केपी ओलीले ३० रुपैयाँको चट्पटे खाए
चोटिलो शब्द र आँटिलो अडानका कारण नेपालको राजनीतिमा अग्रपङ्तीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार बिहान चटपटे खाएका छन्। | |
काठमाडौं, बैशाख २६- चोटिलो शब्द र आँटिलो अडानका कारण नेपालको राजनीतिमा अग्रपङ्तीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार बिहान चटपटे खाएका छन् ।
प्रदर्शनी मार्गस्थित ल क्याम्पस अगाडिको गेटमा अचानक पुगेका अध्यक्ष ओली त्यहाँ राजनीतिक कार्यक्रममा सहभागी नभइ चट्पटे खाएका हुन् । यही बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित भएका नागरिकका लागि अनेरास्ववियुका विद्यार्थीले थालेको राहत संकलन अभियान तथा स्वयम् सेवक विदाइ कार्यक्रममा सहभागी हुन ओली त्यहाँ पुगेका हुन् । सोही स्थानमा अनेरास्ववियुले ‘भूकम्प पीडितहरुको सहयोगार्थ स्वयम सेवकहरुको विदाई कार्यक्रम’ पनि राखेको थियो । ओली स्वयम् सेवक विद्यार्थीको विदाइ कार्यक्रममा सहभागीमात्र भएनन्, चट्पटे खाएर भूकम्प पीडितका लागि राहत पनि जुटाए । विद्यार्थीलाई विदाइ गरेपछि निस्केका ओली ल क्याम्पसकै गेटमा गाडीबाट ओर्लिए । अचानक ओली ओर्लिँदा उनको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि अलमलमा परे । ओली गाडीबाट ओर्लेर क्याम्पस गेटमा चट्पटे बेच्दै गरेका विद्यार्थीमाझ पुगे । एमाले अध्यक्ष गाडीबाट ओर्लेर अचानक चट्पटे बेचिरहेका आफूहरुमाझ आउँदा राहत संकल गरिरहेका विद्यार्थी अलमलमा परेका थिए । ओली पुगेपछि सुनसान रहेको चट्पटे पसलमा सयौं मानिस क्षणभरमै जम्मा भएका थिए । १५-२० मिनेट विद्यार्थीमाझ बिताएका ओलीले ३० रुपैयाँको चट्पटे खाए । विद्यार्थीको राहत अभियानलाई हौसला बढाउँदै ओलीले ९ हजार रुपैयाँ भूकम्प पीडितका लागि राहत प्रदान गरे । ओलीसँगै पुगेका एमालेका युवा नेता एवम् सभासद् रविन्द्र अधिकारीले पनि एक सय रुपैयाँको चट्पटे खान भ्याए । |