देशको मुहार फेर्ने हो ? गाउँ गाउँबाट उठ !
ललितपुरको बिसनडोल गाउँ महाभूकम्पले छाडेको विपत व्यवस्थापनसँगै पुनःनिर्माणमा जुटेको छ । ललितपुरको नवगठित नगरपालिका महालक्ष्मीको वडा नम्बर ६ मा पर्ने बिसनडोलका आधा घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएपछि कोही पनि थाप्लोमा हात राखेर बसेका छैनन् । राहत सामाग्रीको पर्खाइमा समय खेर फालिरहेका छैनन् । बितेको दुःखान्त विगत बिर्साउन नयाँ भविष्य निर्माणमा जुटेका छन् ।
गाउँमा पुराना घरहरू सबै क्षतिग्रस्त भए । नयाँ घरहरू पनि जोखिममुक्त छैनन् । वि.सं.१९९० सालको महाभूकम्पपछि सोही दशकभित्र बनेका पुरातात्विक महत्व राख्ने घरहरू पनि भग्नावशेषमा परिणत भए । कसैको पनि ज्यान नगएपनि तन र मनहरू घाइते भए । घरहरू आँखै अगाडि ढलेकाहरू अन्योलमा परे । बचेका पक्की घरपरिवार पनि पालमुनी झर्न वाध्य भएपछि चित्त बुझाए । भूकम्पको खतरा टरेसँगै केही परिवार आ-आफ्नो घरमा फर्के । तर घरबारविहीन भएकाहरू भग्नावशेषमा फर्कन नसक्ने भएपछि विकल्पका लागि चिन्तित भए ।
चिन्तामा रहेकालाई एक अर्काले उत्साह भर्दै हातेमालो गर्दै पुर्ननिर्माणका लागि हात बढाए ।
गाउँमा पुराना घरहरू सबै क्षतिग्रस्त भए । नयाँ घरहरू पनि जोखिममुक्त छैनन् । वि.सं.१९९० सालको महाभूकम्पपछि सोही दशकभित्र बनेका पुरातात्विक महत्व राख्ने घरहरू पनि भग्नावशेषमा परिणत भए । कसैको पनि ज्यान नगएपनि तन र मनहरू घाइते भए । घरहरू आँखै अगाडि ढलेकाहरू अन्योलमा परे । बचेका पक्की घरपरिवार पनि पालमुनी झर्न वाध्य भएपछि चित्त बुझाए । भूकम्पको खतरा टरेसँगै केही परिवार आ-आफ्नो घरमा फर्के । तर घरबारविहीन भएकाहरू भग्नावशेषमा फर्कन नसक्ने भएपछि विकल्पका लागि चिन्तित भए ।
चिन्तामा रहेकालाई एक अर्काले उत्साह भर्दै हातेमालो गर्दै पुर्ननिर्माणका लागि हात बढाए ।
सहयोगी हात
शहरोन्मूख गाउँहरूले मर्दा पर्दा असाध्यै साथ मिल्ने परम्परागत विशेषता गुमाउँदै गएपनि सहयोगी भावना पुर्न जागृत भयो । सरकारी राहत कुरेर बसेनन् । एकले अर्कालाई सहयोग गरे । पालमुनी बस्ने जमिन नभएकालाई समेत खुल्ला दिलले सहयोग गरेर ठाउँ दिए । कोही पनि भोको सुत्नु परेन । कोही पनि पालमुनि असुरक्षित भएर बस्नु परेन । सिंगो गाउँ एकजुट भएर विपतमा परेकालाई सहयोग गर्न जुट्यो ।
गाउँ गाउँ बाट उठ ! वस्ती वस्तीबाट उठ ! यो देशको मुहार ! फेर्नलाई उठ ! अहिले सबै आ-आफ्नो ठाउँबाट उठेमा देश बन्छ
युवाहरूको मुखैबाट सुनियो-एक शताब्दीमा आइलाग्ने विपत्तिमा सहयोग गर्न पाउनु सौभाग्य हो । यो जत्तिको धर्म अरू केही हुँदैन ।
