रेणु दाहालले राहत गायव पारेको भन्दै भारतीय टोली काठमाडौँमा
काठमाडौँ, २३ वैशाख ।
गोरखाका भूकम्पपीडितका लागि भारतले पठाएको राहत सामग्री एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरी रेणु दाहालको निर्देशनमा काठमाडौँमा गायव पारिएको भन्दै भारतबाट सामान खोजीको लागि टोली काठमाडौँ आइपुगेको छ । आइतबार सप्तरीको भारदहमा एमाओवादीले भारतबाट आएको राहत गोरखा नपुगेपछि राहत पठाउनेहरु खोजीका लागि काठमाडौँ आइपुगेका हुन् ।
दाँत माझ्ने मञ्जनदेखि एउटा परिवारलाई आवश्यक राहतको साम्रगी भएको २ सय ५० प्याकेट राहत भारतको केयर इन्डियाले गोरखाका लागि केयर नेपाललाई पठाएको हो । भारतको भारदहबाट पठाइएको सामग्री त्यहाँबाट ट्रकमा ल्याइएपछि नेपालमा बसमा लोड गरेर गोरखा पठाउँदा गोरखा जाने बसलाई सीधा काठमाडौँ ल्याएर बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छेउमा अनलोड गराइएको पाइएपछि टोली काठमाडौँ आइपुगेको हो । सामान खोज्न आएकामध्ये एकले हिन्दीमा भने, ‘हामीले सबै प्रक्रिया पूरा गरेर दुईसय ५० परिवारलाई १० लाख रुपैयाँको सामान पठाएका थियौँ, सप्तरीको भारदहबाट बस नियन्त्रणमा लिएर काठमाडौँमा सामान झार्ने काम भएको खबर पाएर खोज्दै आएका हौँ ।’ उनले भने, ‘त्यहाँ एमाओवादी कार्यकर्ता ज्योति झाले यो काम गरेको पाइयो र उनले एमाओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाललाई लगेर सामान बुझाइएको बताएपछि टोली काठमाडौँ आएको हो ।
राहत फिर्ताको पहलका लागि आएका टोलीका सदस्यलाई केही आर्थिक लिएर विषय सल्टाउन प्रस्ताव आएको बताइएको छ । टोलीका एक सदस्यले भने, ‘हामीलाई आजै १० बजे बोलाएका थिए तर अहिलेसम्म छलफल भइसकेको छैन ।’ उनीहरुले बिहान १० बजे भेट्ने भने पनि दिउँसो साढे १ बजेसम्म फोनमा मात्र वार्ता भइरहेको छ । भारतबाट आएको राहत यसरी बाटोमै गायव पारिएको यो पहिलो घटना हो । एमाओवादीका दुई बलशाली नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको गृहजिल्लाका लागि एउटा सामाजिक संस्थाले पठाएको राहत पार्टी अध्यक्षकै परिवारका सदस्यबाट गायव पारिएको घटना राम्रो होइन । यसले एमाओवादीलाई विवादमा ल्याएको छ भने वास्तविक पीडितलाई राहत नपुग्ने पनि देखिएको छ ।
पार्टीले नै मागेको हो: एमाओवादी
एमाओवादी काठमाडौँ जिल्ला सेक्रेटरी रेणु दाहालकहाँ गोरखा पठाइएको सामान आएको र बलजफ्ती सामग्री गायव पारिएको भन्दै टोली काठमाडौँ आएको एमाओवादीले सामान आफ्नै लागि आएको बताएको छ । ‘भारतबाट सामग्री एमाओवादी नेत्री हिसिला यमीको अनुरोधमा आएको हो,’ एक नेताले भने, ‘काठमाडौँमा सामान झार्ने क्रममा पार्टी सेक्रेटरीको सम्पर्कसूत्र दिइकाले रेणु दाहालको नाम आएको हो ।’ उनले भने, ‘न एमाओवादीले राहत लुटेको हो, न यसमा पार्टी अध्यक्ष प्रचण्ड र रेणु दाहालको नै हात छ ।’ रेणु दाहालले पनि सामान आएको तर लुटेर नल्याइएको र आफूलाई विवादमा पार्ने काम भएको प्रतिक्रिया दिएकी छन् ।
हिसिलाको फोन उठेन
भारतको भारदहबाट राहत खोजीका लागि काठमाडौँ आएको टोली र एमाओवादी काठमाडौँ नेतृत्व छलफलमा जुट्न सकेका छैनन् । टोलीले राहत फिर्ता माग गरेको छ भने एमाओवादीले मिडियामा हिसिला यमीले मागेको राहत हो, लुटिएको भनेर नेताको चरित्र हत्या गर्ने काम भयो भने पनि टोलीसँग केही पैसा लिएर घटना साम्य पार्न फोनमा छलफल चलिरहेको छ । केयर इन्डियाका नाममा केयर नेपालका लागि सामान आएको भन्दै कागजातसमेत बोकेर टोली काठमाडौँ आउँदा यो सामान हिसिलाले मगाएको भन्दै माओवादीले भनेपछि हिसिला यमीलाई पटकपटक सम्पर्क गर्न खोज्दा उहाँको फोन रिसिभ भएन ।
प्रचण्डले कसरी बाँड्छन् राहत ?
एमाओवादी नेता डा. भट्टराई गोरखामा राहत नपुगेको विषयमा लबिङ गरिरहेका छन् । उनी यो मुलुकमा शक्तिशाली पद प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । आफ्नो गृहजिल्लाका लागि उनले गरेको लबिङ अन्यथा होइन तर सामाजिक सञ्जालमा उनको आलोचना उस्तै भइरहेको छ । यद्यपि उनी आफ्ना नागरिकका लागि अहोरात्र खटिएका छन् । यस्तै, अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाश संविधानसभाको निर्वाचनमा उम्मेदवार भएको मकवानपुरको क्षेत्र नम्बर २ पुगेर गाउँमा राहत बाँड्दैछन् । पार्टी अध्यक्ष छविलाल दाहाल प्रचण्ड पनि हरिसिद्धि, सिन्धुपाल्चोक पुगेर राहत बाँडेर फर्किए । तर उनले बाँडेको राहतको स्रोत के हो ?
भारतबाट आएको राहत सामग्री लुटिएपछि नागरिकले प्रश्न सोध्ने नै भए । कतै यस्तै लुटिएको राहत बाँडेर पो उनी लोकप्रिय हुन खोज्दैछन् कि ?
उसो त उनका व्यापारिक साझेदार अजेयराज सुमार्गी पराजुलीले घोषणा गरेको पाँचकरोड रुपैयाँको राहत प्याकेजकै राहत बाँडिरहेको आरोप पनि लागेको छ । ‘प्रचण्डले जहाँ राहत बाँडेका छन्, त्यहाँ सुमार्गी समूहले राहत बाँड्ने घोषणा गरेको थियो,’ सुमार्गी समूहका एक पूर्व कर्मचारीले भने, ‘प्रचण्डले बाँडेको राहत विवादास्पद छ, उनले सुमार्गीले घोषणा गरेको प्याकेजको राहत बाँडेको हो होइन भन्नुपर्छ ।’ यता, भारतबाट आएको राहत गायव पारिएको घटनामा पनि उनकै छोरीको नाम पनि जोडिएको छ ।