विपतका सारथि मेलम्चीका महानायक उद्धारदेखि राहतसम्म नमुना सेनानी



मेलम्ची (सिन्धुपाल्चोक), जेष्ठ १६ - सेनानी प्रेम हमाल टीभी हेर्दै थिए। कुनै भीषण युद्ध सम्झाउने गरी जमिन थर्कियो। उनी ब्यारेकबाहिर दगुरे। वैशाख १२ गते शनिबार। बिदाको दिन ड्युटीका सेनाबाहेक अधिकांश अनौपचारिक सादा पोसाकमा थिए। ब्यारेकसँगै जोडिएका घरहरूमा नौजवानका परिवारसमेत बसेका थिए। तासका पत्ती ढलेझैं वरिपरिका सबै घर गल्र्यामगुर्लुम ढले। जताततै धुलो उड्न थाल्यो। ग्यास पड्किएर, तेल सल्किएर जहीँतहीँ आगो लाग्न थाल्यो। महाभूकम्पको एक मिनेट नबित्दै पहाडको यो सुन्दर बजार मेलम्चीको जमिन–आकाश कुइरीमण्डल धुवाँले भरिइसकेको थियो।
भीमकाली गुल्मका लेसनायक पुष्प बस्नेत चेकपोस्टमा तैनाथ थिए। जब आफ्नै अगाडि आफ्नो परिवारसमेत बसेको घर लडेको देखे, तुरुन्तै ढले।

ढलिसकेको घरबाट एक–एक गर्दै सबै परिवार जीवितै निकाल्न सफल भए भीमकाली गुल्मका गुल्मपति हमाल, लेफ्टिनेन्ट हुमानसिं कुँवर र तैनाथ जवानहरू। यो सबै काम पाँच मिनेटभित्र सफल भएको थियो। देख्नेहरू भन्छन्, घर यस्तरी ढलेको थियो, एक मिनेटमात्रै अरू ढिला भएको भए कोही पनि बाँच्दैनथ्यो। ध्वस्त घरबाट निस्केर श्रीमतीले ब्यारेकमा सम्हाल्न आउँदा लेसनायक बस्नेत अचेत नै थिए। आफ्ना जहानबच्चा बाँचेका होलान् पत्याउनै सकिरहेका थिएनन्। हमाल र कुँवरसामु अवाक् भए।
झुरुप्पै घेरेर आदेश पर्खिरहेका ५ सय जवानसामु हमाल कराए, ‘जोजो जस्तो ड्रेसमा छौ, बजारतिर कुदिहाल। आज बन्दुक बोक्नु पर्दैन। हेल्मेट लगाएर जाऊ, गइहाल।’

निमेषभरमा तीन दिशाका लागि तीनवटा टोली छुट्टयाए। पहिलो टोली, तल्तिरको बजारतिर तैनाथ भयो। दोस्रो टोली, ब्यारेकमास्तिरको सार्कीगाउँ खटाए। तेस्रो टोली, बजारको माथिल्लो भाग दगुर्‍यो। तेस्रो टोलीको नेतृत्व उनी आफैंले गरे। कमान्डरहरूलाई १०–११ जवानका सहायक टोलीहरू बनाएर साना समूहमा विभाजित भई उद्धार गर्नु भन्ने सन्देश बाटैबाट दिए।
भूकम्पको धक्का एकपछि अर्को गइरहेको थियो। मेलम्ची र छिमेकी गाउँका कति मानिस पुरिए, कुनै अनुमान थिएन। महाभूकम्पमा सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक नै बन्न पुग्यो। त्यसमा पनि क्षेत्र नं ३, जहाँ मेलम्ची बजार थियो। बाँचेकाहरू भाग्ने कि के गर्ने दोधारमा थिए।

आफ्नो अगाडि परिवार पुरिएको छ, कसरी भाग्न सक्नु? सेना कराउँदै धकेल्दै आयो, ‘मर्ने मरिगए। खुला ठाउँमा भाग।’ अनिमात्रै स्थानीयवासी दगुर्न थाले। उद्धार टोलीको सामान्य सिद्धान्तले भन्छ– भूकम्प जाँदाजाँदै अग्ला घरहरूमुनि उद्धार नथाल्नु। धक्का रोकिएपछि मात्रै जानु।
