छोरीभन्दा पाँच वर्ष कान्छी उमेरकीसँग बिवाह


सप्तरीकी १४ वर्र्षकी कञ्चनको बिवाह उनी भन्दा तेब्बर उमेरकासँग भयो । कारण थियो दुलाहा पक्षले दाइजो नलिने र बिवाहको दुबैतर्फको सम्पूर्ण खर्च बेहोर्ने सर्त ।
दाइजो दिन र बिवाह खर्च गर्न नपरेपछि परिवारको करिब दुई/चार लाख जोगिएको छ तर उनको किशोरी जीवनमा भने चुनौती थपिएको छ ।
कञ्चनरुपको पिप्रा पूर्व गाउँकी १४ बर्षकी निरक्षर कञ्चनकुमारी साहको विवाह ४१ वर्षका हुलासप्रसाद साहसँग बिहीबार भारदहको प्रसिद्ध कंकालिनी मन्दिरमा भएको हो ।
कमजोर आर्थिक अवस्थाका कारण दाइजो दिन नसकेपछि परिवारले २७ वर्र्ष जेठासँग बिवाह गरिदिएका हुन् । सप्तरीको तरही २ का हुलासको पहिलो विवाह जनकपुरको भानु चोककी बिनादेवी साहसँग २०५० सालमा भएको थियो ।
पहिलो श्रीमतीबाट जन्मेकी छोरी १९ वर्षकी छोरी भएकी उनले बताए । जेठी श्रीमतीबाट छोरा नभएपछि र गरिब परिवारको कन्या केटीका अभिभावकहरु बिवाह गर्न तयार भएपछि घरपरिवारको सल्लाहमा नै बिवाह भएको उनले बताए ।
महेन्द्र र शिवकुमारी साहको चारवटा छोरीमध्ये कञ्चन साइली छोरी हुन् । महेन्द्रका साढु भाई सिरहा पोखरभिण्डाका मदन साहले बिवाहको सबै तारतम्य मिलाई दिएपछि उनीहरुको बिवाह भएको बालिकाले बताइन् ।
‘पहिले नै बिवाह गरिसकेका पुरुषका पत्नीको मृत्युपछि वा सन्तान नभएपछि दुलाहा पक्षले अर्को बिवाह गर्नेसँग दाइजो माग्दैनन् ।
त्यसैले धेरै छोरी भएका र आर्थिक अवस्था कमजोर भएकाले सानै उमेरका छोरीको विवाह त्यस्तासँग गरिदिने चलन छ,’ युवा अगुवा दिवाकर साहले भने, ‘दाइजो प्रथाका कारण अनमेल बिवाह र बहुबिवाह बढ्दो छ ।’
कानुनले दाइजो प्रथालाई रोक लगाए पनि मधेसी तथा मुस्लिम समुदायमा अत्यधिक बढ्दो छ । केटी पक्षले नगद, गरगहना र मोटरसाइकल लगायतका सामान दाइजा बेपत्ता दिनैपर्ने चलन झनझन बढिरहेको अधिकारकर्मी अनिता देवकोटाले बताइन् ।
‘दाइजो दिन घरखेत बेच्नु पर्ने र बेच्नका लागि घरखेत समेत नहुने परिवारका अभिभावकहरु दाइजो नलिने केटासँग छोरीको विवाह गर्न बाध्य छन्,’ बालविवाह र दाइजो प्रथाविरुद्ध अभियान सञ्चान गरिरहेका जिल्ला बालसञ्जालका अध्यक्ष भावना पौडेलले भनिन्, ‘छोरीलाई दाइजो दिन घरखेत दिनुभन्दा छुटकारा पाउन अनमेल बिवाह गर्ने चलन बढिरहेको छ ।’ कम उमेरमा विवाह गर्नु कानुन विपरीत तथा स्वास्थ्यका दृष्टिले समेत जोखिमपूर्ण हुने गरेको बताउँछिन पौडेल ।

बिवाहको खबर पाएलगत्तै प्रहरीले खोजतलाश गर्न थालेको सुइको पाएपछि बिवाहकै दिन उनीहरु भारतको लौकहीस्थित हुलासको काकीको घर पुगेका थिए । सप्तरी प्रहरीले भारतिय प्रहरीको सहयोगमा आइतबार पक्राउ गरेर ल्याएपछि बालिका भने जिल्ला प्रहरी कार्यालय सप्तरीको एउटा कुनामा बसेर टोलाइरहिन् । उनलाई बालविवाह गर्न हुँदैन भन्ने थाहा नै छैन् ।
उनले भनिन्–माइली दिदीले बिवाह गर्न नमानेपछि बाबुआमाले मसँग बिवाह गरिदिएका हुन् । कञ्चनले आफ्नो बिवाहबारे पहिले थाहै नपाएको बताइन् । ‘मेरो बिहेबारे मलाई केही जानकारी छैन्, दिदीको बिहे हुने तयारी भइरहँदा दिदीले नमाने पछि अभिभावकले विहे गर्न मलाई भने,’ उनले भनिन्, ‘आमाबुबाले गरिरहेको काम राम्रै होला भनेर बिहे गरे ।’
१४ वर्षदेखि १८ वर्र्ष नपुगेकी बालिकाको विवाह गरे, गराएमा छ महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
विवाह गर्न उमेर पुगेको हुनुपर्छ । ‘तर, गरिबी, जनचेतना अभावका कारण परम्परा जोगाउने नाममा तराई मधेसमा बालविवाह हुने क्रम जारी छ ।,’ यहाँ ठूलो संख्यामा बालविवाह र बहुविवाह हुँदै आएपनि पक्राउ परेको घटना भने पहिलो भएको प्रहरीले जनाएको छ ।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०६८ का अनुसार ४० प्रतिशत अर्थात १३ लाख किशोरी १९ वर्र्ष नपुग्दै विवाह हुने गरेको छ भने तीमध्ये करीब साढे पाँच लाख किशोरीहरु त १९ वर्र्ष अगावै आमा बन्ने गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्...