दलहरुले किन हानिरहेका छन् आफ्नै गालामा झापड ?
मिडिया एनपी, काठमाडौं, १५ जेठ । आज (शुक्रबार) जेठ १५ गते अर्थात आठौं गणतन्त्र दिवस । आठौं गणतन्त्र दिवसका दिन आज हालै गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याउँदा आइपरेको महाविपत्तिका कारण कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । तर, राष्ट्र, सरकार तथा पार्टी प्रमुखहरुले गणतन्त्र दिवसको अवसरमा भने शुभकामना दिएका छन् ।
आज कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । यो स्वाभाविक हो । यो सँगै यस वर्षको गणतन्त्र दिवस खल्लो रहेको कुरा पनि सुनिएको छ । आखिरी नेपाली जनताले सधैं नै गणतन्त्र दिवस खल्लो नै महसुस गरेका थिए । यो वर्ष विपत्तिका कारण खल्लो महसुस गरे भने यसअघि राजनीतिक दलहरुका गतिविधिले खल्लो महसुस गर्थे ।
ठिक सात वर्ष अघि आजकै दिन मध्यराति औपचारिक रुपमा राजतन्त्र समाप्त भई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मकमा प्रवेश गरेको तत्कालिन संविधानसभाको पहिलो बैठकले घोषणा गरेको थियो । यो घोषणा हुँदा संविधानसभा भित्र रहेका सभासद्हरुले मात्रै टेबुल बजाएर स्वागत गरेनन्, आम नेपाली जनताले आफ्नो उज्जवल भविश्य र अब कसैको निरकुंस व्यवहार सहनु नपर्ने भन्दै खुशियाली मनाए ।
मुलुकको समृद्धि, विकास तथा सम्पूर्ण उन्नतिको बाधक राजतन्त्र फ्याल्न सफल भएको भन्दै खुशी हुँदै राजनीतिक दलका नेताहरुले भनेका थिए, ‘सबै जनता अब अधिकार सम्पन्न हुन्छन्, दुई वर्षमा नयाँ संविधान जारी गर्छौं र मुलुकलाई सिंगापुर बनाउँछौं ।’ आज सात वर्ष वितेको छ । खोइत संविधान ? सिंगापुरको जस्तो विकास र उन्नति त हुन सकेन तर नेपालकै अस्तित्व धरापमा पर्दै गएको छ ।
आफ्नै प्रतिबद्धता वर्षेनी विर्सिदैं आफ्नै गालामा नैतिकताको झापड हानिरहेका राजनीतिक दलका नेताहरु संविधान बनाउन भन्दा पनि यो सात वर्ष सत्ताको वरिपरी घुमिरहे । भागबण्डामा मुलुक चलाइरहे । एउटा राजाको स्थानमा अनगिन्ती श्री ५ देखा परे । उनीहरुकै हालीमुहाली चलिरहेको छ आजपर्यन्त । सर्वसाधारण नागरिक सधैं बाइपासमा परिरहे । पहुँचवालाहरुको दबदबामा कानुन र अधिकारका कुरा ओझेलमा परे । हो यसर्थ नेपाली जनतालाई गणतन्त्र कहिल्यै आएन । राजनीतिक दलका नेताहरु र उनीहरुको संरक्षणमा रहेका समिति समूह, गुठ, संगठनहरुलाई गणतन्त्र राम्रै फाप्यो ।
राजतन्त्रको अन्त्यसँगै गिरीजाप्रसाद कोइराला सहित आजसम्म ६ जना यो मुलुकले जनताको छोरा प्रधानमन्त्री बनायो र एक जना राष्ट्रपति अहिले सम्म पाइरहेको छ । काँग्रेसदेखि कम्युनिष्ट सम्म र खाली हातदेखि हतियारसम्मको आन्दोलनकर्मी मुलुकको कार्यकारिणी स्थानमा पुगे । तर, नेपाली जनताले सधैं आश गरेपनि केही वर्ष यता यो पनि मार्दै गएका छन् ।
अघिल्लो दुई वर्षबाट चार वर्ष पुर्याइएको संविधानसभाको कार्यभार पूरा नगरी मध्यरातमा अवसान गराएका दलहरुले दोश्रो संविधानसभाको प्रतिबद्धता पनि पूरा हुन दिएनन् । दलीय प्रतिपस्पर्धा र लोकतन्त्रको गीत गाउने यी राजनीतिक दलहरुले स्थानीय निकायको निर्वाचन नगराई आफ्नो भागबण्डाको हकदावी गर्दै मुलुकलाई घिसारी रहे ।
अघिल्लो दुई वर्षबाट चार वर्ष पुर्याइएको संविधानसभाको कार्यभार पूरा नगरी मध्यरातमा अवसान गराएका दलहरुले दोश्रो संविधानसभाको प्रतिबद्धता पनि पूरा हुन दिएनन् । दलीय प्रतिपस्पर्धा र लोकतन्त्रको गीत गाउने यी राजनीतिक दलहरुले स्थानीय निकायको निर्वाचन नगराई आफ्नो भागबण्डाको हकदावी गर्दै मुलुकलाई घिसारी रहे ।
आज मुलुक महाविपत्तिमा छ । आठ हजार सात सय भन्दा बढीको ज्यान गएको छ भने करिब २२ हजार घाइते भएका छन् । अनि लाखौं घरबारबिहीन भएका छन् । यो विषम परिस्थितिमा राजनीतिक दलहरु नागरिकको समस्या समाधान गर्न राष्ट्रिय सरकारको कुरा उठाएका छन् । जनताको सेवा र उनीहरुको समस्या समाधान गर्न राष्ट्रिय सरकार होइन नेतृत्वको इच्छाशक्तिको आवश्यक पर्छ । जनता खुला आकाशमा बसेका छन् । बाह्य मुलुकले दिएको राहत सामाग्री कुहिएको अवस्थामा पीडितहरुले भने कुनै व्यक्तिले दिएको राहतमा चित्त बुझाउनु परेको छ ।
मुलुकलाई बलियो सरकार होइन कुशल र सक्षम सरकार चाहिएको हो । दुईतिहाइ मत भएको वर्तमान सरकार बलियो छैन र ? कुशल र सक्षम सरकार मुलुकलाई चाहिएको हो । अहिले तत्काल सरकारको कुरा उठाउनु भन्दा सबै मिलेर विद्यमान विषम परिस्थितिको समाधान गर्नु आवश्यक छ । यदी राजनीतिक दलका नेताहरुले जनता र मुलुकको लागि राजनीतिक गरेको हो भने भूकम्प पीडितहरुलाई बास र गाँसको व्यवस्था गरी आफ्नो विग्रिदैं गएको राजनीतिक साःख जोगाउने यो उपयुक्त अवसर पनि हो ।