‘चेन अफ कमान्ड’ भन्दा दायाँबायाँ नगर्ने सेनाको आधारभूत मान्यताले भन्छ– अरू सबै कुरा तपसिल हुन्। आदेशको खुरुखुरु पालना गर्नु।
त्यो दिन मेलम्चीको सेनाले दुवै ‘सिद्धान्त’ को उल्लंघन गर्‍यो।
‘भित्र च्यापिएकाहरू बचाऊ बचाऊ भन्दै गुहार मागिरहेका छन्। कसैको त हातबाहेक सबै पुरिएको देखिन्छ,’ हमाल त्यो दिनको कहालीलाग्दो वर्णन गर्छन्, ‘यस्तो बेला कसरी मन थामिन्छ? हामी त भुइँचालो जाँदाजाँदै भित्र छिरेर मान्छे निकाल्न थाल्यौं।’
कसैगरी आफू पुरिइहाले अर्को उद्धार टोलीलाई सूचना दिइहाल्नु भनेर हमालले एक जवानलाई बाहिर राखे। आफू घरभित्र गए।
स्थानीय पत्रकार बालचन्द्र सापकोटाको भनाइमा, त्यत्रो भुइँचालोमा सेनाले त्यति छिटो उद्धार गर्न सक्ला भनेर कल्पनासम्म पनि थिएन। खण्डहर भइसकेको मेलम्ची बजारमा बिहीबार दिउँसो भेटिएका सापकोटाले एक महिनाअघिको विपत् सम्झे, ‘मेजर हमाल र लप्टन कुँवर भुइँचालो जाँदा सेना लिएर कराउँदै कुदिरहेका थिए। घर हल्लिएको हल्लियै थियो। उनीहरू भने भित्र पस्दै मान्छे निकालिरहेका थिए।’
मेलम्ची खानेपानी र इटालीको संस्था कोअपरेटिभ मुरातोरी सेमेन्तेस्ती द रेभा (सीएमसी) ले सेनालाई डोजर, गाडीलगायत दिएर बिरामी ओसार्न, बाटो खोल्न सघाए। सेनाले तुरुन्तै उद्धारका लागि स्थानीय गाडीहरू मागे। नमान्ने गाडीवालालाई हकार्दै बरु पेट्रोल हालिदिने वचन दिए। सयभन्दा बढी सानाठूला पहिरो गइसकेका थिए, गाउँ र बजारका सडकमा। उनीहरूले स्थानीय चालक र युवाको सहयोगमा एकपछि अर्को ट्रयाक खोल्दै गए। बाटो खोल्न एक्स्काभेटर मागे। त्यसलाई अनुगमन गर्न स्थानीय व्यवसायीहरूको नेतृत्वमा तुरुन्त ‘डोजर परिचालन कमिटी’ बनाइदिए। बाटो खुल्नेबित्तिकै घाइते र सुत्केरी ह्वारह्वार्ती अस्पताल झर्न थाले।
गाडी नपुग्ने दुर्गम भेगका लागि हेलिकप्टर पठाए। केही नेताहरूले आफ्नो प्राथमिकतामा हेलिकप्टर पठाउन खोजेका थिए। त्यसलाई उनीहरूले अस्वीकार गरे। स्थानीयसँग मिलेर क्षतिको आकलन गरे। बढी घाइते भएको क्षेत्रमा हेलिकोप्टर गयो। स्थानीयले नै हेलिप्याड बनाए। सेनाको हेलिकोप्टरमा चढेर उनीहरूले बाटो देखाए।
भोलिपल्ट, १३ गते बिहान पत्याउनै गाह्रो पर्ने घटना घट्यो। मिर्मिरे हुन नपाउँदै सेना उद्धारमा खटिइसकेको थियो। भत्किएको घरभित्र केही संकेत पाएर हवल्दार कुलदेव गौतम जवानहरूसँगै छिर्न खोजे। माथिबाट गारो गल्र्याम्म खस्यो। उनीहरू मुस्किलले जोगिए। त्यसपछि पुरिएको भाग खोतल्न थाले। एउटा हात उज्याएको अवस्थामा धुलोभित्र देखियो।
गौतमले हात छामे, त्यसमा जीवनको न्यानो थियो। खोतल्दै गए। सात दिनकी बच्चीलाई दुध चुसाइरहेकी सुत्केरी पार्वती गिरी अचेत थिइन्। शिशुको ज्यान गइसकेको थियो। हाँस्ने कि रुने? खुसी हुने कि दु:खी हुने? त्यहाँ संवेगका लागि कुनै जमिन थिएन। उनीहरूले फटाफट सुत्केरीको उद्धार गरे।

