आफ्नो नेतृत्वमा संविधान जारी गर्न दिए सुशीलजीले छाड्छु भन्नुभएको छः प्रचण्ड
काठमाडौं, जेठ १६ – एमाओवादी अध्यक्ष प्रचण्डले संविधानका विवादीत विषयमा दलहरु सहमति नजिक पुगेको दाबी गर्दै आगामी १० भित्र राजनीतिक कोर्स परिर्वतन हुने बताएका छन् ।
गोरखाको आरुघाट पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै २ दिनभित्र संविधानका विवादीत विषयहरुमा सहमति हुने गरी दलहरुबीच कुराकानी अघि बढिरहेको बताएका हुन् ।
प्रचण्डले भने, ‘नेकपा एमाले र एमाओवादी मिलेको देखेर होला सुशीलजी राष्ट्रिय सरकार गठनका विषयमा हुने बैठकमा खासै बोल्नुहुँदैन । उहाँले ७ देखि १० दिनभित्र आफ्नो नेतृत्वमा संविधान जारी गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ ।’ प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वमा संविधान जारी गर्न दिए नेतृत्व छाड्न तयार रहेको कुरा बताएको पनि प्रचण्डले जानकारी दिए ।
‘अबको १० दिनभित्र नेपालको राजनीतिक कोर्स परिवर्तन हुन्छ,’ प्रचण्डले भने ।
यद्यपि, प्रचण्डले राष्ट्रिय सरकारको गठनको कुरा मन्त्री वा प्रधानमन्त्री फेर्ने कुरा मात्र नभएको पनि स्पष्ट पारे । ‘जनपक्षीय संविधान निर्माणमा सहमतिपछि मात्र सरकार परिर्वतनको कुरा आउँछ,’ उनले भने, ‘राष्ट्रिय सरकारको गठन भनेको राहत र पुनर्निमाणमा एकीकृत योजना ल्याउनका लागि हो ।’
आरुघाट पुगेर प्रचण्डले आफूले अध्यापन गराएको भिमोदय उच्च माविको अवलोकन गरेका छन् ।
उक्त विद्यालयलाई एमाओवादी नेतृत्वको जर्नादन शर्मा प्रभाकरले पुनर्निर्माण गर्दैछ । एमाओवादीले शुरु गरेको पुनर्निर्माण अभियान अन्तरगत नेता शर्माको टोलीले गोरखाका विभिन्न भागमा स्कूल तथा गाउँको पुनर्निर्माण गर्दै आइरहेको छ ।
‘जेठ १७ गतेबाटै यस विद्यालयमा पठनपाठन सम्भव छैन,’ नेता शर्माले भने, ‘अबको एक हप्तामा यसको भगनावशेष हटाएर हामी पुनर्निर्माणको काम सक्नेछौं र स्कूल हस्तान्तरण गर्ने छौं ।’