी आएको बेलाजस्तो धुलो उडेको थियो । त्यो घर भत्किएर उडेको धुलो थियो । धक्का आउने जाने भइरहेकैबेला सुन्धारातिर लागियो ।
मानिसहरुको सडकमका रुवाबासी चलेको थियो । गुडिरहेका मोटरसाइकल बीच सडकमै ढलेका थिए । केही मानिस घाइते अवस्थामा रक्तमुच्छेल भएर हिंडेका थिए । भूकम्प रोकिएपछि घरमा फोन गरें । जति कोसिस गर्दा पनि सम्पर्क हुन सकेन । मोबाइलको नेटवर्कले कामै गरेन । मन जति चिसिए पनि डरले बाँधेर राख्न सकेन । यस्तो सोचें हाम्रो पेशा नै जोखिममा काम गर्ने हो । सहकर्मी शैलज पौडेललाई लिएर धरहरातर्फ लागें । सुन्धरामा पाइला पर्नासाथ म झस्किएँ । आँखै अगाडि धरहरा ढलेर पुरिएका शवहरु नेपाली सेना, प्रहरी र उद्धारकर्मीले धमाधम निकालिरहेका थिए । कतिपय मिडियाका प्रतिनिधि पुगिसकेका थिए । कतिपय हामी पुगेपछि पनि आइरहेका थिए । अब के हुने, कसो हुने हो भन्ने सन्त्रास कायमै थियो । केहीबेर धरहराको खण्डहर दृष्य क्यामेरामा कैद गरेर वसन्तपुर लागियो । वसन्तपुरमा सुन्धारामा भन्दा बढी मानिसको भीडभाड थियो । त्यहाँ पनि मृतक र घाइतेको उद्दारमा सेना प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण खटिएका थिए । त्यहाँको दृष्यले झन् मन थाम्न गाह्रो भयो । अरु केही फोटो पत्रकार त्यहाँ थिए । पेशाले दिन्थ्यो या दिन्थेन थाहा भएन । हामीले क्यामेरा बन्द गरेर भग्नावशेषबाट शव र घाइतेहरु निकाल्यौं । त्यतिबेला हामीले आफूलाई मान्छे बढी, पत्रकार कम हुँ भन्ने भान भयो ।
वीर अस्पताल पुग्दा स्थिति थप दर्दनाक थियो । घाइतेलाई अस्पताल बाहिर सडकमै राखेर उपचार गराइराखिएको रहेछ । बेलाबेलामा भूकम्पका धक्का आइरहेका थिए । वीर अस्पतालमै रहेका बेला गृहजिल्ला भक्तपुरमा धेरै क्षति भएको खबर सुनें । मन आत्तियो, तर संयोगले दिदीको फोन आयो । घर भत्किएछ । तर, परिवारका सबै सकुशल रहेको खबर सुनेपछि मन शान्त भयो ।
कार्यालय बसेको घरमा त्यो बेला पस्न सक्ने अवस्था थिएन । अस्थायी प्रयोजनका लागि व्यवस्था गरिएको कोटेश्वरस्थित एउटा घरबाट भूकम्पको समाचार पोष्ट भइरहेको थियो । मैले खिचेर ल्याएका केही तस्वीर पनि पोस्ट गरियो । घर फर्कंदा रातको आठ बजिसेकेको थियो । घर फर्कने क्रममा मैले भक्तपुर मुलढोकामा चार महिनाको बालक भत्किएको भग्नावशेषमा पुरिएको र सेनाले उद्दार गरिरहेको कुरा सुनें । हतारहतार त्यहाँ पुगें । म पुग्दा सर्वसाधारणको बाक्लो भीड थियो । मानिसहरु रुने र चिच्याउने गरिरहेका थिए । केहीबेर त्यहाँ बसें । भग्नावशेषभित्र बालक रोकएको आवाज आइरहन्थ्यो । बालक कहिले चुप लाग्थ्यो । कहिले झन् चर्को आवाज निकालेर रुन्थ्यो । बाहिर बस्नेहरु सबै निरीह थिए, गर्न सक्ने अवस्था केही थिएन । त्यस्तो बेला मानिसहरुलाई थप पीडा हुँदोरहेछ । सेनाको टोलीले राति अबेरसम्म बालकको उद्धार गर्ने कोसिस गरिरहेको थियो । अँध्यारो, भारी वर्षात र पटकपटक गइरहेको धक्काका कारण उद्धारकार्य प्रभावित भयो । सैनिक टोली भोलिपल्ट आउने बताएर हिंड्यो । भोलिपल्ट बिहान ७ बजे नै त्यो ठाउँमा पुगिसकेको थिएँ । सेनाहरु आएर उद्दारकार्य सुरु गरिसकेका रहेछन् । एक सैनिक अधिकारीले बालक अझै जिवीतै रहेको बताए । फेरि बालक रोएको आवाज आयो ।