यो घटना सुनिसकेपछि हामी (फोटोपत्रकार निमेषजंग राई र म) शिशु गुमाएकी सुत्केरी पार्वती भेट्न मेलम्चीमाथिको गाउँ जरायोटार हिँड्यौं। उनी दुवाचउरस्थित माइत गएकी रहिछन्। पार्वतीका पति ध्रुव गिरीले भने, ‘छोरी त मरिहाली। तर आमालाई बचाउने त्यो हात सेनाको होइन, भगवानको हो।’ ध्रुवले यो भूकम्पमा बुबा र छोरी गुमाए। माया मारिसकेकी पत्नी कसरी बाँचिन्, अहिलेसम्म उनी पीडा र खुसीको दोभानमा स्तब्ध छन्। हवल्दार गौतमले भने, ‘७२ घण्टासम्म मानिस पुरिए पनि बाँच्न सक्छ भन्ने तालिममा सिकेको थिएँ, त्यो दिन काम लाग्यो।’
मेलम्ची बजारको अवस्थिति अप्ठ्यारो खालको छ। पूरै भिरालो पहाडमुनि बसेको यो बजारमा घरिघरि ढुंगा खसिरहन्छन्। सेनाले त्यसको कत्ति पर्वाह गरेन।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको सानो डफ्फा मेलम्ची बजारमा बस्छ। भीमकाली गुल्मले उनीहरूलाई समेत तत्काल आफूसँगै खटायो। कांग्रेस क्षेत्रीय कोषाध्यक्ष प्रकाश श्रेष्ठ भन्छन्, ‘तत्काल मर्ने त मरिहाले, तर उद्धार नपाएर, घाइते भएर कोही मर्‍यो भन्ने यो क्षेत्रमै आजसम्म सुनिएको छैन। ब्यारेक हुनुको सुविधा यो क्षेत्रले पायो।’
अर्की स्थानीय सुकलक्ष्मी श्रेष्ठले भनिन्, ‘आर्मीको उद्धारमा मेलम्ची खानेपानी आयोजनाले मन फुकाएर सघायो। उनीहरूले हामीलाई नयाँ जुनी दिए।’
सेनाको चेन अफ् कमान्ड कस्तो हुन्छ भने, गुल्मबाट बाहिनीमा। बाहिनीबाट पृतनामा। पृतनाबाट हेडक्वार्टरमा। यो सिद्धान्त कडाइका साथ पछयाइन्छ। तर विपत्ति आउँदा ‘चेन अफ कमान्ड’ को बाटो पछयाएर आउँदैन। उसमाथि भुइँचालोले अधिकांश सञ्चार सम्पर्क विच्छेद गरिदियो। यस्तोमा अन्तरआत्माको चेन अफ कमान्ड पछयाउनुको विकल्प हुँदैनथ्यो।
उनीहरूले जसको फोन लाग्छ, उसकहाँ भने, ‘धेरै ज्यान मरेको शंका छ साप्। जहीँतहीँ घाइते छन्। तुरुन्तै हेलिकप्टर चाहियो।’ मेलम्चीमा नेपालकै पहिलो नाइटभिजन हेलिप्याड छ। अरू दुई हेलिकप्टर ब्यारेकभित्र एकै समयमा ल्यान्ड गर्न सक्छन्। सेनाले चौथो हेलिप्याड पनि तुरुन्तै बनायो, इन्द्रावती खोलापारिको बारीमा। गरा सम्याउन स्थानीय युवाले सेनालाई सघाए। लेफ्टिनेन्ट कुँवर भन्छन्, ‘जे–जे हुनु भइहाल्यो। ढलेका घरभित्र च्यापिएकाहरूलाई हामीले १५ मिनेट नबित्दै बाहिर सुरक्षित ल्याइसकेका थियौं।’
‘मर्छु भन्ने निश्चितजस्तै हुँदा पनि केटाहरूले जोखिम मोले,’ हमाल थप्छन्, ‘उनीहरूमात्रै खटिएनन्, बाँचेका स्थानीयहरूलाई समेत तुरुन्त उद्धारमा लगाए।’ पत्रकार सापकोटाका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको १३ गतेको भूकम्प जाँदाजाँदै सेना बजारभरि तैनाथ भइसकेको थियो। एक मिनेट पनि बित्न नपाई उनीहरूले स्थिति नियन्त्रणमा लिएको सापकोटा बताउँछन्।
