प्रधानमन्त्री कोइरालाले राजीनामा दिने


काठमाडौं, १७ जेठ – प्रधानमन्त्री सुशील कोइरालाले असार मसान्तसम्म नयाँ संविधान जारी गर्ने प्रस्ताव गर्दै त्यसलगत्तै साउन १ गते आफूले राजीनामा गर्ने बताएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको प्रमुख चार दल कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षको बैठकमा प्रधानमन्त्रीले फास्ट ट्रयाकबाट संविधान जारी गर्ने प्रस्ताव गर्दै त्यसलगत्तै आफूले प्रधानमन्त्री पद छोड्ने घोषणा गरेका हुन् । ‘असार मसान्तसम्म नयाँ संविधान जारी गरी त्यसको भोलिपल्ट साउन १ मा आफूले राजीनामा दिने धारणा प्रधानमन्त्रीज्यूले राख्नुभयो’, कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले भने । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सत्ता साझेदार एमाले र प्रमुख प्रतिपक्ष एमाओवादीबीच छलफल भैरहेको बेला त्यस विषयमा स्पष्ट गर्न प्रधानमन्त्री कोइरालाले यस्तो प्रस्ताव राखेका हुन् । कोइरालाले जेठ १७ गते तोकिएको संविधानसभाबाट संविधान निर्माणको फास्ट ट्रयाक तय गरेर संविधान जारी गर्ने प्रक्रिया अघि बढाउन पनि शीर्ष नेताहरुसमक्ष प्रस्ताव गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्...