१६ हजार घाइतेलाई उपचार गरेर विदा भयो इजरायली सेना
काठमाडौं, बैशाख २७ । बैशाख १२ गते गएको भूकम्पको ४८ घण्टा बित्न नपाउँदै इजरायली सरकारले पठाएको मेडिकल टिमले नेपालका करिब १६ हजार घाइतेलाई उपचार गरेको छ । इजरायली सरकारको समन्वयमा इजरायली सेना र अन्य क्षेत्रबाट आएका करिब २ सय ८० जनाको टोलीले बैशाख १४ गते राजधानीको छाउनीमा अस्थायी अस्पताल स्थापना गरी उपचार गरेको हो । करिब दुई साता लामो उपचारका क्रममा देशका विभिन्न जिल्लामा गएको भूकम्पमा परी घाइते भएका करिब १६ हजार व्यक्तिको उपचार गरिएको इजरायली टोलीले जानकारी दिएको छ । इजरायली टोलीले भूकम्पपीडित घाइतेलाई पालभित्रै आईसियु, सिसियु, अप्रेसन थिएटर, बर्थिङ्ग सेन्टरजस्ता अत्याधुनिक तथा गुणस्तरीय सेवा उपलब्ध गराएको थियो । इजरायली सेनाको सो टोलीलाई एक कार्यक्रम गरी शहरी विकास मन्त्री डा. नारायण खड्काले धन्यवादसहित बिदाई गरे । मन्त्री खड्काले राष्ट्रिय विपत्तिका बेला इजरायली सेनाले गरेको यो सहयोगले नेपाल इजरायलबीचको करिब ६ दशक लामो सम्बन्धलाई थप सुमधुर र बलियो बनाएको धारणा राखे । कार्यक्रममा नेपालका लागि इजरायली राजदूत यारोन मायर पनि सहभागि थिए । त्यस क्रममा नेपाली सेनाले पनि इजरायली सेनालाई विशेष धन्यावाद प्रदान दिएको थियो ।