तेस्रो दिनसम्म सेनाको सञ्चार सेटले राम्ररी काम गरिरहेको थिएन। मोबाइल फोनको त कुरै भएन। तेस्रो दिन, वैशाख १४ मा साँझ काभ्रे भकुण्डेबेंसीस्थिति बाहिनीपति आश्विनकुमार थापालाई हमालले मोबाइलमा सम्पर्क गरे। फोन काटिँदै, लाग्दै भइरहेको थियो। थापाले भन्न भ्याए, ‘विवेक र शक्तिले भ्याएसम्म मानवीय उद्धारमा जोड दिनू। चेन अफ कमान्ड फलो गर्नैपर्छ भन्ने छैन। फोनको अवस्था यस्तो छ।’
सदरमुकाम चौतारास्थित प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीसँग पनि छोटो कुरा भ्याए। ‘यता पनि यस्तै छ। जसरी हुन्छ, काम अगाडि बढाउनुहोला,’ ज्ञवालीले भने।
भूकम्पको धक्का घटेपछि मात्रै हमाल झल्याँस्स भए, उता घरमा के भयो होला? काठमाडौं धापासीस्थित डेरामा रहेकी श्रीमती सुधा र छोरालाई घरिघरि फोन गर्न खोजिरहेका थिए। तीन दिनसम्म कतैबाट सम्पर्क हुन सकेन। आक्कलझुक्कल फोन लाग्छ, तर उठ्दैन। छोराको फोनको पनि उही हाल छ।
‘पाँच तलाको घरमा डेरा थियो, सबै पुरियो होला,’ हमालले आस मारे, ‘अब यो संसारमा मेरो कोही पनि बाँकी छैन।’
७२ घन्टापछि। पोखरावासी भिनाजुसँग मुस्किलले फोन लाग्यो। काठमाडौंको घर चर्के पनि सबै सुरक्षित भएको खबर पाउँदा मन ढक्क फुल्यो।
भोलिपल्ट सुधासँग बल्ल कुरा भयो, त्यो पनि ४५ सेकेन्ड जतिमा। बोली नबुझिए पनि आवाज–आवाजमै संवाद भयो। फोन फेरि काट्टियो, जस्तो कि लट्टाईबाट चंगा चुँडिन्छ।
तर मन त्यसबेलासम्म शान्त भइसकेको थियो। उनी निस्फिक्री उद्धारमा खटिए।
खाना–पिना, घाम–पानीको कुनै हिसाब थिएन। साँझ परेपछि भने उनीहरू भगवान पुकार्थे, ‘हे ईश्वर, रात नपरिदेओस्। कसरी उद्धार गर्नु?’
प्रकृतिको चक्र हो। रात परिहाल्थ्यो। सानाठूला धक्काहरू गइरहेकै थिए। भूकम्पपीडितको गुहार–गुहार बस्तीहरूमा सुनिन्थ्यो। चित्कारको त्यो आवाज इन्द्रावती नदीपारि ठोक्किएर यतै फर्कन्थ्यो। नदी किनारमा एकैपल्ट ५१ वटा शव जलाउँदा धुवाँ यसरी पुत्ताइरहेको थियो, त्यो दारुण दृश्यका साक्षी कांग्रेस कोषाध्यक्ष श्रेष्ठ शब्दमा भन्नै सक्दैनन्। यति जोड्छन्, ‘५१ लास जलाउनलाई त्यहाँ सय जना पनि थिएनन्।’
चाउचाउको भरमा सेना, पुलिस र स्थानीय खट्न थाले। खानेपानीको मुहानबाट एकनास माटो बगिरहेको थियो। अब उनीहरू प्याकप्याक्ती हुन थाले। ‘फोम’ माथि पानी राखेर पानी सङ्लो बनाउने प्रयास गरे। लेदो के छान्नियोस्। उमालेर पिउन थाले।
लप्टन कुँवर र हमालले छैटौं दिनमात्रै खाना खाए। जवानहरूले चौथो दिनको बिहान खाए। उनीहरू सुते कि सुतेनन् होला?