देशको भविष्यसँग जोडिएको मानव शक्तिको मनबाट निस्केका महान् वाक्य सुन्दा गर्व गर्न सकिन्थ्यो । पंक्तिकारलाई यस्तो गाउँमा जन्मिएकोमा गर्व लाग्यो । किशोरावस्थामा प्रवेश गरेकाहरू चिन्तन गर्दै जागे । तत्कालका लागि बस्न मिल्ने घरहरू पुनःनिर्माणका लागि पाकाहरूलाई घचघच्याउन थाले । उनीहरू भन्थे- यो हात बाँधेर बस्ने बेला होइन हात फुकाएर निर्माणमा जुट्ने बेला हो । महाभूकम्पको दोस्रो दिनबाट नै खतरायुक्त घरहरू पन्छाउन थाले । सम्भावित भूकम्पको चुनौती सामना गर्छौं भन्दै टाउकोमा मोटरसाइकलको हेलमेट लगाएर जुटे ।
देशको भविष्यसँग जोडिएको मानव शक्तिको मनबाट निस्केका महान् वाक्य सुन्दा गर्व गर्न सकिन्थ्यो । पंक्तिकारलाई यस्तो गाउँमा जन्मिएकोमा गर्व लाग्यो । किशोरावस्थामा प्रवेश गरेकाहरू चिन्तन गर्दै जागे । तत्कालका लागि बस्न मिल्ने घरहरू पुनःनिर्माणका लागि पाकाहरूलाई घचघच्याउन थाले । उनीहरू भन्थे- यो हात बाँधेर बस्ने बेला होइन हात फुकाएर निर्माणमा जुट्ने बेला हो । महाभूकम्पको दोस्रो दिनबाट नै खतरायुक्त घरहरू पन्छाउन थाले । सम्भावित भूकम्पको चुनौती सामना गर्छौं भन्दै टाउकोमा मोटरसाइकलको हेलमेट लगाएर जुटे ।
कोही नहुनेको हामी छौं
गाउँमा दुईवटा घरमा युवाशक्ति थिएन । भत्केका ती घरहरू पन्छाउन र अस्थायी रूपमा बस्न योग्य बनाउन युवाहरू जुटे । एकजना बूढी आमा रूँदै आइन् । ६ महिना अगाडि एकमात्र छोरो गुमाएकी उनी भेडा पालेर जीविकोपार्जन गर्दै आएकी छिन् । उनलाई आफ्नो भन्दा भेडाको चिन्ता थियो ।
मान्छे र भेडा दुवैको व्यवस्थापनका लागि पुरानै घरलाई भत्काएर अस्थायी व्यवस्था गर्ने टुंगो लगाए । सबै जुटेर दुई दिनभित्र तत्काल बस्न योग्य गरी पुनर्निर्माण भयो । युवाशक्ति एकजुट भएपछि जस्तोसुकै विपद्को चुनौती सामना गर्न सकिने रहेछ । घर तयार भएपछि वृद्धाले भनिन्-मेरो आयु पनि तिमीहरूलाई । तिमीहरू सधै समृद्ध र सुखी भइरहुँ । घर पुनर्निर्माण हेर्न आएका वृद्धवृद्धाले उत्साह भर्दै भन्थे-मठमन्दिर जानुभन्दा यो धेरै ठूलो धर्म हो बाबु हो । जवाफमा युवाहरूले भने-कोही नहुनेका लागि हामी छौं ।
नयाँ पिढीँले भोगाइबाट धेरै सिकेका छन् । जसलाई विपत्ति पर्छ उसैलाई मर्काको प्रत्यक्ष अनुभव हुन्छ । मान्छे चिन्ने पनि विपत्तिमा हो । को साँचो को झुटो भन्ने विपत्तिले बताउँछ । विपत्तिका बेलामा वास्तविक सहयोगीको पहिचान गर्न सकिने रहेछ । विपत्तिमा मुखले काम चल्दैन । दिल र दिमागको महत्व हुन्छ । मुख चलेर हुँदैन हात चल्नुपर्छ । बोलेर विपत्ति टर्दैन । न त पीडितलाई राहत मिल्छ । काम गरेर देखाउनुपर्छ ।