लगातारको प्रयासपछि सैनिक टोलीले श्याम अवाल र र रस्मिला अवालका ४ महिने छोरा सोनितलाई सकुशल भग्नावशेषबाट बाहिर निकाल्यो । बालकको तीघ्राको भाग केही रातो थियो । आँखा र मुखमा माटो थियो । २२ घण्टासम्म भत्केको घरमा पुरिएका बालक भर्भराउँदा थिए । मुसुक्क हाँसेजस्तो मुद्रा देखियो । मलगायत हामी भएका सबै यति खुसी भयौं कि त्यो खुसीलाई कसैले शब्दमा व्यक्त गर्न सकेनन् । मैले तस्वीरहरु लिएँ ।
सेनाले उद्दार गरेको सबै घटनाक्रम झल्कने गरी दृष्यहरु क्यामेरामा कैद गरें । सेनाकै गाडीले बालकलाई अस्पताल लगेपछि म भक्तपुरका अन्य भूकम्प प्रभावित क्षेत्रतिर लागे ।
पत्रकारिता क्षेत्रमा बिताएका केही वर्षमा धेरै तस्वीर खिचियो । फोटो खिच्नु हाम्रो दैनिकी नै हो । त्यस दिन पनि ड्युटी पुरा गर्ने हिसाबमा फोटो खिचियो । तर, त्यो फोटोले स्वदेश रविदेशमा यति ठूलो चर्चा पाउला भन्ने अनुमान गरेको थिइन । फोटो ल्याएर कार्यालयमा दिएँ । इन्टरनेट थिएन । अफिस नै विस्थापित भएर सडकमा थियौं । त्यस दिन अपलोड हुन सकेन । जब भोलिपल्ट फोटो अनलाइनमा पोष्ट भयो तब सामाजिक सञ्जालमा एकैछिनमा भाइरल बन्यो । त्यो फोटो भएको काठमाण्डु टुडेको समाचार झण्डै एक लाख जनाले फेसबुकमा शेयर मात्र गरे । प्रख्यात अन्तर्राष्ट्रिय सञ्चार माध्यम एपी, एएफपी, सीएनएन, बीबीसी, न्यूयोर्क टाइम्स, वासिङटन पोष्ट, हफिङटनपोस्टसहित सयौंले फोटो प्रयोग गर्ने अनुमति मागेर इमेल पठाए । कतिले सिधै टेलिफोन गरे । दुई दिनसम्म एक जनाले इमेलको रेस्पोन्स मात्र गरेर बस्नुपरेको थियो ।
आजतकसहित अधिकांश भारतीय टेलिभिजन च्यानलले त्यही फोटो घण्टौंसम्म स्क्रिनमा बिकाए । तर, भारतीय मिडिया एउटाले पनि फोटो प्रयोगका लागि अनुमति मागेनन् । उनीहरुले फोटो चोरे । व्यवसायिक रुपमा पश्चिमा मिडियाको तुलनामा भारतीयहरु धेरै पछि रहेछन् भन्ने थाहा भयो । केही दिन अन्तर्वार्ता दिन भ्याइनभ्याई भयो । नेपालका पनि अधिकांश ठूला संचारमाध्यमले मैले खिचेको फोटो प्राथामिकताका साथ प्रयोग गरे । एउटै फोटोले मलाई देश विदेशमा चिनायो । मेरो संस्था र साथीहरुका तर्फबाट बधाई आयो । अहिले पनि नेपालका अधिकांश समाचार कक्षमा त्यो फोटोको चर्चा हुन छाडेको छैन ।
त्यही फोटोका कारण उद्दार गरिएका बालकलाई दैनिकजसो मानिसहरु भेट्न आउने गरेका छन् । सहयोगी हातहरु पनि बढेछन् । बालकका बुबा श्याम अवालले पटकपटक टेलिफोन गरेर धन्यवाद दिए । मभन्दा बढी धन्यवादका पात्र ती नेपाली सेनाका जवानहरु थिए, जसले सोनितलाई २२ घण्टापछि पनि जीवितै उद्दार गरे ।