‘केको सुत्नु?’ भीमकाली गुल्ममा बिहीबार कान्तिपुरसँग कुरा गर्दै सेनाका अधिकारीहरूले यो प्रश्नै खारेज गरिदिए। उनीहरूका लागि डयुटी भन्नु दिनभरि काम गर्‍यो, रात परेपछि गाडीमा बस्यो। रेडियो नेपालमा कोमल वलीको उद्घोषण सुन्यो। उज्यालो नहुँदै गाउँतिर दगुर्थे। बिरामी र घाइतेमध्ये कोहीलाई मेलम्चीमा, कोहीलाई काठमाडौं उपचारका लागि पठाउँथे।
घाइते ओसारिदेऊ भन्न आउने गाउँका मानिसलाई समेत प्रयोग गरेर सेना, पुलिस र सशस्त्रले बिरामी ओसार्‍यो। राज्यसँग सीमित स्रोतसाधन छ भन्ने बुझेका हमाल र कुँवरले स्थानीयसमेतलाई प्रयोग गरेर असाधारण नतिजा निकाल्न सकेको स्वयं मेलम्चीवासी बताउँछन्।
१३ गते साँझ त्यस क्षेत्रका सभासद शेरबहादुर तामाङ मेलम्ची स्वास्थ्य चौकीमा भेटिए। लप्टन कुँवरले उनलाई चिनिहाले। ब्यारेक लिएर गए। मेजर हमालसँग भेटाए।
तामाङले चामत्कारिक उद्धार भइरहेको भन्दै हमाल र कुँवरलाई धन्यवाद दिए। हमालले राहत र पुन:स्थापनाका लागि राजनीतिक दलहरूले अग्रसरता लिनुपर्ने बताए। भूकम्पपछिको कमान्ड सरकार कि सेनाको हातमा छ भनी राजधानीमा भित्रभित्रै मनमुटाव गर्मिंदा सिन्धुपाल्चोकको यो भेगमा भने सौहार्दता देखिइरहेको थियो। तामाङले स्थानीयबाट सूचना लिन थाले। सेना त्यसका आधारमा उद्धारमा खटिइरह्यो। एमाले सभासद् तामाङको सक्रियतालाई कांग्रेस कोषाध्यक्ष श्रेष्ठले बिहीबार कान्तिपुरसँग प्रशंसा गरे।
सेनाको कमान्डमा मेलम्चीसहित क्षेत्र नम्बर ३ का २३ गाविस पर्थे। उनीहरूले गाउँगाउँबाट घाइते ओसारिरहे। उनीहरूले यो काम दुई चरणमा विभाजन गरेका थिए। पहिलो चरणमा उद्धार सकिएपछि राहत वितरण तीव्र बनाए। उद्धारको काम त बिलकुलै सेनाको थियो। राहतका लागि चाहिँ सबै दल र नागरिक समाजको भूमिका चाहिन्थ्यो। यसमा पनि सबभन्दा अनुभवी कोही थियो भने तिनै दुई थिए, हमाल र कुँवर।
सुडानको राजनीतिक संकटका बेला त्यहाँ खटिएका हमालले हाइटी भुइँचालोमाथि अनुसन्धान गरेका थिए। विदेशी सहायता, राहतका नाममा त्यहाँ झन् कसरी संकट गहिरियो भन्ने उदाहरण उनीसँग थियो। कुँवर त हाइटीमै एकताका खटिएका थिए। भूकम्पको छैटौं दिन वैशाख १७ गते बेलुकी जिल्ला दैवी प्रकोप उद्धार समितिले आफ्नो मातहत प्रमुखका रूपमा जिशिअ दिलनाथ पुरीलाई मेलम्ची पठाउनुअघि नै सेनाले राजनीतिक दल र स्थानीय अगुवा मिसिएका तीन संयन्त्र बनाउन भ्याइसकेको थियो।
कांग्रेस, एमाले र एमाओवादीसहित स्थानीय दलका प्रतिनिधि, व्यापारी, शिक्षक, पत्रकार, सामाजिक कार्यकर्तालाई सेनाले १४ गते नै ब्यारेकमा बोलायो। विपत्ति अघिसम्म सेनाको स्थानीयसँग अन्तक्र्रिया नहुनु स्वभाविक थियो। हमालले प्रहरी अधिकारीको सहयोग लिए।