सबै जात एक साथ
विपद् व्यवस्थापन र पुनःनिर्माणमा सबै जात एक साथ थिए । महाभूकम्पपछि एउटै पालमुनि भिन्न जातिकाहरू बसेको दृश्यले प्राकृतिक विपत्तिले परिवर्तनका लागि सृजना गर्ने दबाब जान्न सकिन्थ्यो । एउटै जमिनमुनि बसिरहेका हामी भवनहरू चिहान बन्ने भयले एउटै पालमुनि आयौं । पुनर्निर्माणमा सबै जाति सहभागी भए । दलितहरू भग्नावशेमा पसेर बचेकुचेका सामान झिक्न सक्रिय भए । निर्माणमा उत्तिकै लागिपरे । कोही माटो मुछ्थे त कोही ईट्टा ओसार्थे । कोही बास र काठ बोकिरहेका थिए । कसैको हात खाली थिएन । गार्हो लगाउनेहरू दिल र दिमाग देखि खटिएका थिए । कोही पनि निर्माणका मिस्त्री थिएनन् । मनदेखि काम गरेर बस्न योग्य अवस्थामा पुर्याए ।
अर्को घरमा पतिपत्नी घाइते भए । युवावस्थाका कोही सदस्य थिएनन् । खतरनाक अवस्थामा रहेको घरलाई खतरामुक्त हुने गरी पन्छाउन दिनभर युवाहरू खट्टिए । ज्यानको बाजी लगाएर काम सम्पन्न गरी छाडे । विना आग्रह, पूर्वाग्रह जुटेका युवाहरूको कामलाई बालबालिकाले समेत टाढाबाट नियालिरहेथे । विपत्तिमा सबै एकजुट भएर व्यवस्थापनमा जुटेको देखेर तिनको मनमा पनि हामी हौं भावना पैदा हुँदो हो । यही सोचेर पंक्तिकार प्रफुल्लित भयो ।
पुनःनिर्माण जारी
बिसनडोल गाउँमा पुनःनिर्माण रोकिँदैन । सहयोगी हातहरू जुटेका छन् । हातेमालो गर्दै गाउँलाई पहिले भन्दा सुन्दर र सुरक्षित बनाउन सक्रिय छन् । सरकारका तर्फबाट आउने सहयोग पर्खेर भन्दा आफै अग्रसर भएर बासको व्यवस्थामा जुटेका छन् । तीन दशक लामो इतिहास बोकेको समाज कल्याण गुठीको आह्वानले युवाहरू झन् उत्साही भएका छन् । दिल देखि दिमाग सक्रिय छ । युवाशक्तिको सामथ्र्य बोलीले होइन, व्यवहारले प्रमाणित गर्दैछन् । मानवशक्तिको व्यवस्थापन र सदुपयोगले महाविपत्तिको सामना गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दैछन् । आधा घरहरू क्षतिग्रस्त भएको गाउँमा एक वर्ष नबित्दै विगत भन्दा सुन्दर अवस्थामा ल्याउने जमर्को गरिएको छ । यसका लागि युवा हातहरू उठेका छन् ।
आफै अघि सर्नुपर्छ
बिसनडोल गाउँले एउटा सन्देश प्रवाह गरेको छ- आफ्नो घर गाउँठाउँ बनाउन सबैभन्दा पहिले आफै जाग्नुपर्छ । यो बेलामा नजागे कहिले जाग्ने । यो बेलामा सहयोग नगरे कहिले गर्ने । सिंगो देश महाविपक्तिको सामना गरिरहँदा घर-घरबाट युवाहरू औजार लिएर निर्माणमा जुट्नुपर्छ । कुनचाहिं संस्थाले के देला भनेर आकाशमा हेरेर बस्ने बेला होइन, सहयोग गर्ने गर्दै गर्छन् । आफ्नो काम र कर्तव्य छाड्नुहुन्न । सधै थाप्लोमा हात राखेर बस्दा पीडा बढ्छ मात्र ।
