नेपाल छाडेका विदेशी फर्केर राहत जुटाउँदै


माइकल बोनवियो र फ्याबियो पुचिनी । तस्वीर :टेकनारायण भट्टराई

पोखरा–फेसबुक भित्ता हेरेपछि बिक्षिप्त भएका माइकलले दुबै हात टाउकोमा पुर्‍याएर आफ्नै कपाल जोर–जोरले लुछ्दै बरबराए– 'धत् यो के भयो नेपालमा?' भूकम्पको वितण्डाले तहसनहस बनेको नेपालको खबरले विदेशी नागरिक माइकल बोनवियो मर्माहत बने। सहयोगी र मनकारी नेपालीले उनको दिल चोरेका रहेछन्। नेपालीबाट असाध्यै प्रभावित भएर भूकम्प जानुभन्दा पाँचदिन अघि नेपाल भ्रमण सकेर भारतको आग्रा पुगेका उनी भूकम्पको खबर पछि भिसा थपेर फेरि नेपाल फर्किए। 'म उदास भएँ, मेरो भारत घुम्ने मनै भएन,' अमेरिकाको वासिङटन डिसीमा रियलस्टेटको व्यवसाय गर्र्ने उनले नागरिकन्युजसँग भने, 'नेपाली जनताको दुःखमा सहभागी हुन म नेपाल आएँ।' माइकलको एक्लो प्रयासमा भूकम्प पीडित नेपालीका लागि दशलाख रकम जुटिसकेको छ। हरेक दिन सरदर एकलाख सहयोग थपिँदै गएको उनले बताए। राहत र सहयोग जुटाउन विश्वभर ख्याती पाएको गोफण्डमिडटकममा उनले 'नेपाल अर्थक्वेक रिलिफ' खाता खोलेर सहयोग जुटाइरहेका छन्। खातामा विश्वभरबाट मनकारी मानिसहरुले पैसा पठाएका छन्। नेपाल रेडक्रस सोसाइटी कास्की, कोपिला नेपाल, प्याडल नेपाल र अर्थक्वेक भोलेन्टियर्स मिसन जस्ता पोखराका संस्थामार्फत उनले जम्मा राहत रकम पीडितसम्म पुर्‍याएका छन्। 'नेपाल बस्न ठिक छैन चाँडो आइज भनेर साथीहरु र घरकाले सम्झाउँछन्,' परिवार सम्झेर भावुक बनेका उनले थपे, 'मेरो परिवारमा पनि यस्तै विपत्ति पर्‍यो भने?' उनी केहीबेर थामिए र फेरि बोले 'विपद कुनै देश र त्यो देशको भूगोलका नागरिकको मात्रै हुदैन,' उनले भने, 'विपदका सामुन्ने हामी सबै मानव मात्र हौं, नेपाली, ब्राजिलियन वा अमेरिकन भनेर विपदले चिन्दैन।' उनी फोन र इमेलमा घर आउन कर गर्नेहरुलाई उल्टै सुझाव दिन्छन् 'बरु तिमीहरु पनि नेपाललाई सघाउ है।' पोखराको एक होटलमा माइकललाई भेटेका ब्राजिलियन नागरिक फ्याबियो पुचिनीको घुमेर समय बिताउने मुड फेरिएर विपदमा परेका नेपालीलाई सघाउने उनले अठोट लिएका छन्। फरक मुलुकका अपरिचित यि दुई विदेशीलाई भूकम्पको चुनौतीसँग जुट्न दैब संयोगले पोखरामा भेट गराएको छ। ब्राजिलको सफालोमा रेष्टुरेण्ट व्यवसाय गर्ने फ्यावियोले १५ दिनको अन्नपूर्ण पदयात्राको योजनालाई स्थगित गरेर गोरखा र लमजुङका गाउँमा भूकम्प पीडितहरुलाई राहत बाँड्न खटिएका छन्। साथीभाई र सहयोगी संस्थाबाट उनले पनि सहयोग जुटाएका छन्। पाखरेली युवा सलि देवान उनीहरुका हरपलका सहयोगी बनेका छन्। सलिले 'नेपाल अर्थक्वेक भोलेन्टियर्स मिसन गोर्खा' नामको फेसबुक पेज मार्फत सहयोग आव्हान गरेर अहिलेसम्म नेपाली पाँच लाख रकम राहतका लागि जुटाइसकेका छन्। सबैबाट जुटेको राहत रकमबाट गोर्खाको ताप्लो गाविस–९ नारेश्वर गाउँ र लमजुङको केप्रुङ गाउँका पीडितलाई रेडक्रस, गाविस सचिव र स्थानीय जनप्रतिनिधिहरु समेतको उपस्थितिमा राहत सामग्री बाँडिएको सलिले बताए। एकपछि अर्को थपिदै उनीहरुको स्वयंसेवी राहत समूहमा अब २५ जना सदस्य पुगेका छन्। पोखरामा बसेर राहत संकलनमा जुटेको यो टोली दुईदिन पहिले ४ घण्टा हिडेर गोरखाको मकैसिङ गाविस पुगेर राहत बाँडेर फर्केका छन्। राहत अभियानमा जर्मन नागरिक क्यारोलिन डिट्रोच, आना पेल, क्यानेडियन फ्रेड, बिन्च र डेनी पनि स्वयंसेवी भएर खटिएका छन्। पोखरेली युवाहरु निरञ्जन ढकाल, श्रीकृष्ण अधिकारी, विश्वाँस पोख्रेल, अभि देवान, रबिन्द्र भण्डारी पनि उनीहरुको समूहमा छन्। सबैजनाको पहलमा एक करोड बढी राहत जुट्ने उनीहरुको अपेक्षा छ। भूकम्प पीडितका लागि मम डिनर, ढाइलाख राहत पोखरा लेकसाइडका होटल व्यवसायी सुमन भट्टराईले मम डिनर गरेर भूकम्प पीडितका लागि ढाइलाख राहत जुटाएका छन्। उनले 'नेपाल अर्थक्वेक रिलिफ फण्डरेजिंग मम डिनर' गरेर राहत जुटाएको बताए।'आफै मम बनाएर खाने र त्यसवापतको पैशा राहत कोषमा जम्मा गरेका हौं,' क्वि गेष्ट हाउसका सञ्चालक उनले भने 'उल्लेख्य विदेशीहरुको सहभागितामा जुटेको रकमबाट पीडितहरुका लागि राहत सामग्री किनेर गाउँमै पुगेर बाड्यौं।' लमजुङको गौडा गाविसका ८१ घर पीडित परिवारलाई लगाउने कपडा, झुल, बच्चाका कपडा, साबुन, मरमसला, चामल, चिउरा, सर्बोत्तम लिटो, चाउचाउ लगायतका सामग्री सहयोग गरेको सुमनले बताए। राहत वितरण कार्यक्रममा सहयोग गर्ने विदेशीहरु समेत नेपाल प्रहरी, रेडक्रसका प्रतिनिधि, होटल व्यवसायी र स्थानीय जनप्रतिनिधिहरु रहेका उनले बताए।पत्नी सोनिकासहित होटलका कर्मचारीहरु उमेश खड्का, धनमायाँ गुरुङ, बबिता नेपालीले राहत सामग्री पुर्‍याउन गाउँ पुगेका थिए।




प्रतिक्रिया दिनुहोस्...