भेलामा हमालले हाइटी र सुडानको विपत्ति टार्न कसो गरिएको थियो भन्ने उदाहरण पेस गरे। त्यसलाई स्थानीय जनजीवनसँग अनुकूलन हुने गरी अभ्यास गर्न सकिने भन्दै राहत र पुन:स्थापनामा उनीहरूको उत्तरदायित्व हुने बताए। कतिसम्म भने, उद्धार कार्य सेनाको भए पनि राहत वितरणमा सामाजिक परिचालन नभए सेना एक्लैले प्रयास गर्नुको कुनै अर्थ नहुनेसमेत भनिदिए।
त्यसै बैठकमा क्षेत्रस्तरीय विपत् व्यवस्थापन समिति गठन भयो। यतिन्जेलसम्म प्रजिअ ज्ञवालीसँग समन्वय हुन पाएको थिएन। सेनाले चेन अफ् कमान्ड कायम राख्न नसके पनि मेजर हमालले विवेकको कमान्ड छाडेका थिएनन्।

त्यसबीचमा विदेशबाट औषधोपचारका लागि ५३ मेडिकल टिम आइसकेका थिए। उनीहरूले क्षमता हेरी चेक रिपब्लिकको टिमबाहेक सबैलाई गाउँ पठाइदिए। साना गाडीहरूमा प्राथमिक उपचार गर्नेहरूको उपयोगिता गाउँमा थियो। ठूलो चेक टोली मेलम्चीमा शल्यक्रियासमेतका लागि तयार थियो।
१६ गते दिउँसो मेलम्ची पुग्दा स्थानीयवासीहरू पीडाको बीचमा सेनालाई लाख धन्यवाद दिइरहेका थिए। मेलम्ची–६ का लोकेन्द्रप्रसाद दुलालले भनेका थिए, ‘आर्मीलाई हामीले धन्यवाद दिनैपर्छ। भूकम्प जाँदाजाँदै पनि उनीहरू घरभित्र पसेर हाम्रो उद्धार गरे। उनीहरूले ज्यान माया मारेर घरभित्र नपसेको भए क्षति कति हुन्थ्यो कति।’
हुन पनि १४ सय ३८ को ज्यान, २९ सय ५४ घाइते हुँदाहुँदै यो क्षेत्रबाट सेनाले २ सय भन्दा बढीको ज्यान बचाउन सक्यो। तीमध्ये मेलम्ची बजारभित्र मात्रै ४९ जना सुरक्षित बाहिर आउन सफल भए। हेलिकप्टरबाट २ सय ४१ र गाडीबाट ६ सय १४ को जीवित उद्धार गर्‍यो। चेन अफ कमान्डबाट आदेश कुरेर बसेको भए यो सम्भव हुन्थ्यो होला? प्रश्नमै जवाफ निहित छ, हुँदैनथ्यो।
विपत्को बेलामा संसारभरि यस्तै हुने हमालको तर्क छ। ‘महाविपत्तिमा आफसेआफ सबै कुरा अघि बढ्छ, हामी परिचालन हुनलाई माथिबाट अख्तियारपत्र चाहिन्छ भनेर खोजेको भए ती सबै पुरिएर मर्थे,’ उनी भन्छन्, ‘६ सय घाइते मर्ने थिए।’
सेना, स्थानीय दल मिलेर सुरु राहत वितरणलाई जिशिअ पुरीले झनै चुस्त बनाउन मेहेनत गरे। मेलम्चीका स्थानीय पत्रकार बलराम सापकोटा भन्छन्, ‘पुरीले राहतमा एकद्वार प्रणाली निर्माण गरे। सबैको रेकर्ड राखे। दाताहरूलाई छिरिक्कै तलमाथि गर्न दिएनन्। जे पायो त्यही खानेकुरा स्विकारेनन्।’ सेनाले यसमा भरपर्दो समन्वय गरेको उनको टिप्पणी थियो। सदरमुकाम चौतारामा कान्तिपुरसँग कुरा गर्दै पुरीले यसका लागि उल्टै मेलम्चीको सेनालाई जस दिए।
यो सबै उद्धार यति छिटो र चुस्त कसरी सम्भव भयो, जबकि मेजर हमाल मेलम्चीमा खटिएको केवल दुई महिनामात्रै भएको थियो। हमालले सन् २००६ मा सुडान जानुअघि नै अवस्थितिको बारेमा पहिल्यै अपडेट हुने आफ्नो बानी सुनाए। उनी मेलम्ची आउनुअघि नै भूगोलको ज्ञान लिइसकेका रहेछन्।