आत्मनिर्भर भन्दा परनिर्भर बन्ने प्रवृत्तिले हाम्रो समाजलाई समस्यामा पारेको छ । विकल्प नभए मात्र सहयोग कुर्ने हो । हुँदाहुँदै पनि पाइन्छ कि भनेर आशा गर्नु सुहाउँदैन । फल झर्ला र खाऔंला भनेर कुरी बस्दा कुहिइसक्छ । आफ्नो घर, गाउँ, वस्ती बनाउन आफै जाग्ने बेला हो । अहिले पनि नजागे कहिले जाग्ने ? अहिले पनि एक नभए कहिले हुने ? महाविपत्तिको सामना गर्न हातेमालोको विकल्प छैन । विदेशीले दिने राहत कुरेर बस्दा बस्दै ढिलो भइसक्छ । थाप्लोमा हात राखेर बसुञ्जेल बितिसक्छ । हेर्दाहेर्दै वर्षा शुरू भइसक्छ । कमजोर पहाडहरूमा पहिरो जानसक्छ । महाविपत्तिमाथि विपत्ति झेल्नुपर्ने हुनसक्छ ।
गर्व गर्न लायक नागरिक
महाभूकम्पले हाम्रो दिल, दिमाग र चेतनास्तर छर्लंग पारेको छ । हामीसँग अझै उदार मन बाँकी रहेछ । सहयोगका लागि बढेका हात, विपत्तिपछिको व्यवस्थापनका लागि मिलेका हातहरू हेर्दा हामीसँग अझै ‘हामी हौं’ भावना जगाउन सकिने अवस्था रहेछ । सरकार भन्दा नागरिक अगाडि रहेको यथार्थ बुझ्न सकियो ।
कतिपय गाउँहरूमा स्थानीय तहबाटै विपत्तिपछिको व्यवस्थापनका लागि हातहरू उठेका छन् । युवाहरूको पाइला सरेका छन् । उनीहरूलाई हौसला भए पुग्दोरहेछ । युवाहरूमा विपत्तिपछिको व्यवस्थापन र पुनर्निर्माणमा जाग्न इच्छाशक्ति मनभरि रहेछ ।
सरकारले आफ्ना महान् जनताबाट गर्व गर्नुपर्छ । यति ठूलो विपतमा पनि धैर्य र व्यवस्थापनका लागि जागरूक जनताबाट सिक्नुपर्छ । उचित वातावरण मात्र प्रदान गर्न सके देशको मुहार फेर्न सकिन्छ भन्ने घटनाक्रमले देखाइरहेछ । शान्ति र सुव्यवस्था मात्र दिनसके जनताले हड्डी खियाएर र पसिना चुहाएर पनि आफ्नो गाउँठाउँ सुन्दर बनाउन सक्छन् ।
अहिले गाउँहरू जता हेर्यो उता भताभुंग छन् । शहरहरू पनि प्रभावित छन् । जता हेर्यो उतै सुन्दर अवस्था बनाउन सकिन्छ । सरकारको नीतिनिर्माण तहमा बस्नेले दिमागले मात्र नभई दिलले पनि सोचिदिए सुन्दर नेपाल टाढा छैन । यति ठूलो विपतको सामना सही तरिकाले गरेबाट झन् हौसला बढ्नेछ । युवाहरूको आत्मबल बढ्नेछ । मेलमिलाप र मिहेनतबाट असम्भव रहेनछ भन्ने सन्देश हरेक नेपालीको आत्माभित्र घुस्नेछ । यो अवसरलाई कदापि खेर फाल्न हुन्न ।
राजनीतिक परिवर्तनका बखत रामेशले गाएको क्रान्तिकारी गीत खुबै बज्छ-गाउँ गाउँ बाट उठ ! वस्ती वस्तीबाट उठ ! यो देशको मुहार ! फेर्नलाई उठ ! अहिले सबै आ-आफ्नो ठाउँबाट उठेमा देश बन्छ ।