जिशिअ पुरी आएर प्रजिअसँग समन्वय थाले। गाविस सचिवहरूलाई बोलाए। १८ गते बिहान जिशिअ पुरी र सभासद् तामाङसमेतको अगुवाईमा तीन समिति बने। पहिलो, हमालको नेतृत्वमा क्षेत्रीय विपत् व्यवस्थापन समिति। दोस्रो, सभासद् तामाङ नेतृत्वमा क्षेत्रस्तरीय अनुगमन समिति। तेस्रो, जिशिअ पुरीको नेतृत्वमा गाउँस्तरीय राहत संकलन तथा वितरण समिति।
यसअघिसम्म सेनाले लिँदै आएको जिम्मेवारी अब स्थानीय अंगहरूले बाँडेर लिए। ‘मलाई पनि अब भने उद्धार र राहत मिल्यो, हामी एक्लै अघि बढेनौं, समन्वयकारी भूमिका खेल्यौं,’ हमाल सुनाउँछन्, ‘दल र समाजका सबै अंग जवाफदेही नभई उद्धार, राहत र पुन:स्थापनाजस्ता काम हुनै सक्दैनन् भन्ने मैले पढेको छु।’
हमालले हरेक बिहान नौ बजे ब्यारेकमा समन्वयात्मक बैठक राख्न थाले। सूचना ल्याउने, समीक्षा गर्ने, तुरुन्त समाधान गरिहाल्ने गरे। यस्तो बेला लुटपाट नहोस् भनेर बैंकहरूमा पहरा दिए।
राहत वितरणमा रोचक के भयो भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की आफ्ना गुरु बसेको ठाउँमा राहत दिन गए। स्थानीय राहत वितरण समितिसँग समन्वय नगरी आफूखुसी राहत दिन आएको भन्दै सर्वसाधारणले नै राहत रोकिदिएछन्। व्यक्ति–व्यक्तिले मनलागी राहत बाँड्दै जाने हो भने कहीँ राहत नै नपुग्ने, कहीँ दोहोरिने हाइटीको अनुभवलाई मेलम्चीमा सेनाले बाँडेको थियो। त्यसो त नेपालकै अरू ठाउँमा पनि यस्तो भयो। मेलम्ची र आसपासका जिल्लामा उनीहरूले त्यसो हुन दिएनन्।
प्रजिअ ज्ञवाली भूकम्पपछि पहिलोपल्ट ब्यारेक भ्रमणमा बिहीबार आइपुगेलगत्तै कान्तिपुर टिम पनि मेलम्ची ब्यारेक पुग्यो। मेजर हमालले सुनाए, ‘प्रमुख आयुक्त कार्कीज्यूले आफैं राहत बाँड्न खोज्नुभयो। हामीले एकद्वारबाटै बाँड्न आग्रह गर्दा मान्नुभएन। मैले राष्ट्रपतिज्यूबाटै राहत आए पनि एकद्वार प्रणालीभन्दा तलमाथि गर्न नहुने अड्डी लिएँ।’ तत्काल ‘डेलिभरी’ दिन नसकेको भनी आलोचित प्रजिअ ज्ञवालीले मेजर हमालसँग भने, ‘तपाईंको कामबारे हामीले सुनिराखेका थियौं। तपाईंलाई धेरै धेरै धन्यवाद छ।’
राहतका नाममा जे पायो त्यहीसमेत आउने गरेको भन्दै मेजर हमालले पीडितको मनोसामाजिक पक्षलाई नबुझी राहत दिनुको कुनै अर्थ नहुने हाइटी–अनुभव प्रजिअसँग सुनाए। राहतले पीडितमा माग्ने संस्कार विकास गर्ने होइन, आफ्नो हैसियतमा उभिने आँट दिन सक्नुपर्ने तर्क पनि पेस गरे।
एमाओवादी सभासद रेखा शर्माको नेतृत्वमा सिन्धुपाल्चोकका तीनै क्षेत्र घुमेको संसदीय अनुगमन टोलीले सर्वाधिक क्षतिग्रस्त क्षेत्र ३ को मेलम्ची आएर गुनासो गर्‍यो। तर त्यो गुनासो मेलम्चीबारे थिएन, अरू क्षेत्रबारे थियो, जहाँ गम्भीरतापूर्वक काम नभएको प्रतिवेदन उनीहरूले सुनाए। मेजर हमाल र सुरक्षाफौजले माननीयहरूको धन्यवाद पाए। एमाओवादी सभासद रेखा शर्माले कान्तिपुरसँग भनिन्, ‘त्यति व्यवस्थित ढंगले राहत वितरण गरेको अन्त देख्न पाइएन। मेलम्चीको सेनाबाट अरूले सिक्नुपर्छ।’ स्थानीय जनप्रतिनिधि एमाले सभासद् शेरबहादुर तामाङले थपे, ‘उद्धार कार्यमा सेनाले स्थानीयसँग समन्वय गरेर आश्चर्यजनक नतिजा निकाल्यो, सबैतिरको उद्धार टोली यसरी नै खट्ने हो भने हामीलाई जतिसुकै ठूलो विपत्ति परे पनि विदेशी सेना चाहिँदैन।’
र, स्थानीयवासी, राजनीतिक दलहरू र सेनाको यो सहकार्य मेलम्ची क्षेत्रमा अहिलेसम्म जारी छ। विपत्पछिको उद्धार, राहत हुँदै वर्षायामअघि नै पुन:स्थापना गराउन उनीहरू लागिरहेका छन्। मेजर हमाल, लप्टन कुँवरको दैनिकी यसैगरी बितिरहेछ। राज्य कहाँ छ भन्दै अरूतिरका पीडितहरू सोधिरहेछन्। उनीहरू राज्यको आभास दिन मेलम्ची एकैछिन नछाडी बसेका छन्।
जेठ ५ गते मेजर हमालकी आमाको बर्खान्त आउँदै थियो। तीन महिनाको अन्तरमा बुबा र आमा पोहोर बितेका थिए। वैशाख २९ गते फेरि भुइँचालो गयो। हमालले घर नजाने निश्चय गर्दै दाजुलाई फोन गरे। ब्यारेकमै पुरोहित बोलाए, धुपबत्ती बालेर १० मिनेटमा श्राद्ध टाकटुक पारे। फिल्डमा कुदिहाले।
हमाल मंगलबार सिन्धुकोट गाविस गए। स्थानीयले गाडी रोके। केही समस्या भयो कि भनी उनी बुझ्न गाडीबाट ओर्ले। बुढाबुढीहरू नयाँ जीवन दिएकामा धन्यवाद भन्दै हात समाउन आए। आँसु झारेर कृतज्ञता व्यक्त गरे। ‘मेजर भाइ, हाम्रो आयु पनि तिमीलाई लागोस्,’ उनीहरूले भने।
भनिन्छ, सिपाहीको आँसु र आशिक लाग्छ। जब सेना मेलम्ची छिर्छ, स्थानीयवासीहरू हात हल्लाउँछन्। बच्चाहरू पछि लाग्छन्। सेनाको जंगली पोसाकसँग डर होइन, आकर्षण बढेको छ। मेलम्चीको राहत वितरणमा अनियमितता हुन पाएको छैन। जेजति उपलब्ध छ, घाइते, दलित, विपन्नलगायत प्राथमिकता छुटयाएर बाँडिरहेका छन्। गुणस्तरहीन राहतलाई फिर्ता पठाउँछन्। यो सबै अनुगमन सेनाले नै गर्छ।महाविपत्तिमा सबभन्दा बढी क्षति तल्लो वर्गले भोगेको मेजर हमाल बताउँछन्। ‘यसलाई दलहरूले तत्कालै सम्बोधन नगरे सामाजिक द्वन्द्वको रूप लिन सक्छ,’ उनी बौद्धिक कोणबाट अथ्र्याउँछन्, ‘जब विपन्न वर्गको मानिस राज्यसँग असन्तुष्ट हुन्छ, तब द्वन्द्व सुरु हुन्छ।’
घर त पीडितहरूको मात्रै होइन, स्वयं हमालको पनि पर्वत, मल्लाज माझकोटमा भत्किएको छ। लप्टन कुँवरको पनि हेम्जा कास्कीमा उही दशा छ। अझ हमाललाई काठमाडौंमा परिवारका लागि नयाँ डेरा खोज्नु नै छ।
‘बिजोग छ, एक पटक काठमाडौं आउनुपर्‍यो भन्न आएकी थिई,’ मेजर हमालले गृहस्थी मामिला सुनाए। ‘तपाईंले के भन्नुभयो त?’ मैले पनि पोयो फुस्काइहालें। ‘ब्यारेक छाड्ने अवस्था छैन अहिले। बुढीलाई सम्झाएर पठाइदिएको छु।’





वैशाख १२ को भूकम्पले भत्काएको घरमा पुरिएकी ७ दिनकी सुत्केरी पार्वती गिरी भोलिपल्टसम्मै पुरिएकी थिइन्। तस्बिरहरूमा पुरिएकै अवस्थाकी पार्वतीको हात, उनलाई निकाल्ने क्रममा देखिएको टाउको र सेनाद्वारा जीवितै उद्धार गरिसकेपछिको अवस्था। तस्बिर सौजन्य : नेपाली सेना/  ekantipur





प्रतिक्रिया दिनुहोस्...